अनुभवी पाइलट पर्याप्त नहुँदा नेपाली वायुसेवा कम्पनीहरुले अझै विदेशी पाइलटमा भर

 अनलाइनखबर पाटी     ३ आश्विन २०७५, बुधबार

वायुसेवा कम्पनीले नयाँ विमान खरिद गर्दा त्यही विमान उडान गर्ने अनुभवी पाइलट अभावका कारण विदेशी पाइलटमा भर पर्नुपरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको फ्लाइट सेफ्टी स्टयान्डर्ड विभागका अनुसार नेपालमा कार्यरत पाइलटहरु मध्ये विदेशीको संख्या ११ प्रतिशत छ।

विभाग अन्तर्गतको लाइसेन्सिक एण्ड इग्जामिनेसन डिभिजनका अनुसार नेपालमा १० वटा हेलिकोप्टर कम्पनी सहित जम्मा २१ वायुसेवा कम्पनीमा ३ सय ८२ पाइलट कार्यरत छन्। तीमध्ये नेपाली पाइलटको संख्या ३ सय ४३ र विदेशी पाइलट ३९ रहेका छन्।

हेलिकोप्टर कम्पनी बाहेक नेपालमा दर्ता भएका हवाई जहाज कम्पनी ११ वटा छन्। ती हुन्– नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, यति एयरलाइन्स, बुद्ध एयर, सीता एयर, समिट एयर, तारा एयर, श्री एयरलाइन्स, सिम्रिक एयरलाइन्स, मकालु एयर र सौर्य एयरलाइन्स रहेका छन्।

यी मध्ये नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले मात्रै अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। ११ हवाई जहाज कम्पनीमा जम्मा ३ सय २१ पाइलट छन्। तीमध्ये नेपालीको संख्या २ सय ९६ छ भने विदेशी पाइलट २५ जना छन्।

यो तथ्याङ्कलाई हेर्दा हवाई जहाज उडान गर्ने विदेशी पाइलट ८ प्रतिशत मात्रै रहेको देखिन्छ।

नेपालमा दर्ता भएका हेलिकोप्टर कम्पनी १० वटा छन्। तिनमा एयर डाइनेष्टी, सिम्रिक एयर, श्री एयरलाइन्स, फिस्टेल एयर, माउन्टेन हेलिकोप्टर, प्रभु हेलिकोप्टर, मनाङ एयर, अल्टिच्युड एयर, हेली एभरेष्ट र कैलाश हेलिकोप्टर रहेका छन्। यी हेलिकोप्टरमा ६१ पाइलटले उडान गर्दै आएका छन्। तीमध्ये नेपाली ४७ र विदेशी १४ छन्।

प्रतिशतमा हिसाव गर्ने हो भने हेलिकोप्टर उडान गर्ने विदेशी पाइलटको संख्या २३ प्रतिशत देखिन्छ।

नेपाली पाइलट नेहा पुरी – के देखिन्छ भने, नेपालमा हवाई जहाज उडान गर्ने विदेशी पाइलटको तुलनामा हेलिकोप्टर उडान गर्ने विदेशी पाइलट धेरै छन्। हवाई जहाज उडानका लागि हुने तालिमको तुलनामा हेलिकोप्टर उडान तालिम खर्चिलो भएकाले विदेशी हेलिकोप्टर पाइलटको संख्या धेरै भएको लाइसेन्सिक एण्ड इग्जामिनेसन्की डिभिजन प्रबन्धक जानुका खनालले बताइन्।

‘हेलिकोप्टर दुर्गम क्षेत्रमा र उद्दार कार्यमा बढी प्रयोग हुने भएकाले नेपालीहरु कम संख्यामा आकर्षित भएका हुन् सक्छन्’, खनालले भनिन्।

प्राधिकरणले विदेशी पाइलटहरुलाई विस्थापन गर्दै जाने उद्देश्य राखेर ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुसेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्थाहरु– २०७५’ मा ल्याएको छ। त्यसले नेपालमा दर्ता भएका वायुसेवा कम्पनीले सेवा सञ्चालन गरेको पाँच वर्षभित्र आफुलाई आवश्यक जनशक्ति नेपाली नागरिक नै तयार गर्नुपर्ने व्यवस्था गरेको छ।

साथै, कुनै नयाँ प्रविधिको विमान थप गरिए वायुसेवा कम्पनीले त्यो विमान थप गरेको मितिले पाँच वर्षभित्र नेपाली जानशक्ति तयार गरिसक्नुपर्ने पनि त्यसमा उल्लेख छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाललाई भारत पछिको दक्षिण एशियाको सबैभन्दा बढी उड्डयन गतिविधि हुने मुलुकका रुपमा उल्लेख गरेको छ। नेपालमा वायुयानहरुको संख्या नरहेपनि वायुसेवा कम्पनीको संख्या अत्याधिक रहेको कारण नेपाल दक्षिण एशियाको दोस्रो बढी उड्डयन गतिविधि हुने देशमा परेको हो।

प्राधिकरणका अनुसार अहिले २१ नेपाली वायु सेवा कम्पनीहरुसँग ९४ विमान रहेका छन्। यी विमानहरुले नेपालका ३० र ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट