नेविसंघ महाधिवेशन दशैं र तिहारको बीचमा
अनलाइनखबर पाटी २६ भाद्र २०७५, मंगलवारभदौ-२६ , काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशन आगामी कात्तिक १६ गतेदेखि हुने भएको छ । सोमबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले दशैं र तिहारको बीचमा अर्थात कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
तर, महाधिवेशन कुन जिल्लामा गर्ने भन्ने तय भइनसकेको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए । उनले भने, ‘हामीले महाधिवेशन कात्तिक १६ गतेदेखि गर्ने निर्णय गरेका छौं । तर कहाँ भन्ने कुरा चाहिँ पार्टीसँग सल्लाह गरेर टुंगो लगाउँछौं ।’
यस्तो छ महाधिवेशन कार्यतालिका
महरका अनुसार असोज ७ गते मावि र क्याम्पसहरुको अधिवेशन सुरु हुने छ । १२ गते सबै पालिकाहरुमा, १५ गते निर्वाचन क्षेत्रहरुमा, २१ गते ७७ वटै जिल्लामा, असोज २३ गते काठमाडौं उपत्यकाका क्याम्पसमा तथा कात्तिक १० र ११ गते सातवटै प्रदेशमा अधिवेशन गरिने छ ।
त्यसपछि केन्द्रीय अध्यक्षले महाधिवेशन प्रतिनिधिहरुको मनोनयन गर्नेछन् । अध्यक्षलाई ३० जना मनोनयन गर्ने अधिकार हुन्छ ।
महाधिवेशन प्रतिनिधिहरुको पहिलो नामावली प्रकाशन कात्तिक १३ गते हुनेछ । उक्त नामावलीमा दावी विरोध र अन्तिम नामावली प्रकाशन १४ गते हुने छ । त्यसपछि १६ गते महाधिवेशनको उदघाटन गर्ने र १७ गते बन्दसत्र सुरु गर्ने कार्यतालिका बनाइएको अध्यक्ष महरले जानकारी दिए ।
Leave a Reply