कक्षा २ मा पढ्ने बालकको यसरी लेखे सुसाइड नोट – कोपुको कारणले मरेको !

 अनलाइनखबर पाटी     १० फाल्गुन २०७५, शुक्रबार

नाम: समुन्द्र मल्ल
कक्षा: २
उमेर: १२
स्थानः बुढानीलकण्ठ, भंगाल

गत मंगलबार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई त्रिवि शिक्षण अस्पतालबाट एउटा बालकले ‘आत्महत्या’ को सूचना आयो । घटना भने भंगालको थियो ।

एकातिर अस्पताल ल्याएपछि आएको सूचना, अर्कोतिर कक्षा २ का बालक । प्रहरी सशंकित बन्यो, ‘कतै हत्या त होइन ?’

होस्टलको बेडमा झुण्डिएको प्रारम्भिक सूचना आएको थियो । बालकको घटना भएकाले यो विषय संवदेनशील पनि थियो । प्रहरीको एउटा टोली घटनास्थलतर्फ लाग्यो ।

हात्तीगौंडा छेउको मनकुमार मार्गबाट करिब ५ मिनेट अगाडि बढेपछि सुन्दरवस्तीमा डीआर मेमोरियल स्कुल लेखिएको बोर्ड देखिन्छ । स्कुलसँगै जोडिएको छ– दलित महिला उत्थान बाल शिक्षालय ।

शिक्षालयको भुईँतलमा रहेको छात्राबास तीन तले बेडले भरिएको थियो । काठको दराज छेवैमा रहेको बेडको तेस्रो तलामा बालक पासो लागेको प्रहरीले जानकारी पायो ।

बच्चालाई अस्पताल पुर्‍याइसकिएकाले प्रहरीले प्रारम्भिक घटनास्थल देख्न पाएन । कोठाको खनतलासी गर्दा सिरानीमुनी कागजको सानो चिर्कटो फेला पर्‍यो, जसमा लेखिएको थियो, ‘म कोपुको कारणले मरेको ।’

* सम्बन्धित बालिकामा असर नपरोस् भनेर सुसाइड नोटमा भएको नामको सट्टा ‘कोपु’ काल्पनिक नाम दिइएको छ*

किशोर किशोरी वा युवायुवतीले प्रेम प्रकरणमा आत्महत्या गरेको घट्ना नौलो होइन । तर, कक्षा दुईको बालकको चिटले प्रहरीलाई चकित बनाइदियो ।

अब त्यो चिट मृतकले नै लेखेको हो, होइन पत्ता पाउनुपर्ने भयो । प्रहरी टोलीले समुन्द्र मल्लका कापीहरु निकालेर अक्षर नियाल्यो र तस्वीर लियो ।

चिट र पुरानो कपीका अक्षर परीक्षणका लागि प्रहरीकै केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाउँदा प्रारम्भिक जाँचमा अक्षर मिलेको देखिन्छ । यद्यपि,  रिपोर्ट आउन बाँकी छ ।

अक्षरको कुरापछि चिट्मा लेखिएको कोपु को हुन् ? पत्ता लगाउनुपर्ने भयो । अनुसन्धानको क्रममा खुल्यो– कोपु (१४) त्यही विद्यालयको माथिल्लो कक्षाकी रहिछन् ।

अनुसन्धान टोलीले बालिकालाई भेट्दा झन् आश्चर्यजनक कुरा आयो । समुन्द्रले गत तिहारमा कोपुको हातबाट भाइटीका लगाएका रहेछन् । अर्थात्, उनीहरु दिदीभाइको सम्बन्धमा थिए ।

त्यसपछि समुन्द्रका अरु साथीहरुको बयान लिने क्रममा खुल्यो– तीन दिनअघि उनले कोपुलाई सोधेका थिए, ‘तँ.. मलाई माया गर्छेस् नि होइन ?’ कोपुले जिस्किँदै भनिछन्, ‘तेरो बेहोरै छैन, के माया गर्नू ।’

कोपु अरु किशोरहरुसँग बोलेको देख्दा समुन्द्र रिसाउने गरेको कुरा पनि आयो । उनी कक्षाको ‘भाइस क्याप्टेन’ भएकाले सबैसँग घुलमिल हुनु पर्थ्याे। अरुसँगै बोल्दा रिसाउने गरेपछि आफूले समुन्द्रलाई हकार्ने गरेको बालिकाले प्रहरीलाई बताइन् ।

प्रहरीले अनुसन्धानका क्रममा कोपुलाई एक दिन नियन्त्रणमा पनि लिएको थियो । महाराजगञ्ज प्रहरी प्रमुख डीएसपी फडिन्द्र प्रसाईले अनुसन्धान अझै नसकिएको बताए ।

‘सुसाइड नोट’ र कोपुको विषयपछि समुन्द्र झुण्डिएको सलको रहस्य बाँकी रह्यो । छात्रहरुको कोठामा सल कसरी पुग्यो भन्ने कोपुबाटै खुल्यो । गत मंसिरमा समुन्द्रले निकै जाडो भएको भनेपछि उनैले सल दिएकी रहिछन् ।

संस्थाकी सञ्चालक राजन बिकका अनुसार, मंगलबार बिहान समुन्द्र शिक्षालय अगाडि घुमिरहेका थिए । उनले भनिन्, ‘मैले अनुहार पनि मलिन छ, के भयो भनेर सोध्दा ऊ के भ’को छ र भन्दै झर्कियो ।’

शिक्षालयकै भवनमा विद्यालय भएपनि १० वर्षका लागि भाडामा लिएर सञ्चालित डीआर मेमोरियल स्कुलका १५० बालबालिकामध्ये १७ जनाले निःशुल्क पढिरहेका थिए । मंगलबार विद्यार्थीहरु स्कुल प्रवेश गर्दैगर्दा समुन्द्रले एक्कासी गेट बन्द गरिदिएको बिकले सम्झिन् ।

‘त्यसवेला यस्तो होला भनेर कहाँ सोचियो र !’, सञ्चालक बिक भन्छिन्, ‘अनुहार कालोनिलो बनाएको थियो, मैलै कराएपछि त्यहाँबाट निस्कियो ।’

समुन्द्रका साथीहरुका अनुसार त्यसदिन उनको व्यवहार सधैँको जस्तो थिएन । त्यही दिन सवा दुई बजेतिर छैठौं पिरियडमा शिक्षिका मेनुका काफ्ले कक्षा २ मा पस्दा सबैले उठेर भने, ‘गुड आफ्टरनून म्याम्… ।’ तर, समुन्द्र डेक्समा घोप्टिरहे । ‘मैले उठाएर के भयो भनेर सोध्दा टाउको दुख्यो भन्यो’, काफ्ले भन्छिन्, ‘अनि, मैले आराम गर्न होस्टलमा पठाएँ ।’

सदा झैं अपरान्ह ०३ः४० मा स्कुल छुट्टी भयो । त्यसपछि १० मिनेट डायरी चेक र एसेम्ब्ली हुन्छ । त्यो सकेर दौडिँदै होस्टल पुगेका कक्षा ७ का निशान चौधरीले किताबको झोला टेबलमा राख्नासाथ तुन्दुङ् झुण्डिएका समुन्द्रलाई देखे, अनि होहल्ला भयो ।

त्यतिञ्जेलसम्म बच्चा चिसो भइसकेको भएपनि केही भइहाल्छ कि भनेर तुरुन्तै अस्पताल लगेको संस्थाकी सञ्चालक समिति सदस्य गंगा विकले अनलाइनखबरसँग बताइन् ।

त्यतिवेलै प्रहरी कन्ट्रोल १०० मा फोन गर्दा अस्पताल लैजाने सल्लाह पाएको उनको दाबी छ ।

मुगुको सोरु गाउँपालिका– २ घर भएका समुन्द्रलाई २०६९ सालमा उनको मामा ऐनबहादुर शाही र दाजु सागर मल्लले शिक्षालय ल्याएका थिए । सञ्चालक राजन बिकका अनुसार शिक्षालयमा पहिले द्वन्द्वपीडित बालबालिका राख्ने गरिएकोमा अहिले असहायहरुलाई पनि राख्ने गरिएको छ ।

तर, समुन्द्रका बुबाआमा रहेको होस्टलमा राखेपछि मात्र थाहा पाएको उनले बताइन् । उनका अनुसार समुन्द्रका बुबा श्यामबहादुर मल्ल हाल भारत र प्यारालाइसीस भएकी आमा भावना घरमै छिन् ।

विद्यालयका प्रिन्सिपल राजकुमार गिरीका अनुसार, समुन्द्रको पढाइ सामान्य थियो । उनले भने, ‘उसको रुचि अतिरिक्त क्रियाकलापमा थियो ।’

तर, महिना दिनयता समुन्द्रको व्यवहार परिवर्तन भएको गिरीले बताए ।

पारिवारिक समस्या र फिल्मको प्रभावः मनोविज्ञ

मनोविज्ञ गोपाल ढकाल आत्महत्या अब उमेर पुगेकाहरुको मात्र समस्या नरहेको बताउँछन् । पारिवारिक समस्या र फिल्मको प्रभावले बालबालिकामा पनि आत्माहत्याको ‘ट्रेन्ड’ देखिएको उनले बताए ।

उनका अनुसार बालबालिकाले वयस्कबाट माया खोजिरहेका हुन्छन् । त्यस्तो वेलामा विश्वास गरेका व्यक्तिको सानो कुराले पनि उनीहरुको मानसपटलमा आघात पुर्‍याउँछ । उनले भने, ‘त्यसैले बालबालिकाको आत्महत्या आवेगात्मक हुन्छ ।’

उनका अनुसार बालबालिका र वयस्कले गर्ने मायामा फरक हुन्छ । ‘विहे वा यौन चाहनाका लागि होइन, दिदीभाइकै रुपमा पनि प्रगाढ माया चाहेको हुनसक्छ, माया गरेन भनेर निराश भएको हुनसक्छ’, ढकाल भन्छन्, ‘बुबाआमाको माया नपाएका वेला जसलाई उसले विश्वास गरेको थियो, उसले पनि माया गर्दैन भन्ने परेर डिप्रेसनमा गएको पनि हुनसक्छ ।’

कतिपय अवस्थामा मोबाइल/कम्प्यूटर गेम र फिल्मका दृश्यहरुले पनि बालबालिकालाई आत्महत्या गर्न प्रेरित गर्ने उनी बताउँछन् । आत्महत्या गर्न बालबालिकालाई प्रेरित गरेकै कारण ‘ब्लू ह्वेल’ नामक कम्प्युटर गेमलाई प्रतिबन्ध लगाइएको थियो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदी बालबालिकाले आत्महत्या गरेको घटना वेलावेला सार्वजनिक हुने गरेको बताउँछन् । उनले भने, ‘कतिमा पारिवारिक समस्या र कतिमा सामान्य कुराबाट सिर्जित आवेगमा आत्महत्या गर्ने गरेको देखिएको छ ।’

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट