राजमार्ग वन्यजन्तुहरुका लागि निकै जोखिमपूर्ण बन्दै !

 अनलाइनखबर पाटी     ३१ भाद्र २०७५, आईतवार

भदौ-३१ , चितवन । चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा बनेका सडक र राजमार्ग वन्यजन्तुहरुका लागि निकै जोखिमपूर्ण बन्दै गएको पाइएको छ । अत्यधिक गतिमा गुड्ने सवारी साधनहरुले संरक्षित वन्यजन्तुहरुलाई ठक्कर दिएर मार्ने क्रम बढेको छ ।

जिल्ला वन क्षेत्रमा बनेका सडकमा अझै बढी वन्यजन्तुहरु मारिने र घाइते भएको पाइएको छ । गत वर्षमा मात्रै वन क्षेत्रका सडकमा २२ वटा वन्यजन्तु सवारी साधनको ठक्करबाट मारिए । पूर्वपश्चिम राजमार्गको टिकौलीको सडकमा चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै गाडीको ठक्करबाट दुईवटा मृग र एउटा बँदेलको मृत्यु भयो । आर्थिक वर्ष २०७४/७५ मा गाडीको ठक्करबाट जुगेडीदेखि लोथरसम्मको राजमार्गमा ३० वटा वन्यजन्तु मरेका छन् ।

न्यजन्तुसँग सवारीसाधन ठोक्किँदा चालक र यात्रुहरु पनि घाइते हुने गरेका छन् । गत भदौ २५ गते भरतपुरबाट पदमपुर जाने सडकमा तीन पांग्रे अटोरिक्साले जरायोलाई ठक्कर दिँदा जरायो मर्‍यो भने, अटो रिक्सामा भएका तीन जना घाइते भए । सवारीसाधनको ठक्करबाट कति वन्यजन्तु घाइते भएका छन् त्यसको एकिन तथ्यांक छैन ।

राजमार्ग क्षेत्रमा समयमा नै नजिक वरपरको झाडी सफा नगरिनु, शहरी क्षेत्रको फोहोर लगेर फाल्ने गरिनु र सडकमा यात्रा गर्ने यात्रुहरुले जथाभावी फोहर गर्दा यस्ता दुर्घटनाहरु बढिरहेका छन् ।

विश्व सरसफाइ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जले गरेको बरण्डाभार जैविक मार्गमा पर्ने पूर्वपश्चिम राजमार्ग सरसफाइ तथा अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाहरुले राजमार्गमा वन्यजन्तुलाई सवारीसाधनबाट कसरी जोगाउने भन्ने विषयमा छलफल चल्यो । सवारीसाधनको ठक्करबाट बँदेल, मृग, जरायो मरिरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वेदकुमार ढकालले बताए ।

डिभिजन वन कार्यालयका प्रमुख (साविक जिल्ला वन कार्यालय) केदारनाथ पौडेलले वन्यजन्तु सडकमा नआउन् भनेर तारजाली हाल्ने काम भइरहेको जानकारी दिए । विभिन्न ठाउँमा गरी हालसम्म १३ किलोमिटर तारजाली हाल्ने काम गरिएको उनले बताए ।

भेटिएसम्म वन्यजन्तुलाई ठक्कर दिने गाडीहरुलाई कारबाही गर्ने गरिएको छ । तर, वन्यजन्तुलाई ठक्कर दिने धेरै गाडीहरु फेला पार्न नै मुस्किल हुन्छ । टिकौली जंगल क्षेत्रमा राखिएको ४ वटा सिसी क्यामेरा पनि हाल बिगि्रएका छन् । सिसिटिभी नहुँदा झन् समस्या हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सवारीसाधनको गति बढी भएर पनि वन्यजन्तु मरिरहेको बताए ।

पञ्चकन्या सामुदायिक वनका अध्यक्ष रामबाबु श्रेष्ठले टिकौली जंगलमा बलियो तारबार हुनुपर्ने बताए । कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले महानगर हरेक कार्यमा समन्वय गरेर अघि बढ्न तयार रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले टिकौलीमा दुवैतिर अस्थायी चेकपोस्ट राख्न सके वन्यजन्तु मर्ने क्रम घट्ने बताए । उनले राजमार्गको टिकौली जंगल क्षेत्रको दायाँबायाँ २५/२५ मिटर झाडी फाँड्न, राजमार्गको ठाउँठाउँमा ब्रेकर राख्न र फोहोर फाल्न निषेध गर्न सचेतना कार्यक्रम तत्काल गरिने बताए ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यसअघि टिकौली जंगलमा गाडी रोक्न नपाइने लगायतका नियमहरु कार्यान्वयन गर्नुपर्ने बताए । नगरपालिकाको तर्फबाट वन्यजन्तुको संरक्षणका लागि आवश्यक सहयोग गर्न तयार भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट