यौन दुर्व्यवहारविरुद्धको अन्तर्राष्ट्रिय अभियान ‘ह्यासट्याग मि टू’ : नेपालमा मन्त्रीदेखि पत्रकारसम्म घेरामा

 अनलाइनखबर पाटी     २५ आश्विन २०७५, बिहीबार

महिलामाथि हुने गरेको यौन दुर्व्यवहारविरुद्धको अन्तर्राष्ट्रिय अभियान ‘ह्यासट्याग मि टू’को प्रभाव नेपालमा देखिन थालेको छ।

सुरुवाती चरणमा महिलाहरुले सरकारका मन्त्री एवं पत्रकारले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्। मूलधारको पत्रकारितामा संलग्न महिला पत्रकारहरुले ट्विटरबाट शक्तिशाली व्यक्ति तथा पुरूष सहकर्मीहरुबाट भएका यौन दुर्यव्यवहारका घटनाहरु सार्वजनिक गरेका हुन्।

मध्यपूर्वको अन्तर्राष्ट्रिय टेलिभिजन न्युज च्यानल अल्जजिराका लागि नेपालस्थित संवाददाता सुबिना श्रेष्ठले दुई दशकअघिको एउटा घटना उल्लेख गर्दै आफूलाई तत्कालीन मन्त्रीले यौन दुर्व्यवहार गरेको सार्वजनिक गरेकी छिन्। सन् २००० तिर सार्वजनिक कार्यक्रममै तत्कालीन एक मन्त्रीले आफूमाथि यौन दुर्व्यवहार गरेको उनले लेखेकी छिन्। १८ वर्षअघिको सो घटनाबारे ट्विट गर्दै सुविनाले उपत्यकाकाे पर्यटकीय क्षेत्र नगरकोटमा सो घटना भएको बताएकी छिन्।

‘सहस्राब्दी, नगरकोट। म उद्घोषक थिएँ। त्यो साँझ तत्कालीन युवामन्त्रीले आफ्नो हात मेरो तीघ्रामा राख्न खोजे। त्यो यौन दुर्व्यवहार थियो। मैले उनको हात पन्छाएँ। मेरा बरिष्ठ सहकर्मीहरु त्यहाँ थिएँ तर उनीहरुले यो विषयमा केही बोलेनन्। त्यो पनि उनीहरुको सहअपराध नै हो’, सुबिनाले ट्विटरमा लेखेकी छिन्।

Millennium, Nagarkot. I was an MC. The youth minister then tried to put his hand on my thigh that evening. That’s called #sexual harassment. I put it away. Many senior colleagues were there, Not one word from them spoke. That’s called complicity. #MeToo.

— Subina Shrestha (@ShresthaSubina) October 10, 2018

सुबिनाले अर्की एक महिलामाथि भएको दुर्व्यवहारविरुद्ध बोल्दा आफूलाई स्तब्ध पार्नेगरी दुर्व्यवहार भएको उल्लेख गरेकी छिन्। ट्विट गर्दै उनले भनेकी छिन्, ‘अर्की एक महिलामाथि दुर्व्यवहार हुँदा मैले बिरोध गर्दा त्यो व्यक्तिको दुस्साहासले मलाई स्तब्ध पारेको थियो। यो घटना मिडियामा व्यापक रुपमा आएको थियो। मेरा सहकर्मीहरुको सहअपराधले मलाई डर लागेकाे थियो। म बोल्ड हुनसक्छु तर त्यतिबेला पनि यो हाम्रो लज्जाको विषय हो भन्ने ठानिन्थ्यो।’

ट्विटरमा धेरैले उनलाई त्यो व्यक्ति को हो भनेर प्रश्न गरेका छन्। तर उनले सो व्यक्तिको नाम सार्वजनिक गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न महिलालाई समयमा दिनुपर्ने उल्लेख गरेकी छिन्।

यसैगरी पूर्व पत्रकार मीना कैनीले पनि कार्य क्षेत्रमा सहकर्मीबाट यौन दुर्व्यवहार झेल्नु परेको भन्दै ट्विट गरेकी छिन्। कुनै समय नेपालका ठूला मिडिया हाउसमा काम गरेकी उनले एक सिनियर सहकर्मीले आफूलाई उनकै कारमा चुम्बन गर्न खोजेको घटना सार्वजनिक गरेकी छिन्।

I know women in #Nepal have faced worse, here’s what I’ve been through. #MeToo 
– caressed by a pervert in a public bus 
– a senior journalist trying to kiss me in his car 
– a man, I thought, was my mentor coming to my hotel room and refusing to leave 
– numerous men flashing

— meena kaini (@MeenaKaini) October 10, 2018

आफूले गुरु मान्ने गरेका एक पुरुष आफ्नो होटल कोठामा आएर जानै नमानेको उनको भनाइ छ। उनले पनि ती व्यक्ति को थिए भन्ने उल्लेख गरेकी छैनन्।

मीनाले मिडिया हाउसमा महिलाकाे नेतृत्वमा एन्टि ह्यारेसमेन्ट विभाग निर्माण गरेर यसलार्इ राेक्न सल्लाह दिएकी छिन्। ‘यदि नेपालका मिडिया हाउस महिला पत्रकारलार्इ सहयाेग गर्न साँच्चै गम्भीर छन् भने उनीहरूले महिला नेतृत्वमा एन्टी ह्यारेसमेन्ट विभाग निर्माण गर्नुपर्छ’, अाफूले कुनै बेला काम गरेकाे कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिराेहियालार्इ मेन्सन गर्दै उनले लेखेकी छिन्।

If media houses in #Nepal are serious abt helping women remain journalists, start by creating stringent anti-harassment regulations n implement them. Better still, create a department for it and let a woman lead it. Looking at you #Kantipur@KailashSirohiya

— meena kaini (@MeenaKaini) October 7, 2018

महिलामाथि हुने गरेको यौन दुव्र्यवहारविरुद्ध आवाज उठाउने अभियान ह्यासट्याग मि टू नेपालमा पनि शुरु भएको हो। यो अभियानमा सरिक भएर महिलाहरुले शक्तिमा बसेकाहरुले विगतमा गरेको यौन दुर्व्यवहारका घटना सार्वजनिक गरिरहेका छन्। केही अन्यले पनि आफूसँग भएका घटनाबारे ट्विटरमा लेखेका छन्। तर अहिलेसम्म उनीहरुले यौन दुव्र्यवहार गर्ने व्यक्ति को थिए भन्ने नाम सार्वजनिक गरेका छैनन्।

पछिल्लो समयमा भारतमा मि टू अभियानले तीब्रता पाइरहेको छ। बलिउडकी अभिनेतृ तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि मि टू अभियान चर्किएको हो। एक महिला सहकर्मीले यौन दुव्र्यवहार गरेको सार्वजनिक गरेसँगै हिन्दुस्तान टाइम्सले राजनीतिक ब्युरो प्रमुख रहेको प्रशान्त झालाई पदबाट हटाएको छ।

एक जना पूर्व सम्पादक एवं हाल विदेश राज्यमन्त्री रहेका एमजे अबकरविरुद्ध करिब तीन दशकअघि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उनको दल भारतीय जनता पार्टीले नाइजेरियामा भ्रमणमा रहेका उनी फर्किएपछि राजिनामा दिन निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट