लागूऔषध नियन्त्रणका लागि के गर्दैछ नेपाल प्रहरी ?

 अनलाइनखबर पाटी     २० भाद्र २०७५, बुधबार

भदौ-२०, काठमाडौं । लागूऔषधको अवैध कारोबारमा संलग्न तेह्रथुम म्याङलुङका ३९ वर्षीय जयप्रसाद लिम्वु गत साउनमा काठमाडौंबाट पक्राउ परे । कारोवारमा संलग्न भई पक्राउ पर्ने उनी जस्तै अभियुक्तहरूको सूची लामो छ ।

लागूऔषध कारोबारी पक्राउ संख्या विगत एक वर्षमा ह्वात्तै बढेको छ । गाँजा, चरेश, अफिम, ब्राउन सुगर, नियन्त्रित पदार्थ समेतको अवैध कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको प्रमुख कारण प्रहरी सक्रियता र प्रभावकारी अभियान नै भएको केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री बताउँछन् ।

उनका अनुसार लागूऔषध प्राकृतिक र अर्धकृतिम पदार्थ हो, जसको प्रयोगले व्यक्तिको केन्द्रीय स्नायु प्रणालीमा असर पुर्‍याई सोच्ने, बुझ्ने र बिश्लेषण गर्ने शक्तिमा विचलन ल्याउँछ ।

व्यक्तिको शारीरिक, आर्थिक, मानसिक, पारिवारिक र कानुनी पक्षलाई नराम्रोसँग असर पुर्‍याउँछ । कुनै पनि प्रकारको लागूऔषध चिकित्सकको सल्लाहविना आफूखुसी धेरै मात्रामा वा गलतरुपमा प्रयोग गरिन्छ भने त्यो लागूऔषध दुर्व्यसन हो । यस्ता प्रयोगकर्ता दुर्व्यसनी हुन् । नागरिक हित खाँतिर तथा सामाजिक, आर्थिक, मानसिक प्रभाव समेतलाई मध्यनजर गरी यस्ता पदार्थ प्रतिवन्धित छन् ।

लागूऔषध अवैध ओसारपसार नियन्त्रण गर्न कानुन कार्यान्वयन गर्ने निकायहरू क्रियाशील रहे पनि अन्तर्राष्ट्रिय रुपमा संगठित र सक्रिय गिरोहको संजालले गर्दा नियन्त्रण कार्य झन् चुनौतिपूर्ण बन्दै गएको छ

विश्वव्यापी समस्याको रुपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । जनसंख्याको वृद्धि तथा भूमण्डलीकरणको कारणसँगै लागूऔषध प्रयोगकर्ता र यसका कारोबारीको संख्यामा वृद्धि भएको कारण समाजमा दिन प्रतिदिन गम्भीर असर परिरहेको छ । विकास र शान्ति सुरक्षामा नकारात्मक प्रभाव परिरहेको छ ।

लागूऔषध अवैध ओसारपसार नियन्त्रण गर्न कानुन कार्यान्वयन गर्ने निकायहरू क्रियाशील रहे पनि अन्तर्राष्ट्रिय रुपमा संगठित र सक्रिय गिरोहको संजालले गर्दा नियन्त्रण कार्य झन् चुनौतिपूर्ण बन्दै गएको छ ।

लागूऔषध कारोबार नियन्त्रणका लागि नेपाल सरकारले लागूऔषध नियन्त्रण रणनीति, २०६६ लागू गरेको छ । गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ अन्तर्गत बुँदा नम्बर ७३ देखि ७६ सम्म लागूऔषध सम्बन्धी नीति तथा योजना समावेश गर्नुका साथै “लागूपदार्थ निषेध र मदिरा नियन्त्रण” अभियान २०७५ शुरु गरेको छ ।

विद्यमान कानुनलाई अभियानकै रूपमा लिएर नेपाल प्रहरी लागूऔषध कारोबार, प्रयोग र दुर्व्यसन नियन्त्रण गर्न सक्रिय छ । अनुसन्धान गरी संलग्नलाई पक्राउ तथा कानुनी कारवाही गर्न प्रहरीले पछिल्लो समय विशेष सक्रियता बढाएको छ ।

नेपालमा आर्थिक वर्ष २०७४/०७५ मा लागूऔषध सम्बन्धी अपराधमा संलग्न ४ हजार ७ सय ५४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४ हजार ४ सय १६ जना नेपाली पुरुष, १ सय ८९ जना नेपाली महिला र १ सय ४९ विदेशी नागरिक रहेका छन् । ती मध्ये ३ हजार ८८  मुद्धा अदालतमा दर्ता भएका छन् ।

पक्राउ परेकाहरु गाँजा, चरेश, हेरोइन, अफिम र कोकिनजस्ता लागूऔषध सेवन गर्ने तथा यसको ओसारपसारमा संलग्न रहेका छन् । उनीहरूबाट ४ हजार २ सय ८ केजी गाँजा, १ हजार ३ सय ५९ केजी चरेश, १ केजी हेरोइन, ३९ केजी अफिम र ४ केजी कोकिन प्रहरीले बरामद गरेको छ ।

साइकोट्रोपिक्स लागूऔषधतर्फ १ लाख ९४ हजार ६ सय ४२ ट्याब्लेट, १ लाख ९७ हजार २६ एम्पुल, ४ हजार २ सय ३० कोरेक्स, १ सय १२ सिरिन्ज, १ फेन्सिडिल, ३ सय ८३ ग्राम पोल्याण्ड, ५० कोडिन, मनोद्विपक लागूऔषध ८ केजी, २० मेथाएफेटामाईन, ३ केजी ७ सय ८१ ग्राम लागूऔषध खात र ४० ग्राम यावा समेत बरामद भएको छ ।

ग्रामीण क्षेत्रमा हुने गाँजा र अफिम खेतीको भरपर्दो अनुगमन प्रणाली नहुनु, खर्चिलो सूचना ब्यबस्थापन विधि र बजेटको सीमितता नियन्त्रणका चुनौति हुन्

यस आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा २ नम्बर प्रदेशबाट सबैभन्दा धेरै लागूऔषध गाँजा २ हजार ८३ केजी बरामद भएको छ । ३ नम्बर प्रदेशबाट सबैभन्दा धेरै ४ सय ६ केजी चरेश बरामद भएको छ । साथै १ नम्बर प्रदेशबाट १ केजी हेरोइन, ६ नम्बर प्रदेशबाट सबैभन्दा धेरै १७ केजी अफिम तथा लागूऔषध ब्युरोबाट ४ केजी कोकिन बरामद भएको छ ।

खुल्ला सीमाना र लागूऔषधको सहज प्राप्ती कारोबार वृद्धिको प्रमुख कारण हो । ग्रामीण क्षेत्रमा हुने गाँजा र अफिम खेतीको भरपर्दो अनुगमन प्रणाली नहुनु, खर्चिलो सूचना ब्यबस्थापन विधि र बजेटको सीमितता नियन्त्रणका चुनौति हुन् ।

लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राई भन्छन्, “नयाँ कार्यविधि र शैली अपनाई हुने कारोबारको अनुसन्धानका लागि आधुनिक प्रविधियुक्त साधनस्रोत आवश्यक छ ।”

गलत मनसायका व्यक्तिहरुले अर्थोपार्जनको उद्देश्यले लागूऔषध ओसारपसार गरिरहेको देखिन्छ । विशेष गरी युवावर्ग दुर्व्यसनीमा लागेको तथ्याङ्कले देखाएको छ ।

परिवार, समाज र विद्यालयबाट उचित मार्ग निर्देशन र हेरचाहको अभाव, सही निर्णय क्षमताको कमी, आनन्द प्राप्तिको अभिलाषा र साथीको संगत लगायतका कारणले युवावर्ग लागूऔषधको दुर्व्यसनीमा फसेको पाइन्छ ।

केन्द्रीय प्रहरी प्रवक्ता थापा क्षेत्री भन्छन्, “लागूऔषधबाट सबैभन्दा बढी पीडित हुनेमा युवा पुस्ता छन् । समाजमा देखिएको नयाँ प्रयोगको पद्धति, अन्तर्राष्ट्रिय रुपमा सूचना प्रविधिमा पहूँच, जीवन जिउने सन्दर्भमा देखिएको मूल्य मान्यतामा आएको क्षयीकरण, एकल परिवारको बिस्तारले गर्दा आभिभावकत्वमा आएको कमीको अवस्थामा बालबालिकालाई संकल्प सहितको राम्रो मान्छे बन्ने कुरा सिकाउन सकेनौं भने यसले कालान्तरमा परिवार, समाज र देशलाई नै नकारात्मक असर पार्छ । त्यसकारण बिद्यालयको पाठ्यक्रममा नै समावेश गरेर नियमित रुपमा पढाई हुन सक्यो भने लागूऔषध नियन्त्रण अभियान प्रभावकारी हुनेछ ।”

लागूऔषध सेवनले सेवनकर्तालाई मात्र नभई परिवार, समाज र देशलाई नै प्रत्यक्ष प्रभाव पारिरहेको छ । राष्ट्रिय रुपमा राज्यको सम्पत्ति अनुत्पादक क्षेत्रमा खर्च भई राष्ट्रलाई ठूलो नोक्सान हुने तथा उर्जाशील युवा जनशक्ति गलत बाटोमा लाग्दा राष्ट्रलाई दुरगामी प्रभाव पारिरहेको छ ।

सेवनकर्ताको स्वास्थ्यमा असर गर्छ । सामाजमा विखण्डन ल्याउने, नराम्रो विकृति फैलने, सामाजिक सहिष्णुतामा ह्रास आउने हुन्छ । लागूऔषध खरिदमा खर्च हुने अर्थ संकलन गर्न चोरी र लुटपाट जस्ता घटना घट्ने र अन्य अपराध समेत बढ्ने गरेको पाइन्छ ।

लागूऔषध खरिदमा खर्च हुने अर्थ संकलन गर्न चोरी र लुटपाट जस्ता घटना घट्ने र अन्य अपराध समेत बढ्ने गरेको पाइन्छ

लागूऔषधबाट शहरी क्षेत्रमा बसोबास गर्ने २० देखि २९ वर्षका २२.४ प्रतिशत र १५ देखि १९ वर्षका १९.९ प्रतिशत युवावर्ग दुर्व्यसनमा फसेको तथ्याङ्कले देखाएको छ । प्रहरी नायब महानिरीक्षक राई भन्छन्, “यसलाई घटाउने चुनौती सामना गर्न ब्युरो मातहत नयाँ प्रहरी एकाई स्थापना गर्ने, जाँच कार्यमा कडाई गर्ने र जनचेतनामुलक कार्यक्रमलाई अझै विस्तार गर्ने योजना छ ।”

सामाजिक समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रणमा पछिल्लो समय प्रहरी सक्रियताका कारण धेरै ठूलो संख्यामा अपराधी पक्राउ परेका हुन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नयाँ तरिकाले अपराध अनुसन्धान गर्न निर्देशन दिँदै अएका छन् ।

सोही अनुरूप चौविसै घन्टा प्रहरी जाँच, कानुनी कारवाहीमा कडाई, नयाँ प्रविधिको प्रयोगका कारण कारोबारी निरूत्साहित भएका छन् । प्रहरी मात्रै होइन सरोकारवाला सम्पूर्ण पक्ष यसको नियन्त्रणको लागि जागरुक हुनुपर्ने देखिन्छ ।

परिवारका सदस्यहरू पनि आफ्ना बालबालिकाको क्रियाकलापबारे सचेत हुन आवश्यक छ । युवावर्ग भविष्यप्रति सचेत भई यसको सेवनबाट टाढा रहन सक्नुपर्छ ।

सरकारीस्तर, प्रहरी, समाज, सरोकारवाला निकाय र आमनागरिक मिलेर कानुनले तोकेको पथ पछ्याउँदै सक्रिय रूपमा कामप्रति समर्पित हुन सके यस्ता अपराध नियन्त्रणमा पक्कै सफलता मिल्छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट