एलियन सिद्धान्तः कसरी मेस्सी वर्षैपिच्छे परिवर्तन भए?

 अनलाइनखबर पाटी     १ मंसिर २०७५, शनिबार

विश्व स्टार लियोनल मेस्सीले बार्सिलोनामा डेब्यू गरेको १५ वर्ष बितिसक्यो। उनी अझै बलियो र उत्कृष्ट हुँदै गइरहेका छन्। उनी यति बलियो भएका छन्, उनी उत्कृष्टहरुको पनि उत्कृष्ट भन्ने धारणा नै बनेको छ।

सन् २००३ मा पोर्टोविरुद्धको मैत्रीपूर्ण खेलमा जब उनले घरेलु मैदान क्याम्प नाउँमा पाइला टेके त्यसपछि फुटबल पहिले जस्तो रहेन। उनले क्लब तथा आफ्ना लागि दर्जनौं उपाधि हासिल गरिसकेका छन्।

बार्सिलोनाका सर्वाधिक गोलकर्ता मेस्सीले क्लबका लागि ५ सय ६६ गोल गरेका छन्। उनी घरेलु लिग ला लिगाका साथै देश अर्जेन्टिनाका समेत सर्वाधिक गोलकर्ता हुन्।

ला लिगामा उनको कीर्तिमानी ३ सय ९२ गोल छ भने अर्जेन्टिनाका लागि ६५ गोल गरेका छन्। ५ पटकका बालुन डि’ओर अवार्ड विजेता मेस्सीले बार्सिलोनाबाट ३३ उपाधि हात पारेका छन्।

अहिले ३१ वर्ष पुगेका मेस्सी आफ्नो प्रदर्शनमा कमी ल्याउने संकेत नै दिदैनन्। यस सिजन सबै प्रतियोगितामा उनले १४ गोल गरिसकेका छन्। गत सिजन ला लिगामा सर्वाधिक गोलकर्ता बनेका मेस्सीले यसैहप्ता पीचीची अवार्ड प्राप्त गरेका थिए।

कुइनामा समस्या देखिएका मेस्सीले ३ हप्ता आराम लिएका थिए। यद्यपी मेस्सी ला लिगामा ७ गोलसहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमै छन्।

मेस्सीको जादुमयी प्रदर्शनको कारण के?

स्पेनिस फुटबल लेखक एण्डी वेस्ट र गुलेम बलागले अर्जेन्टिनी मेस्सीबारे एक पुस्तक लेखेका छन्। वेस्ट भन्छन्,‘मेस्सी ‘एलियन’ अर्थात उत्कृष्टहरको पनि उत्कृष्ट हुनुको एक सिद्धान्त नै छ। त्यस सिद्धान्तका एक प्रवद्र्धक हुन् डिफेन्डर जिरार्ड पिके।’

बलाग थप्छन्,‘एलियन सिद्धान्तमा मैले मेस्सीका बारेमा थाहा पाउनुपर्ने ११ पक्ष लेखेको छु। मेस्सीसँग भएको गुण एलियन अर्थात अलौकिक क्षमता भएका मानिसमा मात्र हुन्छ।’

उनी भन्छन्,‘एक उत्कृष्ट खेलाडी हुनका लागि फुटबलको परिवेश बुझ्ने सही परिवार, प्रेरणा, महत्वाकांक्षा, निरन्तर प्रयास, प्रतिवद्धता, त्याग, आत्मबल, नेतृत्वदायी क्षमता, भावनात्मक चातुर्यताजस्ता गुण र तत्व चाहिन्छ।

यी सबै कुराहरु मिसाउँदा ‘मेस्सी’ भेटिन्छ। मेस्सी पहाडबाट चट्टान खसेजस्तै हुन्। उनी रोकिदैनन्। उनलाई रोक्न आउनेहरु सबै ध्वस्त हुन्छन्।’

 

सबै परिस्थितिमा तयार मेस्सी

बार्सिलोना इतिहासदेखि नै एक उत्तम क्लब मानिन्छ। झनै उत्कृष्ट खेलाडी मेस्सीको आगमनले बार्साको इतिहासनै परिवर्तन भयो। मेस्सीले क्याम्प नाउँमा ६ प्रशिक्षकको प्रशिक्षणमा खेलिसकेका छन्।

आन्द्रे इनियस्टाको बहिर्गमनसँगै यसै सिजनबाट उनले बार्साको कप्तानी सम्हाली रहेका छन्। वेस्ट भन्छन्,‘मेस्सी नयाँ परिवेश, नयाँ प्रशिक्षक, नयाँ टोली, नयाँ खेल स्थानबाट खेल्न सँधै खुला भए। मलाई लाग्छ मेस्सीलाई विकास गर्न यो महत्वपूर्ण पाटो बन्यो।’ मेस्सीले सन् २०१२ को सिजनमा विभिन्न प्रतियोगितामा ९१ गोल गर्दै इतिहास रचेका थिए।

वेस्टले भने,‘प्रत्येक २ र ३ वर्षको अन्तरालमा मेस्सीले नयाँ प्रशिक्षक र खेलाडीसँग नयाँ भूमिका निर्वाह गर्दछन्। पहिले उनी ड्रिबलर थिए, उनी अन्य खेलाडीका कार्यहरु पनि गर्थे। एकै खेलाडीले ३ भन्दाबढी खेलाडीलाई मात खुवाउने कला मेस्सीमा मात्र छ। सन् २००७ मा सेन्टरबाट सबै डिफेन्डरलाई छलाएर हानेको उनको गोल सम्झना लाएक छ। उनी प्रत्येक खेलमा त्यस्ता मुभ निकाल्छन्। उनी अहिले पनि ड्रिबल गर्छन् तर उनीसँग उत्कृष्ट पासगर्ने क्षमता छ।’

उनी अझै बलियो बनिरहेको र जादुमयी प्रदर्शनलाई निरन्तरता दिइरहने वेस्टको विश्वास छ।

मेस्सी प्रशिक्षकजस्तै

बार्सिलोनामा मेस्सीको क्षमताको बारेमा सँधै चर्चा हुने गर्दछ। प्रशिक्षक अर्नेष्टो भेलभार्दे कहिलेकाही कप्तान मेस्सी आफूभन्दा जान्ने प्रशिक्षक भएको स्वीकार गर्दछन्।

बलाग भन्छन्,‘यतिबेला मेस्सी बार्सिलोनामा निम्तने समस्याका समाधान हुन्। भेलभार्देले भनेका छन् कि, ‘मेस्सीले सँधै बेन्चमा खेल्ने तरिकाबारे सुझाव दिन्छन्।’

 

मेस्सी र भविष्य

मेस्सी अहिले राष्ट्रको दायित्वबाट टाढा छन्। यसै वर्षको विश्वकपमा पराजित भएसँगै उनी आराममा बसेका हुन्। देशबाट १ सय २८ खेल खेलिसकेका उनले राष्ट्रका लागि कुनै अन्तर्राष्ट्रिय उपाधि जिताउन सकेका छैनन्।

सन् २०१४ को विश्वकप फुटबलसहित उनले चार महत्वपूर्ण फाइनलमा देशलाई पुर्याएका छन्। यद्यपी उपाधि चुम्नबाट वञ्चित छन्। बार्सिलोनामा सन् २०२१ सम्मका लागि सम्झौता गरेका मेस्सी आफ्नो बाल्यकालको फुटबल क्लब न्यूवेल्स ओल्ड ब्वाइजबाट खेल्न चाहन्छन्।

यद्यपी उनले बार्सा छाडेर आफूले कही नजाने बताइसकेका छन्। वेस्ट भन्छन्,‘मेस्सीको भविष्यबारे भविष्यवानी गर्नु मूर्खता हो।’ यदि आउसमान डेम्बेले बार्सिलोनाको प्रभावशाली खेलाडी बने मेस्सीले आफ्नो स्थान परिवर्तन गरेर खेल्ने समेत वेस्टले अनुमान लगाएका छन्।  बीबीसी

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट