काठमाण्डौको चर्चित क्लब डेजाभूका तीन सञ्चालक पक्राउ

 अनलाइनखबर पाटी     १० फाल्गुन २०७५, शुक्रबार

भूमिगत लगानीको दरबारमार्गस्थित क्लब डेजाभूका तीन सञ्चालकलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।

डेजाभू लाउन्ज प्रालिका अध्यक्ष प्रवेश श्रेष्ठ तथा सञ्चालकहरु प्रतीक श्रेष्ठ एवं समिप शिलाकारलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो।

स्रोत नखुलेको रकम लगानी भएको सो कम्पनीका सञ्चालकहरुलाई बिहीबार साँझ पक्राउ गरिएको हो। डेढ करोड ठगीको उजुरी प्रहरीमा परेपछि अनुसन्धानका लागि सञ्चालकहरु नियन्त्रणमा लिएको परिसरका निमित्त प्रमुख एसपी अशोक सिंहले नेपालखबरलाई बताए।

क्लबसँगै सम्बद्ध विश्वराम श्रेष्ठले एक करोड ५० लाख रुपैयाँ ठगी गरेको जोही दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले सञ्चालकहरु नियन्त्रणमा लिइ छानबिन सुरू गरेको हो।

प्रहरीले यसअघि अर्का सञ्चालक मनोज श्रेष्ठबिरुद्ध बैंकिङ कसुरमा कारवाही अघि बढाएको थियो। सो कारवाही पनि विश्वरामकै जाहेरीमा अघि बढेको थियो। त्यतीबेला मनोजले दिएका २ करोड रुपैयाँ बराबरका नबिल बैंकका दुईथान चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो।

विश्वले त्यही बेला समिप शिलाकार र अनान गुरुङबिरुद्ध पनि जाहेरी दिएका थिए। तर उनीहरुविरुद्ध कारवाही अघि बढाइएको थिएन। प्रहरीले नेकपाका नेता र गृहमन्त्रालयको दबाबमा यी दुईको पक्राउ पूर्जी रद्द गर्दै मनोजविरुद्ध मात्र कारवाही अघि बढाएको थियो।

प्रहरीले मनोजबिरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिसकेको छ। डेजाभू क्लबका तत्कालीन अध्यष मनोज हाल हङकङमा छन्। इन्टरपोलको काठमाडौं एनसिबीले हङकङमा लुकिछिपी बसेको आशंका गरिएका उनीविरुद्ध १४ माघ २०७५ (२८ जनवरी २०१९) डिफिय्जन जारी गरेको थियो। यो नोटिस जारी भएका ब्यक्तिबिरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले निगरानी राख्नुका साथै नियन्त्रणमा लिन सक्नेछ।

परिसरमा रहेको मिसिल अनुसार २०७५ बैशाख ७ मा मनोज श्रेष्ठले आफुसँग रहेको ६ हजार थान शेयरमध्ये ४ हजार थान शेयर दोलखा स्थायी ठेगाना भएका विश्वराम श्रेष्ठलाई बिक्री गरेका थिए। कपाली तमसुकमा पर्वतका युवराज सापकोटा र गोरखाका पदमबहादुर श्रेष्ठ साक्षी बसेका छन्।

२०७३ कात्तिक १२ मा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको डेजाभूमा गंगाबहादुर पुरी, अनान गुरुङ, पृथु बाँस्कोटा, प्रवेश श्रेष्ठ, मयंक खड्का र मिलोन श्रेष्ठ शेयरधनीको रुपमा देखिन्छन्।

डेजाभूसम्बन्धी थप रिपोर्ट:

१. दरबारमार्गको क्लब डेजाभूमा ‘अन्डरग्राउन्ड’ लगानी

२. डेजाभू क्लबको मुद्दा इन्टरपोलमा

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट