छोरीहरूको देशव्यापी ‘फाइट–ब्याक’ तालिम अभियान

 अनलाइनखबर पाटी     २३ आश्विन २०७५, मंगलवार

यौनहिंसा र बलात्कारपीडित संख्या वृद्धिसँगै छोरीहरूलाई आत्मरक्षा निम्ति ‘फाइट–ब्याक’ तालिम दिने अभियान देशव्यापी भएको छ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या र त्यसपछि श्रृंखलाबद्ध सार्वजनिक महिला हिंसाले असुरक्षाको विकराल स्थिति झल्काउँछ। बलात्कारका घटना मात्र वार्षिक १ हजार २ सय हाराहारी रहेको तथ्यांक छ।

यसबाहेक बिहे गर्न वा प्रेम प्रस्ताव नमानेको झोँकमा तेजाब खन्याइदिने, दाइजो नल्याएको निहुँमा कुटपिट गर्ने, आगोमा जलाउने लगायतका घटना कति छन् कति! सडक, बस, अफिस, स्कुल, कलेज लगायत सार्वजनिक स्थानमा हुने दुर्व्यवहार धेरैजसो गुपचुपै रहन्छन्।

यौनहिंसामा प्रहरी कारबाही पनि निस्प्रभावी देखिँदै आएको छ। छोरीहरूलाई ‘आई लाग्नेमाथि जाई लाग्न’ सिकाउने हो भने यस्ता घटना कम हुन सक्छन्। ‘फाइट–ब्याक’ अभियानको उद्देश्य यही हो।

असुरक्षित अवस्थामा रहेका महिलालाई थोरै भए पनि प्रत्याक्रमणको आत्मबल दिन झापा, धनगढी, पर्सा, नवलपरासी, डडेल्धुरा, दोलखा, कास्की, काभ्रे लगायत स्थानमा व्यक्तिगत तथा संस्थागत रूपले ‘फाइट–ब्याक’ अभियान सञ्चालन भइरहेका छन्।

यसमा महिलाहरूलाई ‘मार्सलआर्ट’ मा जस्तो हातगोडा चलाउन मात्र सिकाइँदैन। ठूलो स्वरले कराएर आत्मबल दह्रो पार्न र आफ्नो वजनदार आवाजले आक्रमण गर्न आउनेको मनोबल गिराउन पनि सक्षम बनाइन्छ। उनीहरूलाई यौनहिंसा र दुर्व्यवहारबारे जानकारी दिइन्छ।

यो अभियानमा बहालवाला प्रहरी अधिकृतदेखि मार्सलआट खेलाडी र विभिन्न संघ–संस्थामा आबद्ध व्यक्ति संलग्न छन्।

तिनैमध्ये एक हुन्, प्रहरी उपरीक्षक (एसपी) किरण बज्राचार्य।

क्षेत्रीय ट्राफिक कार्यालय, पथलैयामा कार्यरत एसपी बज्राचार्यले त्यहाँका स्कुले बालिकाहरूलाई आत्मरक्षा तालिम दिँदै आएकी छन्। यही असोज ९ गते परवानीपुरको पाठशाला स्टडी सेन्टरको हलमा उनको तालिम थियो।

त्यहाँ उनले आक्रमणकारीलाई अगाडि वा पछाडिबाट ‘किक’ हानेर पछार्ने तरिका सिकाइन्। जबर्जस्ती कसैले अँठ्याए हात फुस्काएर जवाबी हमला गर्ने तकनिक बुझाइन्। कसैले कपाल जगल्ट्याए त्यसबाट उम्कने विधि देखाइन्। सबभन्दा ठूलो कुरा, केटाहरूलाई कुन ठाउँमा कसरी हान्दा ठाउँको ठाउँ मुर्छा पर्छन् भन्ने सिकाइन्।

धनगढीमा आयोजित ‘वुमेन सेल्फ डिसेन्फ क्याम्प’ मा किशोरी आत्मरक्षाका ‘मुभ्स’ सिक्दै।

पथलैयामा ‘पोस्टिङ’ भएदेखि उनले स्कुलका महिला शिक्षिका, कर्मचारी र अन्य पेसाकर्मीहरूलाई पनि यस्तो तालिम दिँदै आएकी छन्।

‘महिलाहरू कुनै न कुनै किसिमले हिंसाको शिकार नभएको दिन हुँदैन,’ लामो समय महिला बेचविखन क्षेत्रमा काम गरेकी एसपी किरणले सेतोपाटीसँग भनिन्, ‘धेरै घटना गुपचुप राखिन्छन्, कति त्यहीँ आर्थिक वा दबाबमूलक मिलेमतोमा सेलाउँछन्।’

‘छोरीचेलीलाई आफ्नो रक्षा गर्ने केही विधि सिकाए यस्ता घटनाबाट जोगिन सक्छन् भन्ने मेरो विश्वास छ,’ उनले भनिन्।

किरणलाई आत्मरक्षा तालिमप्रति विश्वास जागेको त्यसै होइन।

२०६९ सालतिर उनी दक्षिण सुडान गएकी थिइन्। त्यहीँ उनले आत्मरक्षा तालिम लिने मौका पाइन्। यस्तो तालिमले त्यहाँका महिला कसरी हिंसाबाट जोगिए भन्ने बुझिन्। फर्केर आएपछि यही सीप भक्तपुरका महिलाहरूलाई सिकाइन्।

‘त्यो बेला भक्तपुरमा महिलाहरूको आत्महत्या दर बढेको थियो। बन्द समाजका कारण वास्तविक कारण बाहिर आउँदैन थियो,’ २०७३ सालमा भक्तपुर प्रहरी प्रमुखका रूपमा आफ्नो अनुभव बाँड्दै एसपी किरणले भनिन्, ‘अधिकांश महिला घरेलु र यौनहिंसाका शिकार थिए।’

उनका अनुसार आत्महत्या गर्नेमा २० देखि ४० वर्ष उमेरका महिला बढी थिए। हिंसाकै कारण कतिले ज्यान गुमाएका थिए। समस्या बढ्दै गएपछि उनी दोषीलाई कारबाही सँगसँगै महिलाको आत्मबल बढाउने उपायमा लागिन्।

‘सुडानमा लिएको तालिम मैले पहिलोपटक भक्तपुरमा प्रयोग गरेँ,’ उनले भनिन्, ‘त्यहाँका महिला उद्यमी, कामकाजी, स्कुल–कलेजका विद्यार्थीलाई आई लाग्नेमाथि कसरी जाई लाग्ने भनी आत्मरक्षा र प्रत्याक्रमण गर्न सिकाएँ।’

‘हामी शनिबारका दिन यस्तो तालिम दिन्थ्यौं। निकै प्रभावकारी भयो। त्यही सम्झेर यहाँ पथलैयामा पनि निरन्तरता दिएकी हुँ,’ उनले भनिन्।
भक्तपुरको दाँजोमा मधेसका महिलाहरूलाई यस्तो तालिमको खाँचो अझ बढी भएको उनी बताउँछिन्।

उता, निर्मला पन्तको बलात्कार र हत्यापछि सुदूरपश्चिम क्षेत्रमा पनि यो अभियान सञ्चालन भइरहेको छ। कैलालीको धनगढीमा राष्ट्रिय गोजुरियो कराँते डो संघले गत शनिबारबाट ‘वुमेन सेल्फ डिसेन्फ क्याम्प’ सञ्चालन गरेको छ।

स्थानीय धनगढी रंगशालामा आयोजित साताव्यापी तालिममा १ हजार ७ सयभन्दा बढी महिला सहभागी छन्। उनीहरू कराँते गुरूसँग यौनहिंसाबाट बच्ने तालिम लिइरहेका छन्।

‘असुरक्षित परिस्थितिमा परेका महिलाले दुई–चार वटा उपाय मात्र अपनाउन सके घरेलु तथा यौनहिंसाबाट बच्न सक्छन्,’ संघका केन्द्रीय महासचिव प्रकाश चन्दले भने, ‘हामी उनीहरूलाई त्यही उपाय सिकाउने प्रयासमा छौं।’

‘हामीले जानेको मार्सलआर्ट महिलाहरूलाई सिकाएर उनीहरूको सुरक्षा हुन्छ भने त्योभन्दा ठूलो उपलब्धि के होला?’ उनले भने।

दुई महिनायता प्रदेश नम्बर ७ मै दर्जनभन्दा बढी महिला हिंसाका घटना भएका छन्। निर्मला पन्तको घटना भएको यहीँ हो। उनले अझै न्याय पाउन सकेकी छैन।

‘अरू कोही नानीले यस्तो स्थिति खेप्नु नपरोस् भनेर हामीले यो अभियान सुरु गरेका हौं,’ उनले भने, ‘यो एक किसिमले भन्दा हाम्रो तर्फबाट निर्मलाको न्यायका लागि उठाएको आवाज हो, जसमा १ हजार ७ सयभन्दा बढी महिलाहरूले साथ दिनुभएको छ।’

धनगढीमा आयोजित ‘वुमेन सेल्फ डिसेन्फ क्याम्प’ मा सहभागी किशोरी मुक्का प्रहार सिक्दै।

धनगढीमा तालिम दिइरहेको डो संघलाई प्रदेश र स्थानीय सरकारको सहयोग छ। कराँतेका ५० गुरूको समूह प्रशिक्षकका रूपमा आबद्ध छ। उनीहरूले स्कुले बालिका, नर्स तथा गैरसरकारी संस्था र बैंकका महिला कर्मचारीका साथै अन्य महिलालाई यो तालिम दिइरहेका छन्।

तालिममा सहभागी हुने महिला संख्या दैनिक एकदेखि डेढ सयका दरले बढिरहेको प्रकाश बताउँछन्।

‘हिजो–अस्तिसम्म यहाँ प्रायः विद्यार्थीको जाँच चलिरहेको थियो। सोमबारबाट सकिन्छ। त्यसपछि झनै चाप बढ्छ,’ उनले भने।

संघले यो तालिम निःशुल्क दिएको हो। सहभागीहरूलाई प्रोत्साहन गर्न प्रदेश र स्थानीय सरकारको सहयोगमा ‘टि–सर्ट’ उपलब्ध गराइएको छ। ‘टिसर्ट दिनुको उद्देश्य बढीभन्दा बढी महिला तालिममा आऊन् भनेर हो,’ उनले भने, ‘बुझेकाहरू त आफैं आइहाल्छन्, नबुझ्ने र कमजोर आर्थिक अवस्था भएकाहरू कम्तिमा टिसर्ट पाइन्छ भनेर पनि आउन सक्छन्।’

यहाँ महिलाहरूलाई आत्मरक्षा निम्ति शारीरिक र मानसिक तालिम दिइन्छ। हिंसासम्बन्धी कानुन र नीतिबारे जानकारी गराइन्छ। कसैले दुर्व्यवहार गरे सबभन्दा पहिला मानसिक रूपले बलियो भएर मुखले प्रतिकार गर्न लगाइन्छ। त्यसपछि प्रत्याक्रमण गर्न सिकाइन्छ। तत्कालको संकट टरेपछि दोषीलाई सजाय दिलाउन कानुनी उपचार खोज्ने बाटो देखाइन्छ।

‘हामी कराँते खेलाडी हौं। हामीले आफ्नो रक्षा गर्न सिकेका हुन्छौं। यही कुरा हामी हाम्रा दिदी–बहिनीलाई सिकाउन चाहन्छौं,’ उनले भने, ‘देशमा महिलाहरूले यति जटिल परिस्थिति सामना गरिरहनुभएको छ, उहाँहरूको आत्मरक्षा निम्ति हामी सहयोग गर्न खोजिरहेका छौं।’

उनका अनुसार यो आत्मरक्षाको प्रारम्भिक स्तरको तालिम हो। यसमा १२ वर्षमाथिका किशोरीहरू सहभागी छन्। यसबाट कम्तिमा महिलाहरूको आत्मबल बलियो हुने र कसैले हात लगाउन खोजे तत्काल प्रतिक्रिया जनाउन क्षमता विकास हुने उनी बताउँछन्।

संघले थालेको यो अभियानमा धनगढी उपमहानगरपालिका, ओरेक नेपाल, कमैया प्रथा उन्मूलन समाज, युवा शान्ति परिषद् र क्रियाशील महिला पत्रकारले पनि समन्वय गरेका छन्।

धनगढीमा सोचेभन्दा धेरै महिलाले तालिम लिने इच्छा देखाएपछि संघले यो अभियान देशभरि सञ्चालन गर्ने योजना बनाएको छ। हरेक प्रदेशमा गएर तालिम शिविर चलाउने उसको तयारी छ। दोस्रो चरणमा प्रदेश ५ मा तालिम दिनेबारे छलफल भइरहेको उनले जानकारी दिए।

संघको अर्को योजना पनि छ।

‘धनगढीमा तालिम लिएकाहरूबाट सय जना छनौट गरेर हामी उनीहरूलाई दोस्रो चरणको तालिम दिनेछौं,’ उनले भने, ‘ठूलो क्षेत्रमा तालिम दिन धेरै प्रशिक्षक आवश्यक पर्छ। यहाँ सिकेकाहरूलाई पनि प्रशिक्षकका रूपमा लिएर जाने हाम्रो उद्देश्य छ।’

‘सबभन्दा बृहत तालिम काठमाडौंको टुँडिखेलमा गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘त्यहाँ कम्तीमा दस हजार जना महिला सहभागी गराउने हाम्रो उद्देश्य छ।’

‘ती दस हजार जनाले आफ्नो गाउँ–टोलमा गएर सानो–सानो स्तरको तालिम दिए भने कति धेरै दिदीबहिनी यो अभियानमा सरिक हुनुहुन्छ, कल्पना गर्नुस् त,’ उनले भने।

धनगढीमा आयोजित ‘वुमेन सेल्फ डिसेन्फ क्याम्प’ मा किशोरी आत्मरक्षाका ‘मुभ्स’ सिक्दै।

पछिल्लो समय देशका विभिन्न सहरमा जसरी आत्मरक्षा तालिम सञ्चालन र सहभागिता बढ्दो छ, त्यसले पनि यो कार्यक्रमप्रति धेरैको अभिरुचि झल्काउँछ।

यही क्रममा असोज १२ र १३ गते झापाको बिर्तामोडमा १३ देखि २३ वर्ष उमेरका सय जनालाई यौनहिंसा र बलात्कारबाट बच्ने तालिम दिइयो। वीरता जेसिज, लेट्स रन नेपाल र सितेरियो कराँते–डो झापाको संयुक्त आयोजनामा पहिलो चरणको दुईदिने आत्मरक्षा तालिम सञ्चालन गरिएको हो।

महिला हिंसाबारे चेतना र आवश्यकता परे प्रतिकार गर्न सक्षम बनाउने उद्देश्यले तालिम दिइएको वीरता जेसिजका अध्यक्ष एकराज गिरीले बताए। यसमा कराँते प्रशिक्षक, कानुन विज्ञ, प्रहरी र जनप्रतिनिधिको पनि सहयोग छ।

पूर्वाञ्चल दैनिकका सम्पादकसमेत रहेका एकराजका अनुसार झापाको अर्जुनधारा नगरपालिकामै एक महिनाभित्र ५–७ वटा यस्ता हिंसाका घटना भएका छन्।

‘निर्मलाको घटनाले पनि हामीलाई झस्काएको छ। देशमा छोरीचेली असुरक्षित हुने क्रम बढेपछि हामीले आफ्नो तर्फबाट सहयोगको प्रयास गरेका हौं,’ उनले भने।

‘हामीले सिकाएका तरिका उहाँहरूले आफ्ना साथी र दिदीबहिनीलाई पनि सिकाउनुहुन्छ भन्ने आशा छ। उहाँहरूमध्ये धेरैले यसमा सहकार्य गर्ने बताउनुभएको छ,’ उनले आफ्नो अनुभव बाँडे।

नवलपरासीमा असोज पहिलो साता दिइएको आत्मरक्षा तालिमबाट प्रेरित भएर आफूहरूले पनि बिर्तामोडमा आयोजना गरेको उनले जानकारी दिए।

डडेल्धुरामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि केही महिनाअघि किशोरीहरूलाई आत्मरक्षासम्बन्धी तीनदिने आधारभूत तालिम दिएको थियो। अमरगढी नगरपालिकाका ९ र १० कक्षा पढ्ने ८० जना छात्रा तालिममा सहभागी थिए।

झापा, विर्तामोडमा आयोजित आत्मरक्षा कार्यक्रममा ‘किक’ हान्न सिक्दै-सिकाउँदै। 

डडेल्धुरामा मात्र अर्थिक वर्ष २०७४–७५ मा १ सय १२ वटा महिला हिंसाका घटना भएका छन्। यस्ता घटना निरुत्साहित गरी महिलाको आत्मबल बढाउन र खेलकुदप्रति अभिरुचि जगाउन तालिम आयोजना गरिएको आयोजकको भनाइ छ।

त्यस्तै, दोलखा स्थानीय प्रहरीले स्कुल, कलेजलगायत १३ स्थानमा अभियान सञ्चालन गरेको छ। अहिलेसम्म १२ वटा स्कुलमा तालिम दिइएको छ। जिरी नगरपालिका र तामाकोसी गाउँपालिकाका स्कुलबाट पनि माग आएको छ। प्रशिक्षक प्रहरी टोलीले दुर्गम बस्तीमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

यसबाहेक विभिन्न एनजिओ–आइएनजिओले पोखरा, धुलिखेल लगायत स्थानमा आत्मरक्षा तालिम दिँदै आएका छन्। काठमाडौंमा भने यसको सुरुआत धेरैअघि भइसकेको थियो।

ललितपुर, एकान्तकुनास्थित ‘शस्त्र सेक्युरिटी’ ले सन् २०१२ देखि नै यस्तो तालिम दिँदै आएको छ। कम्पनीले मार्सलआर्टको तकनिकी हेरेर बनाइएको ‘फाइट–ब्याक’ तालिममा आत्मरक्षाका बान्की सिकाउँछ। स्कुल, कलेज, बैंक लगायत ठाउँमा कम्पनीले यस्तो तालिम दिन्छ। दृष्टिविहीन महिलालाई आत्मरक्षा सिकाउन ‘विशेष प्याकेज’ बनाइएको कम्पनीका संस्थापक विक्रान्त पाण्डे बताउँछन्।

‘देशका कुनाकाप्चामा दिनहुँ महिला हिंसाका घटना भइरहेका छन्। यौन दुर्व्यवहार आफैंमा बलात्कारको रूप हो। चुप लागेर बस्दा बलात्कारीको मनोबल बढ्छ। यही चरणमा महिलालाई सुरक्षित हुन सिकाए यस्ता घटना कम गर्न सहयोग पुग्नेछ,’ उनले भने।

एसपी किरण बज्राचार्य यसमा सहमत छिन्।

यौनहिंसाका हरेक घटनामा प्रहरी पुग्न नसक्ने हुँदा आपतमा परेकी महिलाले एउटा मात्र चलाखी अपनाएर दुर्घटनाबाट जोगिए पनि ठूलो उपलब्धि हुने उनी बताउँछिन्।

‘चलाखी अपनाउन सबभन्दा पहिला आत्मबल हुनुपर्यो। त्यसपछि प्रत्याक्रमण गर्ने तरिका थाहा पाउनुपर्यो,’ उनले भनिन्, ‘फाइट–ब्याक तालिमले यही क्षमता विकास गर्छ। कोहीसँग लड्न-भिड्न होइन, आफ्नो सुरक्षानिम्ति कसैको जञ्जालबाट उम्किन सिकाउँछ।’

‘यो कुनै लहड होइन। समयको माग हो,’ एसपी किरणले भनिन्।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट