निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुरमा बन्द जारी सर्वसाधारण मर्कामा

 अनलाइनखबर पाटी     १६ आश्विन २०७५, मंगलवार

नेपाल विद्यार्थी संघले आह्वान गरेको कञ्चनपुर बन्दले यहाँको जनजीवन प्रभावित भएको छ।

कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाका अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले पेस गरेको प्रतिवेदन र हत्यारा सार्वजनिकको माग गर्दै कांग्रेसको भातृ संगठन नेविसंघले कञ्चनपुर बन्द आव्हान गरेको हो।

बन्दका कारणले महेन्द्रनगर बजार क्षेत्र, यातायात, कलकारखाना, शिक्षण संस्था प्रभावित भएका छन्। बिहानैदेखि बजार पुर्ण रुपमा बन्द छ। लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छैनन्।

यद्यपी मोटरसाइकल र अटो भने चलिरहेका छन्। जिल्लाबाट बिभिन्न ठाउँका लागि छुट्ने तथा भित्रिने कुनै सवारीसाधन चलिरहेका छैनन्।

घटना भएको दुई महिना भन्दा बढी भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेको बिरोधमा नेवि संघले गरेको बन्दलाई स्थानीय व्यापारीहरुले पनि समर्थन गरेका छन्, जसले गर्दा स्वतस्फुर्त रुपमा बजार, कलकारखाना, सवारीसाधन, शैक्षिक संस्था बन्द भएका छन्।

आन्दोलनकारीहरुले महेन्द्र राजमार्गका बिभिन्न ठाउँमा टायर बालेका छन्। महेन्द्र बजार सहित ,महेन्द्र राजमार्ग अन्तर्गत गड्डाचौकी, भाँसी, सुडा, लालपुर, सिसैया, दैजीमा टायर बालेर प्रदर्शन समेत गरिरहेका छन्। सरकारले अपराधीलाई सार्वजनिक नगरी संरक्षण गरिरहेको आरोप लगाउँदै उनीहरुले सरकार बिरुद्ध नारावाजी समेत गरेका छन्।

सडकमा आएका आन्दोलनकारी

सडकमा आएका आन्दोलनकारी

नेपालीहरुको महान चाडपर्व नजिकै रहेको समयमा भएको बन्दले गरिएको आम हडतालका सर्वसाधारण भने मर्कामा परेका छन्। रोजगारीका लागि भारत गएकाहरु स्वदेश फर्किने समय यही भएकाले उनीहरुलाई सास्ती भएको छ।

घटना घटेको दुई महिना भन्दा बढी भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेका बिरोधमा आज कञ्चनपुर बन्द गरिएको नेवि संघका केन्द्रीय सदस्य गणेश भट्टले बताए।

बन्द मध्यनजर गर्दै कञ्चनपुरका ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा ब्यबस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए।

१० साउनमा साथीको घरमा पढ्नका लागि गएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको शब बलात्कार गरी हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा फेला परेको थियो।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *