प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुखबीच भेटवार्ता

 अनलाइनखबर पाटी     ३ आश्विन २०७५, बुधबार

चीनको भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका मन्त्रीले भेटवार्ता गरेका छन्।

चीनको च्याङ्सु प्रान्तको नानचिङमा हुने अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवस समारोहमा भाग लिन आएका प्रचण्डसँग मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख सुङ थाओले भेटवार्ता गरेका हुन्।

चीनमा परराष्ट्र मन्त्रालयसँगै पार्टीको अन्तर्राष्ट्रिय विभाग पनि कुटनीतिक र राजनीतिक सम्बन्ध विस्तारमा उत्तिकै सक्रिय रहने निकाय हो। त्यसैले अन्तर्राष्ट्रिय विभागका प्रमुखलाई मन्त्री सरहकै प्रोटोकलमा राखिएको छ।

भेटमा सुङले चीन र नेपालबीचको सम्बन्ध विस्तारमा प्रचण्डले गरेको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रममा सहभागिताका लागि उनलाई हार्दिक स्वागत पनि गरेको चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले जनाएको छ।

उनले चीन र नेपाल दुवै देशमा कम्युनिष्ट पार्टीहरूले सत्ता सम्हालिरहेको अवसरमा दुवै पार्टीबीचको मैत्रीपूर्ण सहयोग गहन पार्न सके नेपाल–चीन सम्बन्धमा अझै बलियो आधारशीला थपिने विश्वास व्यक्त गरे।

चिनियाँ कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग मिलेर दुवै देशका नेतागणले सहमतिमा पुर्याएका एजेण्डाहरूलाई कार्यान्वयनमा लैजान, अन्तरदेशीय सम्बन्ध विकासमा ऐतिहासिक अवसरहरूलाई पच्छ्याउन, नवीन उपलब्धीहरूमार्फत् द्वीपक्षीय सहकार्य र आपसी सम्बन्धमा नयाँ गति प्रदान गर्न चीन इच्छुक रहेको पनि उनले सुनाए।

भेटमा प्रचण्डका सामु सुङले चिनियाँ राष्ट्रपति सी चिनफिङको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विचारधाराबारे पनि व्याख्या गरेका थिए।

अध्यक्ष प्रचण्डले सीको नेतृत्वमा चिनियाँ विशेषतायुक्त्त समाजवादले नेपाल–चीन उच्चस्तरीय मैत्रीपूर्ण सम्बन्ध विकासको गतिमा हिँडेकोमा सन्तोष लागेको सुङलाई सुनाए। प्रचण्डले पार्टी–पार्टीबीचको सम्बन्धलाई उचाइ दिने इच्छा प्रकट गरे।

उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टीसँग मिलेर मैत्रीपूर्ण आदानप्रदान गर्न, सबै संभाव्य क्षेत्रमा सहकार्य गर्न र नेपाल–चीन सम्बन्धलाई ऐतिहासिक गति दिन तत्पर छ।’

भदौ ३० गते सपरिवार चीनको भ्रमणमा निस्केका प्रचण्डले क्वाङ्चौ, यानान हुँदै नानचिनङको यात्रा गरेका हुन्। नानचिङमा शान्तिदिवसमा प्रचण्डले संवोधन गर्ने र चिनियाँ उपराष्ट्रपति वाङ् छिशानसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट