मोजाम्बिकमा सामुन्द्रिक आँधीको वितण्डा, नेपाली भन्छन्ः हामी सुरक्षित छौँ

 अनलाइनखबर पाटी     ६ चैत्र २०७५, बुधबार

इडाई नामका समुद्री आँधीले विध्वसं मच्चाएको अफ्रिकी मुलुक मोजाम्बिकमा रहेका नेपालीहरुले सुरक्षित रहेको बताएका छन्।

बिहीबार आएको समुद्री आँधीको कारण अफ्रिकाका दक्षिणी क्षेत्रमा रहेको तीन देश मोजाम्बिक, जिम्बाबे, मवालीमा सयौँका मृत्यु भएको अनुमान गरिएको छ।

समुद्री आँधीको कारण सबैभन्दा बढी मोजाम्बिको तटीया क्षेत्रमा रहेको बेरा शहर प्रभावित भएको छ । ‘सो शहरमा ५०–६० जना नेपालीहरु बस्दै आउनु भएको छ। उहाँहरुले नेपाली सबै सुरक्षित रहेको जानकारी गराउनु भएको छ,’ गैर आवासीय नेपाली संघ मोजाम्बिकका पूर्व अध्यक्ष बासुदेव घिमिरेले नेपालखबरसँग भने, ‘अझै पनि त्यहाँ पूर्ण रुपमा सञ्चार सम्पर्क स्थापित भैसकेको छैन। थोरैको मात्रै मोवाइलहरु चलेको छ। स्थल सम्पर्कमा स्थापित हुन सकेको छैन।’

घिमिरेका अनुसार विदेशी कम्पनीहरुसँग रहेको केही स्याटलाइट फोनहरु सञ्चालनमा रहेका छन् । बेरामा विभिन्न विदेशी कम्पनी, होटल तथा रेस्टुरेन्टमा कुकदेखि किराना पसल र कृषि फार्म समेत नेपालीले सञ्चालनमा रहेको घिमिरेले बताए।

गत बिहीबार समुद्री आँँधी आउने पूर्वानुमान थियो। आँधी आउनुभन्दा मोजाम्बिक सरकारले स्कुल, कार्यालय, कलकारखाना बन्द गर्न निर्देशन दिएको थियो। बिहीबार साँझ ५ बजेबाट त्यहाँ समुद्री आँधी आउन गरेको बताइएको छ। ‘बिहीबार राति एक बजेसम्म त्यहाँ रहेका साथीहरुसँग सम्पर्क भइरहेको थियो। त्यतिबेला सम्म अवस्था ठिकै रहेका र जुनसुकै बेला सहयोग आवश्यक पर्न सक्ने भन्दै हामीलाई तयारी अवस्थामा रहनुहोला भन्दै हुनुहुन्थ्यो,’ घिमिरेले भने, ‘राति २ बजेबाट सम्पर्क टुट्यो। त्यसपछि तीन दिनसम्म सम्पर्क हुन सकेन। सोमबारबाट नेपालीहरु सुरक्षित रहेको जानकारी आउन थालेको हो।’

आँधीले धेरै प्रभावित भएको बेरा शहरमा आइतबार मात्रै उद्दारकर्मीहरु पुगेका थिए। त्यसपछि मात्रै इडाईको विध्वसंको बारेमा जानकारी बाहिर आएको हो। सो शहरमा आँधीले क्षति नपु¥याएको घर भेट्दै मुस्किल रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्।

 

.

.

‘हाम्रो तराईमा जस्तै यहाँका गरिबहरु पनि झुप्रा घरहरु बस्छन्। घरहरु भत्किएर त्यसैमा पुरिएर, जस्ता पाताले लागेर, भेलले बगाएर, कल्भर्ट थुनिएपछि जम्मा भएको पानीमा डुबेर मानिस धेरै मृत्यु भएको छ’ घिमिरेले भने।

बीबीसीले १ सय ७७ किलोमिटर प्रतिघण्टा दरले समुद्री आँधी आएको जनाएको छ । आँधीसँगै मुसलधारे वर्षा पनि भएको थियो। राष्ट्र संघले दक्षिणी अफ्रिकामा समुद्री आँधीले ठूलो विनास गरेको जनाएको छ। जसको कारण लाखौँ मानिस प्रभावित बनेका छन्। बेराका भ्रमण गरेपछि मोजाम्बिकका राष्ट्रपति फिलिपे नुसीले बेरामा एक हजारभन्दा बढीको मृत्यु भएको हुनसक्ने बताएका छन्। हवाई निरीक्षणको क्रममा उनले शवहरु वर्षाको भेलामा तैरिरहेको जनाएका थिए। अझै सबै स्थानमा उद्दारकर्मीहरु पुग्न नसकेको र क्षतिको विवरण आइनसकेको बताइएको छ।

 

भारतले उद्दारका लागि पानीजहाजसहित नौसैनिक पठाएको र दक्षिण अफ्रिका र राष्ट्र संघीय निकायहरु पनि उद्दारकार्यमा लागेको घिमिरेले बताए। अहिले अन्य छिमेकी देशहरुबाट राहत समेत आउन शुरु भएको समाचारहरु सार्वजनिक भएका छन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट