कक्षा ८ को परीक्षा दिँदै गाउँपालिका उपाध्यक्ष – न्यायिक प्रमुख

 अनलाइनखबर पाटी     ६ चैत्र २०७५, बुधबार

चैत-६ , लमही ।

पढाइलाई उमेर र कामले पनि छेक्दैन । दाङ गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी हुनुले यही भनाइलाई पुष्टि गर्छ ।

वडा नं ६ निवासी चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट यस वर्षको कक्षा ८ को परीक्षामा संलग्न भएकी हुन् ।

कक्षा ५ मा पढ्दापढ्दै विसं २०५३ मा पढाइ छाडेकी उनी यसै वर्ष कक्षा ८ मा भर्ना भएकी हुन् । ‘पढाइलाई उमेरले छेक्दैन भन्ने मान्यतालाई आत्मसात् गर्दै परीक्षामा सहभागी भएको हुँ’ उनले भनिन् ।

सानोमा पढ्दापढ्दै छोडेको भए पनि हरेक क्षेत्रमा अगाडि बढ्न पढाइ महत्वपूर्ण हुने भएकाले पुनःपढाइ शुरु गरेको उनको भनाइ थियो । ‘सानो उमेरमा बुबाले पढ भन्दा भन्दै पनि पढ्न छोडेँ । त्यतिबेला पढेको भए, अहिले धेरै सजिलो हुन्थ्यो’ उनले भनिन् ।

चार भाइ र चार बहिनीले उच्च शिक्षा अध्ययन गरेपनि आफूले बीचमै पढाइ छोडेको उनको भनाइ थियो । जनप्रतिनिधि भइसकेपछि पढाइको महत्व बुझेर निरन्तरता दिन लागेको उहाँले सुनाइन् ।

उनकी एक छोरा र दुई छोरीले पनि उच्च शिक्षा अध्ययन गरिरहेका छन् । ‘जेठो छोराले सब इञ्जिनीयर पढ्छ’ उनले भने, ‘जेठी छोरीले कम्प्युटरमा स्नातक गर्दैछ भने कान्छी छोरीले ल्याब पढिरहेकी छ ।’

उपाध्यक्ष भएर न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा पढाइ नहुँदा धेरै कमजोर बनाउने महसुस गरेकोले यसलाई निरन्तरता दिएको उपाध्यक्ष चौधरीले बताइन । ‘राजनीति गर्दा पनि शिक्षा महत्वपूर्ण हुने रहेछ, उनले भनिन् , ‘त्यसैले राजनीतिक हिसाबले पनि अगाडि बढ्न पढाइलाई निरन्तरता दिएकी हुँ ।’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले पढेको सुनेपछि आफूलाई पनि पढ्नुपर्छ भन्ने थप भावना पैदा भएको उनको भनाइ थियो ।

धेरै ऐन, नियम, कानून, राजनीतिक दलका विभिन्न पुस्तक तथा व्यवहारिक ज्ञान सिकेकी उनलाई गणित, विज्ञान र अङ्ग्रेजी केही अप्ठ्यारो लागेको छ ।

अन्य विषय भने सजिलै लागेको छ । गाउँपालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नुपर्दा विद्यालय जान नपाए पनि घरमै अध्ययन गरेर परीक्षा दिएको उनको भनाइ थियो । चौधरी तत्कालीन एमालेबाट निर्वाचित भएकी थिइन् ।

१० बजे गाउँपालिका, साढे १२ बजे स्कुल

परीक्षा अवधिभर पनि उनले गाउँपालिकाको काम र परीक्षालाई सँगै अगाडि बढाएकी छन् । दश बज्नेबित्तिकै गाउँपालिका पुग्ने उहाँ दुई घण्टासम्म गाउँपालिकाको काम गर्नुहुन्छ भने १२ बजे परीक्षा दिन परीक्षा केन्द्र जान्छिन् ।

एकदेखि ४ बजेसम्म हुने परीक्षा सकेर पुनःगाउँपालिकामा पुगेर काम सकेर घर फर्किन्छिन् । ‘परीक्षा अवधिभर परीक्षा र गाउँपालिकाको कामलाई सँगै अगाडि बढाएकी छु’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट