डिप्रेसनले डुबाउँदैछ नेपालीलाई, किन ?
अनलाइनखबर पाटी २८ भाद्र २०७५, बिहीबारकरिब एक महिना अघिमात्र ब्रिसबेनमा रहेका अमन नामका एक नेपाली युवाले आत्महत्या गरे । उनले पारिवारिक समस्याका कारण आत्महत्या गरेको भनिएको छ । अर्कातिर त्यसको केही साताअघि नै सिड्नीको समुद्री किनारमा एक नेपाली युवती मृत अवस्थामा फेला परिन् । उनले आत्महत्या गरेको बताइएको छ ।
गत पुसमा सिड्नीको न्युक्यासल बस्ने नेपाली नर्स तृप्ति पाण्डेले आत्महत्या गरिन् । परिवारसहित सिड्नीमा बस्दै आएकी पाण्डे आफैं मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत थिइन् । अरूलाई मानसिक रोगसँग लड्न परामर्श दिने तृप्ति आफैं त्यही मानसिक रोगको सिकार होलिन् भनेर कसैले कल्पना गरेका थिएनन्, तर भयो त्यही । उनले आफ्नो व्यक्तिगत समस्याका कारण अर्थात् मानसिक रोगसँग लड्न नसकेर आत्महत्याको बाटो रोजिन् । उनको मृत्युको कारण पोस्ट माटिरनल डिप्रेसन बच्चा जन्मिएपछि हुने मानसिक रोगका कारण भएको बताइन्छ ।
नयाँ वर्षको सेलिब्रेसन नसकिँदै सिड्नीस्थित नेपाली समाज शोकमा डुब्यो । किनभने सिड्नीकै लिड्कममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजालले आत्महत्या गरिन् । चार वर्षअघि अध्ययनका क्रममा अस्ट्रेलिया आएकी २३ वर्षीया अस्मिता सिड्नीस्थित इलाइट कलेजमा बिजनेस म्यानेजमेन्टमा डिप्लोमा गर्दै थिइन् । हक्की र पढन्ते स्वभावकी रिजाल पछिल्लो समय आर्थिक समस्या, सम्बन्ध र स्वास्थ्यका कारण चिन्तामा रहने गरेको उनका साथीहरूले बताएका थिए ।
यीत प्रतिनिधि घटना मात्र हुन् । नेपाली विद्यार्थीको प्रमुख रोजाइको गन्तव्य बन्दै गएको अस्ट्रेलियामा मानसिक रोगकै कारण आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । नेपालीहरू सबैभन्दा बढी बसोबास गर्ने सिड्नीमा मात्र अहिलेसम्म मानसिक रोगकै कारण आधा दर्जनभन्दा बढीले आत्महत्या गरिसकेको जानकारहरू बताउँछन् । अथाह अवसरको खानी मानिएको पहिलो विश्वको विकसित देशमै नेपालीहरूमा मानसिक रोग प्रमुख समस्याका रूपमा झांगिन थालेको छ ।
विगत एक दशकमा नेपालीहरूको जनसंख्या बढेसँगै मानसिक रोगको चपेटामा पर्ने नेपालीहरूमा समेत वृद्धि भएको हो । यही क्षेत्रमा काम गरिरहेका विज्ञहरूको भनाइलाई आधार मान्ने हो भने अहिले अस्ट्रेलियामा रहेका ५ नेपालीमध्ये १ जनामा कुनै न कुनै मानसिक समस्या छ । यद्यपि नेपालीहरूमा देखिएको मुख्य समस्या नै आफूमा मानसिक रोग छ भन्ने स्वीकार नगर्ने र थाहा भए पनि चिकित्सकको सेवा लिन नजानु भएको मानसिक रोग विशेषज्ञहरू बताउँछन् ।
विशेषत: मुख्य रूपमा नेपालबाट उच्च अध्ययनका लागि आएका विद्यार्थीहरूमा यो समस्या देखिँदै आएको छ भने अस्ट्ेरेलियाका विभिन्न राज्यमा व्यवस्थित बसोबास गरिरहेका नेपालीहरूमा समेत यही समस्या देखिएको छ । अहिले अस्ट्रेलियामा रहेका सामाजिक संस्थाहरू नेपालीहरूमा देखिएको मानसिक रोगका बारेमा जनचेतना फैलाउने कार्यमा नै आफूहरूलाई केन्द्रित गरिरहेका छन् ।
अस्ट्रेलियामा अहिले मानसिक स्वास्थ्य विशेषज्ञका रूपमा काम गर्ने दुई जना नेपाली चिकित्सक छन्, जसमा मेलबर्नमा डा. अनुपम पोखरेल छन भने सिड्नीमा डा. घनश्याम खड्का । त्यसका साथै अहिले मानसिक स्वास्थ्यमा विशेषज्ञता हासिल गरिरहेका आधा दर्जनजति चिकित्सक छन् भने दुई दर्जनजति नेपाली नर्सले मानसिक रोगमा विशेषज्ञता हासिल गरेका छन् ।
अस्ट्रेलिया सरकारको तथ्यांकअनुसार मानसिक रोग यहाँ मृत्युको कारकमध्ये १३ औं नम्बरमा छ । मानसिक रोगबाट यहाँ प्रत्येक वर्ष २ हजार ७ सय ९५ जनाले आत्महत्या गर्छन् भने सन् २०१६ मा उक्त संख्या २ हजार ८ सय ६६ थियो । अस्ट्रेलियाको केन्द्र र राज्य सरकारले मानसिक रोग भएकाहरूलाई उपचारका लागि विभिन्न गोप्य परामर्श तथा उपचारसमेत उपलब्ध गराउँदै आएको छ ।
चिकित्सकहरूका अनुसार नेपालमा आफ्नो परिवारको छत्रछायाँमा रहनेहरू यहाँ आएपछि सबै जिम्मेवारी आफैंले बेहोर्नुपरेपछि पनि तनाव पर्छ । अर्कातिर यहाँ जे अपेक्षा र सपना देखेर आएका हुन्छन् त्यो सपना र अपेक्षा व्यवहारमा नपाएपछि उनीहरू मानसिक समस्यामा पर्ने उनीहरूको भनाइ छ । नेपालबाट लाखौं खर्च गरेर यहाँ पठाएपछि अभिभावकहरूले गर्ने अस्वभाविक अपेक्षा पनि मानसिक रोगको मुख्य कारकका रूपमा देखिएको छ ।
यहाँको मानसिक क्षेत्रमा काम गरिरहेका विशेषज्ञ चिकित्सक, सामाजिक कार्यकर्ता तथा नर्सहरू नेपालीहरूमा मानसिक रोग बढ्दै जानुमा आफ्नो स्वास्थ्यप्रति जागरूक नहुनुलाई नै मान्छन् । अर्कातिर आफूमा मानसिक समस्या रहेको थाहा भए पनि त्यसलाई स्वीकार नगर्नु र स्वीकार गरिहाले पनि समयमै उपचार नगर्नुले समस्या थप्दै गएको बताउँछन् । समयमै थाहा पाएर उपचारको खोजी गर्ने हो भने अन्य रोगजस्तै मानसिक रोगको पनि सहज उपचार हुने चिकित्सकहरूको दाबी छ ।
यहाँका नेपालीहरू विद्यार्थीलाई अस्ट्रेलियासम्म ल्याउन पहल गर्ने कन्सल्टेन्सीहरूले गर्नुपर्ने जति जिम्मेवारी पूरा नगरेको गुनासो पनि गर्छन् भने यहाँका नेपाली समुदायले समेत यसको रोकथाम र सूचना सम्प्रेषणका लागि सक्दो पहल नगरेको गुनासो धेरैको छ । यहाँ रहेका कन्सल्टेन्सीहरूले विद्यार्थीलाई व्यवसायका रूपमा मात्र प्रयोग गरेको र आवश्यकताअनुसार उचित सल्लाह, सुझाव, सम्पर्क र सहयोग नगरेको एकथरीको गुनासो छ भने अर्कातिर व्यवसायीहरू आफूहरूले गर्नसक्ने गरिरहेको र सबैलाई सबै प्रकारको सहयोग गर्न असमर्थ रहेको बताउँछन् ।
मेलबर्नमा मानसिक रोग विशेषज्ञका रूपमा काम गरिरहेका डा. पोखरेल समयमा रोगको उपचार नगर्नु नै मानसिक रोग बढ्नुको मुख्य कारक भएको दाबी गर्छन् । उनी आफूले उपचार गर्ने अधिकांश बिरामी समयमा उपचार गर्न नआउने र रोगले च्यापिसकेपछि मात्र उपचारका लागि आउने अनुभव सुनाउँछन् । डा. पोखरेल मानसिक रोग पनि अन्य रोगजस्तै सामान्य रोग भएको बुझाउन पहल गर्नुपर्नेमा जोड दिन्छन् । अहिले पनि मानसिक रोग लागेको व्यक्तिलाई आफ्नो रोग स्वीकार गर्न र समयमै उपचार गर्न ग्लानी हुने गरेको छ— डा. पोखरेल भन्छन् । उनी यो रोगका बिरामी समयमै सम्पर्कमा आए अन्य रोग सरह नै निको हुने बताउँछन् ।
एनआरएन न्यू–साउथ वेल्सका संयोजक तथा एनआरएन उपाध्यक्ष नन्द गुरुङले यस्तै समस्यामा रहेका नेपालीहरूलाई सहयोग गर्नका मानसिक रोग विशेषज्ञ, चिकित्सक, नर्स आदिको संलग्नता रहेको हेल्प डेस्क सञ्चालनमा ल्याइएको बताए । यसले मानसिक रोगबाट समस्यामा रहेका नेपालीहरूलाई विभिन्न काउन्सिलिङका साथै आवश्यक सहयोगी संस्थाहरूमा रिफर गरिदिन्छ । यसैगरी मानसिक रोगका कारण समस्यामा रहेकाहरूका लागि नै सहयोग गर्ने उद्देश्यले अस्ट्रेलियाभर वाक फर वेलफेयरको आयोजना एनआरएनको महिला संस्था नारी निकुञ्जले गरिरहेको छ ।
यसको न्यूनीकरण र रोकथामको प्रमुख उपाय सूचना, सहयोग र उपचार नै भएकोमा सबै एकमत छन् भने विद्यार्थी नै मुख्य व्यवसायको स्रोत भएका कन्सल्टेन्सीहरूले समेत विद्यार्थीहरूलाई समयअनुसार आवश्यक सम्पर्क, सल्लाह, सुझाव र आवश्यक सहयोग जुटाइदिनुपर्नेमा उनीहरूको जोड छ । यहाँ आएका विद्यार्थीहरूले नै सही जीवनयापन, राम्रा साथी, सीमित महत्वकांक्षा र सहज सामाजिक जीवन बिताउने प्रयास गर्ने हो भने मानसिक समस्याबाट धेरै हदसम्म मुक्त भइने विज्ञहरूको सुझाव छ ।
रोगसम्बन्धी जनचेतनाको अभाव छ
डा. घनश्याम चापागाईं
म अहिले अस्ट्रेलिया सरकारको सिड्नीस्थित टेबलल्यान्डस मानसिक स्वास्थ्य सेवाको प्रमुखका रूपमा कार्यरत छु र म दैनिकजसो बिभिन्न प्रकारका मानसिक रोगीको उपचारमा संलग्न हुन्छु, जसमा नेपालीहरूको संख्यासमेत उल्लेख्य छ ।
अस्ट्रेलिया सरकारको तथ्यांकअनुसार अहिले ५ जनामध्ये १ जना मानसिक रोगी छन् र नेपालीहरूको संख्यासमेत यसकै हाराहारीमा छ । नेपालीहरूमा देखिएको खास समस्या भनेकै रोगलाई स्वीकार नगर्नु र रोग लागेको पत्ता लागे पनि समयमै उपचार नखोज्नु हो । मानसिक रोग अन्य रोगहरू जस्तै सामान्य रोग हो । यो पनि समयमै उपचार गर्ने हो भने निको हुन्छ भन्ने जनचेतनाको अभाव नेपालीहरूमा टड्कारो छ ।
मानसिक रोगका चिकित्सकहरूकहाँ उपचारका लागि आउने अधिकांश बिरामी सुरुको समयमाभन्दा पनि रोग बढिसकेपछि मात्र आउने भएकाले समस्या चर्को हुने गरेको छ । एकातिर मानसिक रोगको उपचारका लागि नेपाली विशेषज्ञ भेट्न नचाहने प्रवृत्ति र अर्कातिर मानसिक रोग भए पनि यसलाई कमजोरीका रूपमा लिने र स्वीकार नगर्ने चलन नेपालीहरूमा भएको मेरो अनुभव छ ।
म अहिले अस्ट्रेलियास्थित नेपाली चिकित्सकहरूको संस्थाको अध्यक्षसमेत हुँ । हामीले एनआरएनसँग मिलेर मानसिक आदि स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सहमति गरेका छौं, जसअनुसार हामीले विभिन्न राज्यमा जनचेतना, उपचार आदिका सेवा–सुविधाहरू प्रदान गर्नेछौं । त्यतिमात्र नभएर जनचेतना बढाउन सकियो र सबै जना यो रोगको निवारणमा लाग्न सकियो भने यसमा केही मात्रामा भए पनि नियन्त्रण हुन्छ ।
Leave a Reply