विजेता र उपविजेताको भव्य स्वागत

 ओकेपाटी संवाददाता     २ श्रावण २०७५, बुधबार

पेरिस : रुसमा आइतबार सम्पन्न २१औं विश्वकप जितेको फ्रान्स र उपविजेता बनेको क्रोएसियाका खेलाडीले घरमा भव्य स्वागत पाएका छन् । सोमबार घर फर्किएका फ्रान्स र क्रोएसिया दुवै टोलीलाई लाखौं समर्थकले भव्य स्वागत गरेका हुन् । फाइनलमा क्रोएसियालाई ४–२ गोलले हराउँदै फ्रान्सले उपाधि चुमेको थियो । सन् १९९८ मा पहिलो पटक उपाधि जितेको फ्रान्सले समग्रमा दोस्रो उपाधि भित्र्याउँदा पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया भने उपविजेतामै सीमित बनेको थियो ।

फ्रान्सेली टोली सोमबार राजधानी पेरिसस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा लाखौं समर्थक उनीहरूको स्वागतका लागि उपस्थित थिए । विमानबाट सबैभन्दा पहिले प्रशिक्षक डिडियर डेसच्याम्पस र टोलीका कप्तान ह्युगो लोरिस विश्वकपको ट्रफीसहित बाहिर निस्किएका थिए । टोलीका अन्य सदस्यले भने उनीहरूलाई पछ्याएका थिए । विमानस्थलमा विश्वकपको ट्रफीसहित प्रशिक्षक र कप्तानलाई देख्दा उपस्थित समर्थक निकै हौंसिएका थिए ।

खेलाडीलाई विमानस्थलबाटै छत खुला रहेको बसमा राखेर सहरको परिक्रमा गराइएको थियो । सहर परिक्रमाको क्रममा खेलाडीले पालैपालो ट्रफी सार्वजनिक गर्दा उपस्थित समर्थकले खुसीयालीमा चर्को नारा लगाएका थिए । समर्थकले नगर परिक्रमाको सबै यात्रामा खेलाडीलाई त्यसरी नै साथ दिए । फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोनले देशलाई २० वर्षपछि विश्वकप उपाधि दिलाउने आफ्ना खेलाडीलाई ‘लेजिवन अफ अनर’ पुरस्कारबाट सम्मानित गर्ने घोषणा पनि गरे ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट