विप्लवको घरमा छापा, गोली हानी एक पक्राउ – दुई थान एसएमजी राइफल, पेस्तोल र २ सय राउन्ड गोली बरामद

 अनलाइनखबर पाटी     २३ फाल्गुन २०७५, बिहीबार

प्रहरीको एउटा युनिट बुधबार मध्यराति जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट बाहिर निस्कियो।

भारतसँग सीमा जोडिएको यो जिल्लामा राति प्रहरी परिचालन हुनु सामान्य हो। तर बुधबार रातिको अप्रेसन भिन्न थियो। अप्रेसनबारे धेरै जानकारी गोप्य राखिएका थिए।

प्रहरी उपरीक्षक अच्युतप्रसाद पुडासैनीसहित केही सीमित प्रहरी अधिकृत बाहेक अन्यलाई गन्तब्य र कारवाहीको जानकारी थिएन।

प्रहरी प्रधान कार्यालय कार्य विभाग र प्रदेश ५ प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारी केही दिनयता यही ‘अप्रेशन’को योजनामा थिए। प्रदेश प्रहरीको दंगा गण र सशस्त्र प्रहरीमा माथिल्लो तहका अधिकारीलाई सूचना दिइएको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोली राति करिब ११ बजे चन्द्रौटा पुगेपछि त्यहाँ रहेको सशस्त्र प्रहरी समेत थपियो। बिहान ३ बजे कपिलवस्तुको शिवगढी क्षेत्रमा एक साथ एक सय ५० प्रहरी र सशस्त्र प्रहरीले सर्च अप्रेशन थाल्यो।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको घर रहेको सो क्षेत्र केन्द्रीय तहका नेता भारत आउँजाउ गर्दा बस्ने र लुक्ने (हाइड आउट) समेत हो। महासचिव चन्द समेत कहिले कहीँ आएर बस्ने यो ठाउँमा शान्ति प्रक्रियापछि पहिलो पटक प्रहरी पुगेको हो।

प्रहरी र सशस्त्रको संयुक्त सुरक्षा टोलीले बिहान ३ बजेदेखि कपिलवस्तु, शिवराज नगरपालिका–९ स्थित चन्दसहितका दर्जनौं घरमा खानतलासी गरेको छ।

चन्दको घरबाट एसएमजी दुई थान, चाइनिज पेस्तोल एक थान, दुई सय राउन्ड गोलीसहित बम बनाउने विस्फोटक पदार्थ बरामद गरेको कपिलवस्तु प्रहरी प्रमुख एसपी अच्युतराज पुडासैनीले जानकारी दिए। विस्फोटमा प्रयोग हुने रिमोट लगायतका सामाग्री समेत प्रहरीले बरामद गरेको छ।

हतियार बरामद गरेपछि नियन्त्रणमा लिन खोज्दा नेकपाका एक कार्यकर्ता दुर्गबहादुर रोका भागेका थिए। प्रहरीले उनलाई घुँडामा गोली हानेर नियन्त्रणमा लिएको छ। ‘केही गतिविधि भइरहेको भन्ने सूचना थियो,’ अप्रेशनको नेतृत्व गरेका एसपी अच्युतप्रसाद पुडासैनीले नेपालखबरसँग भने ‘प्रहरीलाई झुक्याएर भागेपछि गोली हानेर नियन्त्रणमा लिएका हौं।’

प्रदेश ५ डिआईजी पिताम्बर अधिकारीका अनुसार सो क्षेत्रमा हातहतियार र विस्फोटक पदार्थ भण्डारण रहेको सूचनाका आधारमा कारवाही गरिएको हो। ‘प्राप्त सूचनाका आधारमा छापा मार्ने काम भएको हो’, डिआईजी अधिकारीले नेपालखबरसँग भने, ‘भाग्न खोज्दा एक जनालाई गोली लागेको छ। घाइते उनको स्थिति खतरामुक्त छ। उपचार भइरहेको छ।’

चन्द नेतृत्वको पार्टीले हिंसात्मक गतिविधिलाई तीब्रता दिएपछि प्रहरीले पक्राउ अभियान सञ्चालन गरेको हो। प्रहरीका सातवटै प्रदेश मुख्यालयको नेतृत्वमा हातहतियार तथा बिस्फोट पर्दाथ बरामद र गतिविधि नियन्त्रणका लागि सर्च अप्रेशन गरिरहेको छ।

‘अत्याधुनिक हतियार र बिस्फोटक पर्दाथ फेला परेको छ। प्रचलित कानूनबिरुद्धका गतिविधी रोक्ने जिम्मेबारी अनुसार कारवाही भएको हो’, डिआईजी अधिकारीले भने।

फागुन १० गते ललितपुरको नख्खुमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लक्षित गरी चन्द कार्यकर्ताले राखेको बम विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो। दुई घाइते भएका थिए। घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल एवं गृहमन्त्री रामबहादुर थापा सो समूहप्रति सुरक्षा कारवाहीको निष्कर्षमा पुगेका हुन्।

यसअघि प्रदेश १ प्रहरीले १५ फागुन २०७५ मा एक–एक थान एलएमजी र एम–१६ राईफल सहित देवकुमार लिम्बुलाई पक्राउ गरेको थियो। नख्खु बम बिस्फोटका मुख्य योजनाकार सूर्य भुजेल पक्राउ गरेको थियो। माओवादी सशस्त्र द्वन्द्वको एउटा समूह वैधानिक राजनीतिप्रति अरुचि देखाउँदै हिंसामा उत्रिएपछि त्यसप्रति सरकार कठोर देखिएको हो। उनीहरुका नेता, कार्यकर्ता पक्राउलाई तीब्रता दिन सरकारले प्रहरीलाई निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट