ओलीले ‘सिलिण्डर ग्यासको युग सकियो’ भन्दै उद्घाटन गरेको गोबरग्यास प्लान्ट एक महिना नपुग्दै बन्द

 अनलाइनखबर पाटी     २५ भाद्र २०७५, सोमबार

निकै महत्वका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको विराटनगरस्थित गोबरग्यास प्लान्ट सञ्चालनमा आएको दुई सातामै बिग्रिएको छ।

अघिल्लो आइतबार (१७ भदौ) मा परेकोे पानीले ग्याँस उत्पादन गर्ने स्थानमा क्षति पुर्‍याएपछि एक सातादेखि बन्द भएको हो।

विराटनगर महानगरपालिका १४ जतुवास्थित श्रीकृष्ण गौ सेवा सदनमा रहेको गोबर ग्याँस प्लान्टको ‘मेम्ब्रेन’ मा समस्या आएपछि उत्पादन रोकिएको स्रोतले बताएको छ।

‘कमजोर खालको ‘मेम्ब्रन’ मा परेको पानीको प्रेसर थेग्न नसकेपछि भत्कियो,’ नाम बताउन नचाहने स्रोतले भन्यो, ‘अहिले भारतीय प्राविधिक ल्याएर मर्मत गर्ने काम गरिँदैछ।’

तीन मन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले ५ भदौमा विराटनगर पुगेर सो गोबरग्यास प्लान्टको उद्घाटन गरेका थिए।

प्लान्ट उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सिलिन्डर ग्यास प्रयोग गर्ने युग समाप्त भएको घोषणा गर्दै यो प्लान्ट सानो भएपनि महत्वपूर्ण उपलब्धि भएको दावी गरेका थिए।

ऊर्जामन्त्री वर्षमान पुन, कानुन न्याय तथा संसदीय व्यवस्थ मन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको समेत उद्घाटन कार्यक्रममा उपस्थिति थियो।

विराटनगर महानगरपालिका–१४ जतुवास्थित श्रीकृष्ण गौसेवा केन्द्रमा २ सय ६४ घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो।

सो प्लान्टबाट उत्पादित ग्यास ३२ घरमा पाइपका माध्यमबाट बितरण गरिदै आएको थियो।

गौसेवा र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले संयुक्त रुपमा गोरबग्यास प्लान्टको निर्माण गरेका थिए।

गौसेवा तथा केन्द्रका दुवैका अधिकारीहरुले ग्यास उत्पादन बन्द रहेको स्वीकार गरेपनि कारण चाहिँ फरक-फरक दिएका छन्।

गौसेवासँग सम्बद्ध शंकर अग्रवालले वरिपरिका थप घरमा समेत ग्यास विस्तार गर्ने क्रममा रहेकाले ग्यास उत्पादन बन्द गरिएको थियो।

सम्बन्धित लिंकः ग्यासकाे सपना बाँडेका अाेलीद्वारा गाेबर ग्यास प्लान्ट उद्घाटन 

‘कुनै समस्या आएर बन्द गरिएको होइन, थप विस्तार गर्न उत्पादन बन्द गरेका हौँ’ नेपालखबरसँग टेलिफोनमा अग्रवालले भने।

१ करोड ५० लाख रुपैयाँमा सो प्लान्टका निर्माण गरिएको थियो, जसमा वैकल्पिक ऊर्जा केन्द्रको ८० र गौसेवाको २० प्रतिशत लगानी रहेको छ।

केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्यालले नियमित मर्मत संभारका लागि अहिले बन्द गरिएको दावी गरे ।

‘पानी परेर क्षति पुर्‍यायो भन्ने विषयमा ग्राउन्डबाट जानकारी गराएका छैन’ अर्यालले टेलिफोनमा भने, ‘३-३ महिनामा हुने मर्मतका लागि बन्द गरिएको हो।’

यस विषयमा थप बुझेर जानकारी गराउने बताएका अर्यालले प्लान्टमा कुनै समस्या देखिए एक वर्षसम्म समाधान गर्ने जिम्मेवारी निर्माण गर्ने कम्पनीकै भएको बताए।

‘कन्ट्रोल रुपमा ग्यास वितरण गर्ने गरी गोबर ग्याँस प्लान्ट निर्माण गर्न निकै कम छ’ अर्यालले भने, ‘हाम्रो प्राविधिकहरुले यस विषयमा अहिले पनि सिक्ने क्रममा छन्।’

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट