भुटानको संसदमा १४ नेपाली भाषी उम्मेदवार

 अनलाइनखबर पाटी     २ आश्विन २०७५, मंगलवार

भुटानमा कातिकमा हुने दोस्रो चरणको निर्वाचनमा कम्तीमा १४ जना नेपालभाषी उम्मेदवार हुने भएका छन्।

शनिबार (३० भदौ) मा भएको पहिलो चरणको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको ड्रुक न्यमन रुव शोग-पा (डिएनटी) ले ९ जना नेपाली भाषीलाई उम्मेदवार बनाएको छ। यो दलले आजै (१ असोज) आगामी १ कातिकमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने सबै उम्मेदवारको नाम सार्वजनिक गरेको छ।

त्यसैगरी, दोस्रो स्थानमा रहेको ड्रुक फुन्सुम शोग-पा (डिटिपी) ले केही उम्मेदवारको नाम सार्वजनिक गरेको छ। डिटिपीले हालसम्म ४४ उम्मेदवारको नाम सार्वजनिक गरेकोमा ५ जना नेपाली भाषी रहेका छन्।

भुटानको तल्लो सदन ४७ सदस्यीय छ। जसअनुसार नेपाली भाषीको बाहुल्य रहेको दक्षिणी भुटानका क्षेत्रबाट उनीहरु उम्मेदवार बनेका हुन्।

डिएनटीबाट उम्मेदवारी पाउनेहरुमा जयवीर राई, हेमन्त गुरुङ, दिनेशकुमार प्रधान, लोकनाथ शर्मा, दिलमाया राई, गणेश घिमिरे, टेकबहादुर राई, गर्जमान राई र विमल थापा रहेका छन्। यो दलले आफ्नो वेबसाइटमा उम्मेदवारका जिल्ला निर्वाचन क्षेत्र, काम गर्दै आएको क्षेत्र र अध्ययन गरेका विषयसहितको विवरण राखेको छ।

उम्मेदवारमध्ये गुरुङ पूर्व सांसद हुन् भने जयवीर राई आर्थिक र वित्तीय विज्ञ, प्रधान शिक्षाविद् हुन्। यसैगरी शर्मा यातायात तथा सामुदायिक सेवामा सक्रिय रहेका व्यक्तित्व हुन्। दिलमाया सामाजिक विकासकी विशेषज्ञ मानिन्छिन् भने भने घिमिरे व्यापारी हुन्। टेकबहादुर सिभिल इन्जिनियर र गर्जमान आइटी इन्जिनियर हुन्। थापा किसान हुन्।

डिटिपीले सार्वजनिक गरेका नेपाली भाषी उम्मेदवारहरुमा प्रेमकुमार खतिवडा, लीला प्रधान, देवकुमार रिमाल, केवलराम अधिकारी र कुमार दन चाम्लिङ छन्। तर डिटिपीले उनीहरुको नाम र निर्वाचन क्षेत्र मात्रै उल्लेख गरेको छ।

सन् २००८ मा भएको पहिलो संसदीय चुनावमा विजय हासिल गरेर सरकार समेत गठन गरेको डिटिपी दोस्रो चुनावमा भने प्रमुख प्रतिपक्षी दल भएको थियो। वैचारिक रुपले यो दल राजावादी– पुरातनपन्थी दलको रुपमा चिनिन्छ।

यस पटकको निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएपछि निर्वाचन चरणबाटै बाहिरिएको तेस्रो स्थानमा रहेको बाहिरिएको निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बेको दल पिपुल्स डेमोक्रयाटी पार्टी (पिडिपी) ले पनि केही नेपाली भाषी व्यक्तित्वहरुलाई उम्मेदवार बनाउने अनुमान गरिएको थियो।

शनिबार भएको पहिलो चरणको निर्वाचनमा डिएनटी पहिलो दल बनेको छ। मध्य-वामपन्थी दृष्टिकोण राख्ने यो दलले बढ्दो आर्थिक असमानतालाई घटाउने नारा दिएको छ। डा लोतय छिरिङको नेतृत्वमा यो दल २०१३ को संसदीय निर्वाचनमा तेस्रो स्थानमा थियो।

भुटानमा नेशनल एसेम्बली (संसद) को निर्वाचन दुई चरणमा हुने प्रावधान छ। संविधानअनुसार पहिलो चरणमा मतदाताले राजनीतिक दल छान्न पाउँछन् । प्रारम्भिक चरणमा देशव्यापी रुपमा सबैभन्दा बढी मत ल्याउने दुई दलले अन्तिम चरणमा हुने निर्वाचनका लागि उम्मेदवार उठाउन पाउँछन्। अन्तिम चरणको निर्वाचन १ कार्तिकमा हुनेछ।

अन्तिम चरणको निर्वाचनमा जसले बहुमत ल्याउँछ, सरकार उसैले बनाउँछ।

भुटानको संविधानले नेशनल एसेम्ब्लीमा राजनीतिक दलबाट मात्रै उम्मेदवार बनाउने व्यवस्था गरेको छ। उम्मेदवारको शैक्षिक योग्यता स्नातक हुनुपर्ने व्यवस्था छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट