निर्मला पन्तको हत्याबारे सरकारको जवाफ माग्दै कांग्रेससद्वारा संसद बैठक अवरुद्ध

 अनलाइनखबर पाटी     २८ भाद्र २०७५, बिहीबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी निर्मला पन्तको हत्याबारे सरकारको जवाफ माग गर्दे प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्याको घटना दिनानुदिन नाटकीय रुपमा जटिल र रहस्यमय बन्दै गएको तथा एकपछि अर्को अनुसन्धान टोली परिर्वतन भइरहे पनि तर अनुसन्धान कार्य बास्तविक अपराधीसम्म पुग्न नसकेको भन्दै कांग्रेसले त्यसबारे सरकारको जवाफ माग गरेको हो।

बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे सदनलाई जानकारी नगराएसम्म सदन चल्न नसक्ने बताए। उनले भने, ‘अनुसन्धानमार्फत वास्तविक दोषी पत्ता लगाउनतर्फ भन्दा पनि समग्र राज्य संयन्त्र नै वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको देखिएको छ। यस घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिन थालेको आभास जनताले गर्न थालेका छन्।’

दिलेन्द्रप्रसाद बडु

पछिल्लो अनुसन्धान टोलीमा रहेका सदस्य उपसचिव वीरेन्द्र केसीले अनुसन्धानको विश्वसनियतामा गम्भीर प्रश्न उठाउँदै राजीनामा दिएको विषयमा पनि कांग्रेसले सरकारको जवाफ माग गरेको हो।

केसीले पन्तको आत्मा र पीडीत परिवारले न्याय पाउने संभावना नदेखको तथा शक्तिशाली अपराधीहरुबाट मेरो ज्यान खतरामा रहेको हुँदा सरकार, मानवधिकार आयोग, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था र नागकिक समाजलाई समेत जीवनरक्षाका लागि अपिल गर्दै छानविन टोलीको सदस्यबाट राजीनामा दिनुले गम्भीर स्थितिको सृजना गरेको भन्दै उनले त्यसबारे सरकारको जवाफ माग गरे।

उनले भने, ‘आखिर यो अवस्था किन र कसरी आयो? यी शक्तिशाली भनिएका अपराधीहरु को हुन्? यो राज्यको सुरक्षा व्यवस्था र अवस्थाप्रति नेपाल सरकारको उपसचिवले समेत विश्वास गर्न नसक्ने र जीवनरक्षाका लागि संयुक्त राष्ट्रसंघ र नागरिक समाजलाई लाई गुहार्नुपर्ने अवस्था किन र कसरी आयो? यसले अत्यन्तै गम्भीर प्रश्न उब्जाएको छ। राज्यको संयन्त्र सरकारले चलाईरहेको छ वा अन्य कुनै शक्तिले?’

कांग्रेसले नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन नसक्नुको कारण र खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई नियन्त्रणमा लिनुको कारण पनि सरकारसँग जवाफ मागको छ। बस्नेतलाई अकारण नियन्त्रणमा लिएर सरकारले पत्रकारमाथि आक्रमण र प्रेस स्वन्त्रचतामाथि हस्तक्षेप गर्ने काम गरेको ठहर कांग्रेसले गरेको छ।

यी सबै घटना बारे सरकारको जवाफ माग गर्दै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट