चार शीर्ष नेताको ‘एक्सन’ पछि नेकपाको बैठकस्थल परिवर्तन

 अनलाइनखबर पाटी     २८ मंसिर २०७५, शुक्रबार

शनिबार (२९ मंसिर) का लागि तय भएको नेकपा स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा होइन, धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार, स्थायी समितिको बैठक शनिबार दिउसो १ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

यसअघि पार्टीका सबै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै आएका थिए। स्थायी समिति, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक समेत बालुवाटारमा नै हुँदै आएको थियो।

भोलि हुने स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा हुनुमा २२ मंसिरको बैठक चार शीर्ष नेताहरुले गरेको बहिस्कारले मुख्य भूमिका खेलेको छ।

त्यस दिन अपरान्ह ३ बजे बोलाइएपछि निर्धारित समयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) नआएपछि चार नेताले बहिस्कार गरेका थिए।

बहिस्कार गर्ने नेताहरु थिए– माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ।

उनीहरुको बहिस्कारपछि बसेको बैठकले २९ मंसिरका लागि स्थायी समितिको बैठक तय गरेको थियो।

बहिस्कार गरेका नेताहरुले पार्टी बैठक नियमित रुपमा आयोजना हुनुपर्ने, निर्धारित समयमा बैठक सुरु गर्नुपर्ने र पार्टी केन्द्रीय कार्यालयमा नै बैठक आयोजना हुनुपर्ने उनीहरुको माग थियो।

उनीहरुको मागको सुनवाई गर्दै अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी केन्द्रीय कार्यालयमा नै बैठक आयोजना गरेका हुन्।

शनिबार १ बजेभित्र बैठकका लागि अनिवार्य उपस्थित हुन स्थायी समिति सदस्यहरुलाई केन्द्रीय कार्यालयको तर्फबाट भनिएको छ।

स्रोतका अनुसार, तर, बैठकका एजेण्डा चाहिँ तय गरिएको छैन।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट