‘आमा, छोरा त खोलामा जन्मियो’ – नसोचेका कुरा

 अनलाइनखबर पाटी     १८ आश्विन २०७५, बिहीबार

कहिलेकाहिँ यात्रामा सोच्दैनसोचेका कुरा भइदिन्छन्। गत साता हामी एउटा सर्ट मुभीको सुटिङका लागि खोटाङ पुगेका थियौं। निर्मलीडाँडामा सुटिङ सकेर काठमाडौं फर्किन सदरमुकाम दिक्तेल आइपुग्यौं।

दिक्तेलबाट काठमाडौं आउन हायसको टिकट काट्यौं। सवा ११ बजेमा हिँड्छ भनेको गाडी एकबजेतिरमात्र आइपुग्यो। सुटिङमा गएका हाम्रो टोली र अरू यात्रु पनि ड्राइभरसँग रिसाएका थिए।

ड्राइभर दाइले गीत बजाउँदै त्यसैको धुनमा गाडी दौडाए, गीत सुनेर रिस कम भयो। लगभग डेढ घन्टापछि एक्कासी गाडी रोकेर उनले भने- एउटा बिरामीलाई काठमाडौं लानुपर्ने भो। एमर्जेन्सी छ। म बिरामी ल्याएर आइहाल्छु। हजुरहरू १० मिनेटजति कुरिदिनुस्।

हामी गाडीबाट ओर्लियौं। उनी बिरामी लिन गए।

दस मिनेटमा आउँछु भनेका उनको एक घन्टा बित्दा पनि कुनै अत्तोपत्तो थिएन। गाउँलेको कुरा बुझ्दा थाहा भयो- दाइ त खोटाङ अस्पताल पुगेछन्। पाँच दिनपछि डेलिभरी डेट भएकी महिलालाई अस्पतालले हामी त सक्दैनौं, काठमाडौं लैजानुस् भनिदिएछ। काठमाडौं लैजान एम्बुलेन्स भेटिएन। हामी चढेको माइक्रो नै त्यो दिन काठमाडौं आउने अन्तिम गाडी रहेछ।

साढे १ घन्टापछि गर्भवती महिला र उनका श्रीमान् बोकेर हायस आइपुग्यो। गाडीका अरू यात्रु ड्राइभर दाइले चिनेजानेकै रहेछन्। कसैले केही भनेनन्। ती महिलालाई देखेपछि सबैजनाका अनुहारमा बाटोमा के होला भन्नेमात्र पीरमात्र देखिन्थ्यो।

बाटोमा उनलाई केही भइहाल्यो भने के होला भनेर मलाई एकदमै डर लाग्यो। म,जीवन र कुसुमले भन्यौं- यस्तो अवस्थाकी बिरामीले यत्रो लामो कच्ची बाटोमा कसरी यात्रा कसरी गर्न सक्छिन?

ती महिलाका श्रीमानले भने- म छु, तपाईंहरू चिन्ता नलिनुस्।

जीवनले फेरि ड्राइभरलाई भने- अरू कुरा हामीलाई केही थाहा छैन। हामीलाई रातिसम्म घरघरमा पुर्‍याइदिनु पर्छ, बस्।

त्यसपछि कसैले केही बोलेन। ड्राइभर दाइले रफ्तारमा हायस कुदाए।

गाडीभित्र सबैको ध्यान ती महिलामाथि थियो। म र कुसुम छिनछिनमा मुखामुख गर्दै थियौं।

कच्ची बाटोमा खाल्डाखुल्डी पार गर्दै जतिजति गाडी अगाडि बड्यो उतिउति ती महिलाको अनुहारको भावभंगी बदलियो। लगभग चार घन्टापछि त उनलाई व्यथाले निकै च्याप्यो। हामीले गाडी रोक्यौं। रगतले उनले लगाएको लुगा पूरै भिजेको थियो। ट्वाइलेट लगेर प्याड लगाइदियौं। कुसुमले भनिन्- दिदी, उनको त पेट झरेर तल आइसक्यो बच्चा त बाटैमा हुन्छ कि के हो? यो उनको पहिलो बच्चा रहेछ। हामीले पनि यसरी बच्चा जन्मिएको देखेका थिएनौं। हरे छोरीमान्छेका दु:ख! म आत्तिएँ।

उनका श्रीमानलाई भनें- ऊसँग बोलिरहनू, हात मालिस गरिदिनु। बिचरा! माया पनि लाग्यो, एउटी नारीले कति सहनुपर्छ।

बिस्तारै हामीले उनलाई काखमा सुतायौं। उनलाई देखेदेखि नै मैले डाक्टर अरुणा कार्कीलाई फोन ट्राई गरिरहेकी थिएँ। तर उहाँको फोन उठेन।

३० मिनेटपछि डाक्टर कार्कीको म्यासेज आयो-म क्लासमा छु, कल यु लेटर।

त्यतिञ्जेल हामी खोटाङ कटेर ओखलढुंगा आइपुगेका थियौं। घुर्मीमा गाडी रोकेर बिरामीलाई तातो सुप खुवायौं।

त्यहाँबाट गाडी हिँड्न थालेको पाँच मिनेटमा गाडी ट्याम्के खोलामा पुग्यो। खोलाको मुखैमा पुगेपछि ती महिलाले भनिन्- मेरो बच्चा जन्मियो गाडी रोक्नुस्। त्यतिञ्जेल गाडीका दुई पांग्रा खोलामा पसिसकेका थिए।

सबैको होस उड्यो। के गर्ने कसैलाई थाहा थिएन।म गाडीको ढोका खोलेर उनी बसेको साइडमा गएँ,उनले लगाएको ट्राउजर खोलेकी के थिए बच्चाको आदि टाउको बाहिर आइसकेछ। मेरो दिमाग शुन्य भयो। कताबाट आयो त्यो आँट थाहा भएन। मोबाइल निकालें र फेरि डाक्टर कार्कीलाई फोन हाने। धन्य भगवान! दुई रिङ नबज्दै उहाँले फोन उठाउनु भयो। मैले एकै सासमा त्यहाँ भएको सबै कुरा सुनाएन।

डाक्टर कार्कीले भन्नुभयो-तिमी नआत्तेऊ। यो काम तिमीले पनि गर्न सक्छौ। बच्चालाई पहिला कपडाले न्यानो पार।

कानमा फोन च्यापेर मैले बच्चा समाते। जीवनले सबैलाई मोबाइलको टर्च बाल्न लगाए। ती महिला सिटमा बसिन्। कुसुमले पछाडिबाट उनलाई सपोर्ट गरिन्।

बच्चा बाहिर निस्कियो।

‘ल बधाई छ! तपाईको छोरा भयो,’ मैले भनें।

यो सुनेर ती महिला दंग परिन्। उनका श्रीमानका आँखामा आँशु थिए। फोनमा उनी भन्दै थिए-आमा, छोरा त खोलामा पो जन्मियो।

एकजना यात्रुले ब्लेड निकाले। कुसुमले धागो खोजिन्। डाक्टर कार्कीले भनेअनुसार नाल काट्ने र साल निकाल्ने काम गर्‍यौं।

एकछिन अघि बाटोमा एउटा एम्बुलेन्स भेटेका थियौं। रोकेर अवस्था यस्तो छ आउनुपर्ने हुन सक्छ भनेर नम्बर मागेका थियौं।

फोन गर्‍यौं। एम्बुलेन्स खाली भइसकेछ। केहीबेरमा एम्बुलेन्स आइपुग्यो।

आमा र छोरालाई एम्बुलेन्समा चढाइदियौं।

छुट्टिने बेलामा गहभरि आँशु पार्दै छोराका बाबुले भने- हजुरहरू हाम्रा लागि देउतै हुन भो।

एम्बुलेन्स साइरन बजाउँदै हुइँकियो। ड्राइभर दाइ खोलामा गाडी धुन थाले। म र कुसुम लुगामा लागेको रगत पखाल्न लाग्यौं।

केहीबेरमा डाक्टर कार्कीले म्यासेज पठाउनुभयो- कंग्र्याच्युलेसन्स, वेल डन!

हायस काठमाडौंतिर कुदयो। मेरो मनमा भने कुरा खेल्न थाले-कति गाह्रो छ अझै सुत्केरी हुन्। न अस्पतालमा सेवासुविधा छ। न भनेको बेला एम्बुलेन्स पाइन्छ। त्यो दम्पत्ति पनि एम्बुलेन्स नपाएरै हायस चढेको थियो।

धन्न भाग्यले उनी पो बाँचिन्। कैंयौं आमाहरू उनीजस्तै भाग्यमानी हुँदैनन् र प्रसव पीडा सहन सकेर ज्यान गुमाउँछन्। हामीले यस्तो भोग्नुपर्ने कहिलेसम्म होला?

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट