पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्दै जनता मारमा पर्दै – सरकार हेर्दै

 अनलाइनखबर पाटी     २१ भाद्र २०७५, बिहीबार

शोभित उप्रेती

भदौ-२१, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो ।

खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको छ र नयाँ मूल्य आजै मध्यरातिदेखि नै लागु भएको छ ।

नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य ११२ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टितेललाई ९८-९८ रुपैयाँ तिर्नुपर्ने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १४ सय रुपैयाँ पुगेको छ ।

गोइतले भने- पछिल्लो १५/२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय मुद्रा अवमूल्यन भएको र सोही अनुसार भारतीय आयल निगमबाट १ सेप्टेम्बरमा प्राप्त मूल्य बढेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ३६ पैसा तथा डिजेल र मट्टितेलमा ४९ पैसा घाटा रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर ३०९ रुपैयाँ ७९ पैसा घाटा रहेको निगमको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट