अभ्यासका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाँदै

 अनलाइनखबर पाटी     ४ भाद्र २०७५, सोमबार

भदौ-४ , काठमाडौं । सभामुख कृष्णबहादुर महराले मलेसियामा आयोजना हुने एसीसी कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका छन् ।

त्यस अवसरमा सभामुख महराले प्रतियोगितामा सफल हुन पनि नेपाली खेलाडीहरुलाई अगि्रम शुभकामना दिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि एसीसी कप छनोट प्रतियोगितामा विजयी भएर राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन सफल हुने विश्वास व्यक्त गरे । उनले क्रिकेट खेललाई अझैं सुविधा सम्पन्न बनाउन सरकारसँग पहल गरिदिन पनि सभामुख महराको ध्यानाकर्षण गराए ।

टोली मलेसिया प्रस्थान गर्नु अघि अभ्यास खेलका लागि सोमबार अपरान्ह श्रीलंका प्रस्थान गर्दैछ । नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, बसन्त रेग्मी रहेका छन् ।

त्यसैगरी सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि प्रतियोगितामा सहभागी हुनेछन । श्रीलंकामा अभ्यास खेलपछि नेपाली टोली सोझै मलेसिया प्रस्थान गर्नेछ ।

मलेसियामा भदौ १२ गतेदेखि एसीसी छनौट कप प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एशिया कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *