ओलि पनि नेपालि राजनितिका राम्रा कलाकार – गाइजात्रा २०७५

 अनलाइनखबर पाटी     १२ भाद्र २०७५, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्दा कोही पनि मानिस अन्य नेता बोल्दा जस्तो वल्तिर–पल्तिर बसेर गफ गर्ने, बदाम खाएर टाइमपास गर्ने, निन्याउरो अनुहार पारेर ट्वा परेर बस्ने काम गर्दैनन् । केपी ओली जब स्टेजमा चढ्छन्, माइक आफूतिर ढल्काउँछन्, चारैतिर हेर्छन् अनि मुसुक्क हाँसेर सामान्य तरिकाले भाषण सुरु गर्छन् र निरन्तर हँसाइरहन्छन् । सम्भवत: ओलीको कुनै त्यस्तो भाषण नहोला जहाँ २–४ वटा उखान नमिसिएको होस्, उपस्थित व्यक्ति नहाँसेको होस् ।

धेरैले केपी ओलीको यही भाषण कलाका कारण उनको पार्टीले चुनाव जितेको समेत भन्छन् । कतिपयले ओलीलाई उखान–टुक्का मात्र भन्न आउँछ भनेर समेत आरोप लगाउँछन् । कतिपयले ठट्यौली भाषामा उनलाई नेपालको सबैभन्दा चर्चित हाँस्यकलाकार समेत भन्छन् । पेसाका हिसावले जो हास्यकलाकार हुन उनीहरूचाहिँ ओलीलाई कसरी वर्णन गर्छन् त ?

हाँस्यकलाकार जितु नेपाल प्रधानमन्त्री ओलीलाई सेन्स अफ ह्युमर भएको नेताका रूपमा चित्रण गर्छन् । ‘उहाँ बोल्ने मात्र होइन, उपस्थित तमाम दर्शकलाई आफ्नो भाषण सुन्न बाध्य तुल्याउनु हुन्छ,’ नेपाल भन्छन्– ‘अहिले नेपालीहरू जतिबेला पनि भाषण मात्र सुन्न चाहँदैनन् । मानिसहरू सिरियस कुरा मात्र सुन्दा–सुन्दा वाक्क हुन्छन् त्यसैले उहाँमा हँसाउने जुन कला छ, त्यो निकै राम्रो आइडिया हो ।’ एकपटक नारायणगढमा भाषण गर्ने बेला उहाँले साउन्डमा इको आइरहेको छ, यसो मिलाउनु पर्‍योसमेत भन्नुभयो– उहाँले भाषण गर्दा आफूलाई मात्र ध्यान दिनु हुन्न हरेक कुराको ख्याल गर्नुहुन्छ, नेपालले भने । कलाकार नेपाल प्रधानमन्त्रीमा आकर्षण गर्ने ठुलो शक्तिसमेत रहेको औंल्याउँछन् । केपी ओली एउटा राम्रो कलाकार पनि हुनुहुन्छ, उनले थपे, ‘हामीलाई समेत मात ख्वाउने उहाँको कला मान्नैपर्छ, उहाँ राम्रो कलासहितको प्रधानमन्त्री होभन्दा गलत नहोला कि !’

प्रधानमन्त्री जस्तो पदमा बसेर जे पायो त्यही बोल्दा त्यसको असर नराम्रो परिरहेको कुरा बताउँछिन् हाँस्यकलाकार दीपाश्री निरौला । दीपाश्री भन्छिन्– ‘पर्सनल्ली मेरो हिसावले भन्ने हो भने उहाँ हाँस्यकलाकार हो ।’ विगतमा विपक्षी दलको नेताका हिसावले बोल्दा उहाँको भाषण सबैलाईरमाइलो लाग्थ्यो तर प्रधानमन्त्री हुँदा त अलिकति संयमित भएर बोल्नु नि, अलिकति रिससहित निरौलाले थपिन्, ‘उहाँको भाषण शैली एकदमै राम्रो छ, एकदमै ज्ञान छ तर प्रधानमन्त्री भएपछि हरेक पार्टीलाई मन छुने

भाषण गर्नुपर्छ ।’

हाँस्यकलाकार सन्दीप क्षेत्री भने प्रधानमन्त्री ओलीको भाषणबाट निकै प्रभावित छन् । नेता जस्तो मान्छेले भाषण गर्दा किन रुवाएर कुरा गर्नु त ? उनले प्रतिप्रश्न गर्दै भने, ‘अरूले के भन्छन् भन्नेतिर म लाग्दिन, तर हँसाएर धेरैलाई आफूतिर केन्द्रित गर्ने उहाँको जुन क्षमता छ त्यो एकदमै उत्कृष्ट छ ।’ जसले हाँस्दै र हँसाउँदै भाषण गर्छ त्यो नेताप्रति जनताको पनि कहि कतै आशा हुन्छ, उनले थपे ।

कलाकार दीपकराज गिरी भने केपीलाई सोचेर–बुझेर मात्र हँसाउन सल्लाह दिन्छन् । उहाँ राम्रो सेन्स अफ ह्युमर भएको नेता हुनुहुन्छ तर प्रधानमन्त्रीको कुर्सीमा बसेका बेला कहिलेकाहीँ सानो त्रुटिले पनि समस्या पार्न सक्छ, गिरीले भने, ‘कहिलेकाहीँ संवेदनशील विषयमा हँसाएको राम्रो हुँदैन, कहिलेकाहीँ रमाइलो पाराले स्पष्टीकरण दिनु ठीकै हो ।’ गिरी भन्छन्– ‘ओलीले जस्तो हँसाउन त हामीले कहाँ सक्नु र ?

हाँस्यकलाकार कलाकार किशोर भण्डारी ओलीको भाषण नेपालका कुनै पनि हाँस्यकलाकारले भन्दा धेरै हँसाउन सक्ने भएको स्वीकार गर्छन् । मेरो टेलिसिरीयल डिट्ठासावमा एउटा सानो रोल गरिदिनुभयो भने साँच्चिकै मेरो सिरियल थप उचाइमा पुग्ने थियो तर पक्कै उहाँ मान्नु हुन्न भण्डारीले हाँस्दै भने, ‘अरूले के भन्छन् मलाई थाहा छैन तर मलाई चाहिँ वास्तवमै उहाँ कमेडी कलाकार जस्तो लाग्नु हुन्छ ।’ उहाँको कलाबाट नेपाली कलाकारहरूले समेत आइडिया लिने उनले बताए ।

कलाकार दमन रुपाखेती केपी ओलीको भाषणबाट नेपाली जनता दिक्क भएको बताउँछन् । उहाँ देश समृद्ध बनाउन के गर्ने कसो गर्ने तिरभन्दा पनि कसरी हँसाउन सकिन्छ भनेर मात्र लागिपरे जस्तो लाग्छ, रूपाखेतीले भने, ‘हँसाउन हामी कलाकार छँदै छौं प्रधानमन्त्रीज्यू, तपाईं अब काम गर्न तिर लाग्नुस् न ।’ जतिबेला पनि उखान–टुक्का भन्नाले प्रधानमन्त्री ओलीले आफ्नो विश्वसनियता गुमाउँदै गएको उनी बताउँछन् । प्रधानमन्त्री जस्तो पदमा बस्दा समेत उहाँले उखान टुक्का भन्न छोड्नुभएन, रुपाखेती भन्छन्– ‘जनता जति हाँस्नु हाँसिसके, अब देशलाई समृद्धशाली बनाउन कम्मर कसेर लाग्ने बेला छ ।’ अरू देश कति विकसित भए, अन्य देशमा कसरी काम हुन्छ भन्ने उहाँलाई आइडिया समेत छैन कि क्या हो ? एक पटक खनेको बाटो १५ महिनासम्म पुरिँदैन, अनि जतिबेला पनि कति गफ सहनु जनताले ? दमनले प्रश्न गरे, ‘मोदी आउँदा जसरी धमाधम बाटो बन्छन् त्यसैगरी अरू बेला पनि काम गर्नुस् न, अनि पो जनताले पत्याउँछन् ।’

अर्का हाँस्यकलाकार केदार घिमिरे माग्ने बुढा केपी ओली हाँस्यकलाकारहरूको प्रतिस्पर्धीका रूपमा आएको बताउँछन् । घिमिरे रमाइलो ढगंबाट भन्छन्– ‘उहाँको भाषण सापट लिएर धेरै कलाकारले पेट पालेका छन्, त्योभन्दा बढी तनाव त हामी कलाकारको पेसानै धरापमा पर्न थालेर पो भयो त †’ हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक हो तर उहाँले जनताको स्वास्थ्य पनि हेरेर काम गर्नुभए राम्रो हुनेथियो, माग्ने बुढाले थपे ।

कलाकार किरण केसी भने केपी ओलीको भाषण एकदमै मन पर्ने बताउँछन् । उहाँ देशको प्रधानमन्त्री पनि हो, ठूलो पार्टीको अध्यक्ष भएका हिसावले हामीले उहाँको रेस्पेक्ट गर्नुपर्छ, केसी भन्छन्– ‘कतिपय नेताको शब्द सामान्य तर स्वर ठूलो हुन्छ तर ओलीको स्वर सामान्य तर शब्द कडा हुन्छन्, उहाँ हरेकको मनमा छुने हिसावले बोल्नुहुन्छ ।’ केपी ओली राजनीतिमा नआएको भए नेपालको वरिष्ठ हाँस्यकलाकार हुने कुरामा कुनै दुईमत थिएन, केसीले थपे । ओलीको भाषणका सम्बन्धमा बेला–बेला सामाजिक सञ्जाल, चियापसल तथा भेटघाटहरूमा नकारात्मक कुरा हुने गरेकोप्रति केसी भन्छन्– ‘अरूले के भन्छन्, कसरी लिन्छन् भन्दा पनि उहाँको भाषण कला मात्र होइन उहाँ व्यक्तिगत हिसावले जुन जोशीलो रूपमा आफूलाई प्रस्तुत गर्नुहुन्छ त्यसबाट म भने खुसी छु ।’

कलाकार निरु खड्का भने ओली वरिष्ठ कलाकार मदनकृष्ण र हरिवंशभन्दा पनि माथि रहेको बताउँछिन् । सपना देख्नु नराम्रो कुरा त होइन तर ओलीले हावादारी गफ अलिकति बढीनै दिनुभयो, निरुले भनिन्, ‘उहाँले जतिधेरै भाषण गर्नुहुन्छ त्यो नेपालको सन्दर्भमा साकार हुन निकै गाह्रो छ । त्यसैले उहाँले सोचेर–बुझेर मात्र प्रस्तुत हुनुपर्छ ।’ निरु ओलीलाई संयमित भएर आफ्ना विचार राख्न आग्रह गर्छिन् । प्रधानमन्त्री जस्तो पदमा बसेको मानिसले जे पायो त्यही बोल्दा त्यसले जनतामा असर पार्ने भएकाले सबैलाई मान्य हुने काम र गफ मात्र गर्न उनको सुझाव छ ।

लामो समयदेखि स्टेजमा जमिरहेका कलाकार गणेश इसारा केपी ओली हास्य विधाको कलामा संसारकै बादशाह हुन् भन्ने टिप्पणी गर्छन् । उहाँको कमेडीले नेपालका हरिवंश, मदनकृष्ण मात्र होइन चर्चित कलाकार कपिल शर्मादेखि चार्ली च्यापलिङभन्दा पनि बढी हँसाउँछ– इशाराले भने । कलाकार इशाराले प्रधनमन्त्रीले जतिबेला पनि ठूला गफ दिएर मुलुक नबन्ने बताउँदै अब काममा ध्यान दिनुपर्ने बताए । म आफैं पनि उहाँको अनुहार देख्नासाथ हाँसिहाल्छु, उनले भने, ‘तर नेपाली जनता उहाँको उखान टुक्का सुनेर साँच्चिकै आजित भैसकेका छन्, उहाँ जसरी हँसाएर सबैलाई मनोरन्जन प्रदान गर्नुहुन्छ त्यसैगरी काम गरे जनताले उहाँलाई भगवान सम्झने छन् ।’

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट