यौन हिंसाको आरोपपछि सिबिएसका सिइओ लेसको राजीनामा
अनलाइनखबर पाटी २५ भाद्र २०७५, सोमबार
अमेरिकी प्रतिष्ठित टेलिभिजन प्रचारक कम्पनी सिबिएसका कार्यकारी अधिकृत (सिइओ) लेस मुन्भ्सले यौन हिंसाको आरोपपछि पदबाट राजीनामा दिएका छन्।
गत जुलाईमा उनीमाथि एम महिलाले यौन हिंसा गरेको आरोप लगाएकी थिइन्। त्यसबेला ६८ वर्षीय मुन्भ्सले आरोप गलत भएको बताएका थिए।
यद्यपि आइतबार उनीविरुद्ध थप ६ जना महिलाले यौन हिंसाको आरोप लगाएपछि उनी कार्यकारी अधिकृतको पदबाट राजीनामा दिन बाध्य भएका हुन्।
विश्वभर ‘मिटु’ अभियान चलिरहेको बेला उनी यस झमेलामा फसेका हुन्। यसअघि मुन्भ्स आफैले महिला हिंसाविरुद्धको अभियानमा सहायता प्रदान गर्ने घोषणा गरेका थिए।
तर महिला हिंसाविरुद्ध आवाज उठाउने मुन्भ्समाथि नै महिला हिंसाको आरोप लागेको छ। मुन्भ्सले यस अभियानमा सहयोगगर्ने भनेको २० मिलिन अमेरिकी डलर भने मिटु अभियानलाई नै प्रदान गरिने सिबिएस कम्पनीले बताएको छ।
मुन्भ्सको राजीनामापछि सिबिएसले जोसेफ इनेलोलाई कम्पनीको कार्यकारी अधिकृत तथा प्रमुख बनाउने बताएको छ। अमेरिकी संचार माध्यमहरुका अनुसार कम्पनीले मुन्भ्सलाई सय मिलियन अमेरिकी डलर प्रदान गर्नेछ।
यद्यपी यसमा सहयोगार्थ प्रदान गर्ने भनिएको २० मिलियन अमेरिकी डलरमा कटौती हुनेछ।
सन् १९९५ मा सिबिएसका मनोरञ्जन प्रमुख मुन्भ्स सन् २००६ देखि सिबिएसका प्रमुख तथा कार्यकारी अधिकृत बनेका थिए।
Leave a Reply