प्रधानमन्त्री देखि राजासम्म कलाकारको सिकार – गाइजत्रा २०७५
अनलाइनखबर पाटी १२ भाद्र २०७५, मंगलवारकलाकार मनोज गजुरेलले सरकारका मन्त्रीहरु सत्ता, शक्ति र सम्पत्तिमा मरिमेट्ने गरेको आरोप लगाए । रिपोर्टर्स क्लब नेपालमा ‘गाईजात्रा २०७५’ को अवसरमा आयोजित कार्यक्रममा गजुरेलले मन्त्री र नेताले शक्ति, सत्ता र सम्पत्तिको पछि लागेको आरोप लगाउदै जनताले दु:ख पाएको बताएका हुन् ।
उनले भने,‘नयाँ नियम र आचार संहिताले के कति बाँध्छ, त्यो फरक कुरा हो, मैले भनेको कुरा व्यङ्ग्य पनि हो, सत्य पनि हो ।’ सरकारले लगाएको करको प्रसंग जाड्दै भने, हाम्रा मन्त्रीलाई पाँच पाँच जोड्दा कति हुन्छ ? भनेर सोध्ने हो भने ११ हुन्छ भन्नु हुन्छ, ११ कसरी भयो भनेर सोध्ने हो भने करको लागि छुट्याएको भन्नुहुन्छ ।’
उनले कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराज ज्ञानेन्द्र शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प लगायत व्यक्ति र राजधानीको जामका विषयमा व्यङ्ग्य प्रस्तुत गरेका थिए ।
प्रस्तुतिको क्रममा गजुरेलले पत्रकार धमला जहिले पनि क्यामराको अघि आइरहने विषयको व्यङ्ग्य गरे । उनले भने, ‘यो संसारमा अहिलेसम्म वैज्ञानिकहरुले धेरै कुराको अविष्कार गरे । तर ऋषि धमला खिच्न नमिल्ने क्यामरा आविष्कार गर्न सकेनन् ।’
सोही कार्यक्रमा दीपकराज गिरीले पाँच वर्षको लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हाँस्यव्यङ्ग्य कलाकारको जागिर खोसिदिएको भन्दै प्रस्तुती दिन भ्याए । उनले भने, ‘गाईजात्रा व्यङग्यको पर्व हो, तर बलात्कार जस्तो दु:खद र अत्यचारको विषयलाई पनि कलाकारहरुले प्रहशन गर्नुपर्ने स्थिति छ, अर्को तर्फ पाँचवर्षको लागि बनेको सकारका प्रधानमन्त्रीले जनतालाई खुब हसाई राख्नु भएको छ, केही समयका लागि हामी मौन बस्नुपर्ने अवस्था छ, उहाँले जनताको काम गर्ने भन्दापनि हसाँउने काम गरिरहनु भएको छ ।’
कार्यक्रममा अर्का कलाकार जितु नेपाल (मुन्द्रे) ले वर्तमान सरकारले व्यङ्ग्य पचाउन नसक्ने बताए । उनले भने,‘वर्तमान सरकार कलकारको कुरा सुन्न र व्यङ्ग्यलाई बुझ्न सक्ने स्थितिमा छैन्, अहिले त कसैले सरकारको गल्तिका बारेमा व्यङ्ग्य गरे भने उल्टै जेल पठाउने कानून बनाउदैछन्, बोल्न पनि डरमर्दोछ, कुनै मन्त्रीको व्यङ्ग्य गर्ने हो भने जेल हालिदिने खतरा छ, कुनैबेला मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको व्यङ्ग्य गर्दा हरिबंशले लुगाफेर्दै गरेको ठाउमा पुगेर तिमीलाई त व्यङ्ग्य गर्न आउँदैन रहेछ भनेर भन्नु भएछ ।’
उनले अगाडी थपे ‘हरिबंशले डराउदै किन के भयो ? केही गल्ति गरेकी भनेर सोध्दा भट्टराईले भन्नु भएछ यो त कम भयो, यो भन्दा बढि म आफैले गर्न सक्थे, पुगेन सरकारका गल्ति कम्जोरीको बारेमा खरो रुपमा प्रस्तुत हुनुपर्छ, खै मलाई त उडाउन सक्नु भएन, भन्नु भएको थियो तर आज मन्त्री, प्रधानमन्त्रीलाई कलाकारका कुरा सुन्न र व्यङ्ग्यको भाव बुझेर जनताको काम गर्न फुर्सद छैन् ।’
त्यस्तै कार्यक्रममा कलाकार दमन रुपाखेतीले वर्तमान सरकार मुलुकको अवस्था प्रति संवेदनशिल नभएको भन्दै प्रस्तुती दिए । कार्यक्रममा केदार घिमिरे, श्रीकृष्ण सिमखडा, शिव शंकर रिजाल लगायतका कलाकारले हास्य प्रस्तुती दिएका थिए ।
Leave a Reply