प्रहरी प्रमुख वसन्त लामा भन्छन्– गुन्डागर्दी, तस्करी र लागूऔषध नियन्त्रण मेरो प्राथमिकता- काठमाडौं

 अनलाइनखबर पाटी     ५ भाद्र २०७५, मंगलवार

भदौ-५, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले राजधानीमा सुसुप्त अवस्थामा रहेको गुन्डागर्दी, तस्करी, संगठित अपराध र लागूऔषध कारोबारको नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

परिसर प्रमुख भएर आएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लामाले ती क्षेत्रहरुको निगरानीको लागि सूचना संयन्त्र परिचालन गरिएको बताएका छन् ।

‘पहिलेको जस्तो अवस्था त छैन । दादा भनिएकाहरु करिब करिब शान्त छन्’, लामाले भने, ‘यद्यपि, लुकीछिपी उनीहरुले व्यवसायीबाट पैसा असुल्न छाडेका छैनन् ।’ उनले त्यस्ता गतिविधिमा संलग्नहरुको पहिचान गरी कठोर रुपमा प्रस्तुत हुने बताए ।

उनले आम नागरिकलाई समेत साथमा लिएर अघि बढ्ने विश्वास व्यक्त गरे । उपत्यकाको सुरक्षा अवस्था आफूले ३ दिनमा अनुभव गरेको बताउँदै उनले पीडितको गुनासोलाई विशेष प्राथमिकतामा राख्ने योजना रहेको सुनाए ।

‘घटनै हुँदैन भन्ने होइन । घटनापछि प्रहरी तुरुन्त त्यहाँ पुग्न सक्नु र अनुसन्धानपछि यथासिघ्र सत्य, तथ्य बाहिर ल्याउनु चाहिँ मुख्य कुरा हो’, लामाले भने ।

गृहमन्त्रालयले ३० साउनमा  लामालार्इ काठमाडौं प्रहरी प्रमुखमा नियुक्त गरेको थियो । उनी यसअघि ३८ क्वीन्टल सुन तस्करी प्रकरणकाे अनुसन्धान समितिमा थिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट