मानव तस्करविरुद्ध पीडित जुटाउदैँ जुटाएका प्रमाण प्रहरी लुकाउदैँ गरेको खुलासा

 अनलाइनखबर पाटी     २१ भाद्र २०७५, बिहीबार

फ्रान्स र क्यानडाको प्रलोभन देखाएर युवाहरूलाई अफ्रिकी देश गिनीमा अलपत्रपार्ने समूहविरुद्धका प्रमाण लुकाउन प्रहरीले सघाएको खुलेको छ।

त्यसरी मानव तस्करी गरेको आरोप लागेका दुई जनालाई कञ्चनपुरबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिअाईबी) काठमाडौं ल्याउँदा बर्दियामा प्रहरीको सहयोगमा प्रमाण लुकाइएको भेटिएको छ।

पीडितहरुले नै दिल्लीको एक होटलबाट नियन्त्रणमा लिएर कञ्चनपुर प्रहरीलाई बुझाएका विराज यादव र प्रेरणा लक्ष्मी मल्लविरुद्धका प्रमाण लुकाइएको हो।

स्रोतका अनुसार दर्जनौं युवालाई ठगी गर्ने दुबैको मोबाईल, सिम कार्ड, लेनदेन र सम्पर्क सूत्रबारे जानकारी भएको डायरी लगायतका कागजपत्र भएको झोला नै प्रहरीले गायब बनाउने प्रयास गरेको हो। तर उक्त झोला प्रहरीलाई बुझाउँदै गरेको फोटो पीडितहरूले सोमबार ब्युरो प्रमुख डिआईजी नारायणसिंह खड्कालाई देखाएपछि लुकाउन खोजिएका प्रमाण बुधबार फिर्ता गरिएको छ।

विराज र प्रेरणा १७ जना युवालाई क्यानडा र फ्रान्स पठाइदिने भन्दै अफ्रिकी देश गिनीको राजधानी कोनाक्रिमा अलपत्र पारेको आरोपमा कारबाही प्रक्रियामा छन्।

ब्युरोले भने प्रमाण लुकाउन नभई आरोपीको सामान बढी भएपछि बर्दियामा राखिएको र सो सामानमा प्रमाण भएको झोला समेत झुक्किएर परेको हास्यस्पद जवाफ दिएको छ।

‘बर्दियाको भुरिगाउँ हो कि कुन ठाउँमा हो झोला छुटेछ, त्यहाँका इन्स्पेक्टर डिसी थर हुन कि यकिन भएन’, ब्युरो प्रमुख नारायण सिंह खड्का भन्छन्, ‘प्रमाण आइपुगेको छ, हामी हेर्दै छौं।’

 

नेपालखबरलाई प्राप्त विवरण अनुसार मानव तस्करी तथा ओसारपसार मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका विराज र प्रेरणाले भारतीय आधार कार्ड समेत लिएको खुलेको छ। प्रेरणाले आहना सिंहको नाममा भारतीय आधार कार्ड र भारतीय कर विभागको परिचय पत्र लिएकी पाइएको छ। यस्तै उनको एउटै नाम र नागरिकता नम्बरमा दुईवटा फरक नम्बरका राहदानी फेला परेको छ।

लुकाउ खोजिएको झोलामा लेनदेन र पैसा पठाएको विवरण सहितको डायरी पनि थियो। यस्तै दुबैले प्रयोग गरेका तीनवटा मोबाइल र आधा दर्जन सीम कार्ड गायब बनाउने प्रयास भएको छ।

स्रोतका अनुसार महेन्द्र राजमार्गको बर्दिया खण्डमा आरोपी प्रेरणाले प्रहरीसँग सम्पर्क गरेकी थिइन। त्यसपछि गाडीमा भएका सामाग्री त्यहीँ राखिएको थियो। जसमा महत्वपूर्ण प्रमाण सहितको झोला समेत परेको हो।

विराज र प्रेरणाले पुतलीसडकमा कन्सुलर इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी नामक संस्था खोलेर मानव तस्करी गरिरहेका थिए। युवाहरूलाई प्रलोभनमा पारी रोजगारी र मल्टिपल भिसाका नाममा ३ करोड रकम उठाएका थिए।

भारतको बाटो हुँदै अनअराइभल भिसामा इथोपिया र त्यहाँबाट गिनी लगिएका १७ जना युवा ६ महिनादेखि १ वर्षसम्म बन्धक बनाइएका थिए। २०७४ बैशाखदेखि नेपालबाट लगिएका युवा चैतमा नेपाल फर्किएर विराज र प्रेरणाविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए।

ब्युरोले दुबै विरुद्ध मानव बेचबिखन तथा ओसारपसारमा ४ वटा मुद्दामा कारबाही अघि बढाएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट