मुख्यमन्त्री राउतद्वारा राहत प्रदान

 अनलाइनखबर पाटी     ५ आश्विन २०७५, शुक्रबार

राजविराज, असोज- ५,  –  प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बेमौसमी रुघाखोकी र ज्वरोबाट ज्यान गुमाएका परिवारलाई राहतस्वरुप जनही रु दुई लाख प्रदान गर्नुभएको छ ।

रुघाखोकी र ज्वरोबाट ज्यान गुमाएका सप्तरी कञ्चनरुप नगरपालिकाका चार परिवारलाई उहाँले मुख्यमन्त्री राहत कोषबाट सो रकम प्रदान गर्नुभएको हो ।

कञ्चनरूप नगरपालिका–७ का १४ वर्षीय दिवस बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम, वडा नं ९ का १४ वर्षीय अमोदकुमार राम र वडा नं. ४ की ५० वर्षीया भालसर देवी सरदारको भाइरल ज्वरोका कारण मृत्य भएको थियो । ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएपछि कञ्चनरुप तथा हनुमाननगर कङ्कालनी नगरपालिका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनमा रहेको सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो ।

यस्तै प्रकोप नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयले उपलब्ध गराइएको रु १५ लाखको चेकपनि पनि मुख्यमन्त्रीले हस्तान्तरण गर्नुभयो । त्यस्तै ज्वरो तथा रुघाखोकीकै कारण महादेवा गाउँपालिका–१ का ८ वर्षीय महफुल आलमकोे पनि ज्यान गएको छ ।

भदौ २४ देखि कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरमार्फत २४ जनाको रगत र ¥याल परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमख निरञ्जन यादवका अनुसार उक्त परीक्षणपछि एक जनामा स्वाइन फ्लू र चार जनामा हङकङ फ्लूको भाइरस फेला परेको जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणका क्रममा कञ्चनरुप नगरपालिका–७ का हरिलाल साहलाई स्वाइन फ्लूको सङ्क्रमण देखिएको बताइएको छ ।

यसैगरी मधेश आन्दोलनका घाइते सप्तरी राजविराज नगरपालिकाका भुवनेश्वर मण्डल बेलचनलाई पनि रु एक लाख ५० हजार बराबरको चेक औषधि उपचार खर्चबापत भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदान गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री राउतले स्वास्थ्य जाँचका लागि अस्पताल आउने बिरामीलाई कुनै किसिमको कमी हुन नदिन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

“स्वास्थ्य जाँच गराउन अस्पतालमा आउने बिरामीलाई तपाईंहरुबाट कुनै किसिमको कमी नहोस्”, उहाँले भन्नुभयो, “यदि यस्तो भए ठीक हुँदैन् ।”

कञ्चनरुपमा देखिएको सिजनल फ्लू नियन्त्रण गर्न सफल भएकामा स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवा, नगरप्रमुख, प्रजिअ सुरक्षा निकायलगायत सबैलाई उहाँले धन्यवादसमेत व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट