बुढानिलकण्ठको ४० अाना जग्गा अर्कै व्यक्तिलार्इ पास गर्ने चाबहिलका मालपाेत प्रमुख पक्राउ

 अनलाइनखबर पाटी     १४ आश्विन २०७५, आईतवार

बुढानिलकण्ठको ४० आना जग्गा नक्कली कागजपत्र बनाएर अर्कै ब्यक्तिलाई नामसारी गर्ने मालपोत कार्यालय चावहिलका प्रमुख उपसचिव कमलप्रसाद तिमल्सिना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त गौशालाले कीर्तेगरी एक व्यक्तिकाे नाममा रहेकाे जग्गा अर्कैलार्इ पास गराउने कार्यमा उपसचिव तिमल्सिनाको संलग्नता देखिएपछि शुक्रबार पक्राउ गरेर म्याद थप गरेको हो।

उनी गौशाला वृत्तको हिरासतमा छन्। प्रहरीले यसअघि सोही प्रकरणमा मालपोत चाबहिलका चार जना कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। बुढानिलकण्ठको ४० आना जग्गा किर्ते गरेर पास गरेको प्रकरणमा यसअघि मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु रन्जनकुमार खरेल, जमुना कुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ परेका थिए।

बुढानिलकण्ठमा रहेको चन्दनकृष्ण कायस्थको ४० आना जग्गा नक्कली व्यक्तिका नाममा किनबेच भएको थियो। प्रहरीले जमिनको श्रेस्ताको जिम्मा राख्ने, श्रेस्ता तयार पार्ने र रुजु गर्ने कार्यमा संलग्न कर्मचारीलाई पक्राउ गरेको हो।

नक्कली जग्गाधनी बनेर मालपोतको ढड्डामा समेत दोस्रो व्याक्तिको फोटो टाँस गरेको अनुसन्धानको क्रममा भेटिएको छ। नक्कली चन्दनकृष्ण कायस्थ र श्रीकृष्ण देवकोटाको मुठ भिडाउने, लिखत पास गर्ने कार्यमा सरकारकी कर्मचारीको मिलोमतोको देखिएकाले उपसचिव समेतलाई पक्राउ गरिएको वृत्तका प्रमुख सुनिल मल्लले बताए।

कायस्थको नामका लालपुर्जा, नागरिकता, वारेस नामसहितका नक्कली कागजपत्र खडा गरेर जमिन किनबेच भएको थियो। मालपोतका कर्मचारीहरुले मिलेमतो गरेर कार्यालयको श्रेस्तानै फेरबदल गरेका थिए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट