कसरी भयो काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताबीच ‘भिडन्त’ – हेर्नुहोस भिडियो

 अनलाइनखबर पाटी     ६ चैत्र २०७५, बुधबार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच काभ्रेमा गोली हानाहान भएको र चार जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले पुष्टि गरेको छ।

मङ्गलवार साँझ भएको घटनापछि दुई जनालाई काभ्रे र दुई जनालाई काठमाण्डूबाट नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता उत्तम राज सुवेदीले बताए।

काठमाण्डू उपत्यका र देशका विभिन्न स्थानमा सो समूहले विस्फोटन गराएका विभिन्न घटनापछि सुरक्षानिगरानी बढाइएको बताइएको छ।

सरकारले चन्द समूहलाई आपराधिक सङ्गठन ठहर गर्दै उक्त पार्टीका क्रियाकलापमाथि प्रतिबन्ध लगाएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द समूहले हिंसात्मक गतिविधि नसच्याए सरकारले नियन्त्रण गर्ने चेतावनी दिएका थिए।

  • चन्दको गाउँबाट प्रहरी भगाउन ‘विद्यार्थीको प्रयोग’
  • चन्द नेतृत्वको पार्टीलाई प्रधानमन्त्री ओलीको कडा चेतावनी

कसरी भयो घटना

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरको नेतृत्वमा मङ्गलवार एउटा टोली परिचालित भएको बताइएको छ।

ललितपुरको नख्खुस्थित एनसेलको कार्यालय अगाडि एकजनाको ज्यान जानेगरी भएको बम विस्फोट र वसुन्धारास्थित एक व्यवसायीको घरमा भएको बम विस्फोटको विषयमा अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले चन्द समूहका दुई जना कार्यकर्तालाई पच्छयाएको थियो।

त्यसै क्रममा मङ्गलवार प्रहरी टोली रोशी गाउँपालिका पुग्यो।

त्यहाँ चन्दका कार्यकर्ताहरूले पहिला गोली हानेको प्रहरीको दाबी छ। आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बीबीसीसँग कुराकानी गरेका एक प्रहरी अधिकारीका अनुसार मङ्गलवार राति करिब साढे सात बजे काभ्रेको रोशी गाउँपालिकामा चन्दका कार्यकर्ताहरूसँग गोली हानाहान भएको हो।

उनले भने, “चन्दका कार्यकर्ताहरू लुकेर बसेको ठाउँभन्दा झन्डै ७०० मिटरअगाडि प्रहरी टोली बसेका बेला दुई जना व्यक्ति आए। प्रहरीलाई देख्नासाथ उनीहरूले आत्तिएर पेस्तोलबाट एक राउन्ड गोली चलाए।”

त्यसपछि प्रहरीले चार राउन्ड गोली चलाएको ती प्रहरी अधिकारीले बीबीसी नेपाली सेवालाई बताएका छन्।

काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले घटनाबारे आफूले सूचना पाएको तर प्रहरीले आफूलाई विस्तृत विवरण दिन बाँकी भएको बताएका छन्।

जम्काभेट

प्रहरीहरूका अनुसार चन्दका कार्यकर्तासँग त्यहाँ जम्काभेट भएको थियो।

“उनीहरू तयारी अवस्थामा थिएनन्। न त हामीलाई हमला गर्ने हिसाबले त्यहाँ आएका थिए। यो कुरा उनीहरूको भावभङ्गीबाटै प्रस्ट हुन्थयो,” नाम उल्लेख गर्न नचाहेका ती प्रहरी अधिकारीले बताए।

भिरालो जमिन र घना जङ्गलमा अँध्यारो भइसकेकाले दुई जनामध्ये एक जनालाई मात्र प्रहरीले पक्रिन सक्यो।

“हामीले चार राउन्ड गोली चलायौँ। तर अर्को व्यक्तिलाई गोली लाग्यो कि लागेन भन्न सकिने अवस्था छैन,” ती प्रहरी अधिकारीले भने।

  • असन्तुष्ट समूहहरूको जगजगी कहिलेसम्म
  • ‘हिजो सँगै बन्दुक बोकियो, आज उनकै डर’

हातहतियार र विस्फोटक पदार्थ बनाउने स्थानबारे सूचना पाएको प्रहरी टोलीमा झन्डै दुई दर्जन सुरक्षाकर्मी थिए।

पछि आवश्यकता पर्‍यो भने खटाउन भनेर त्यति नै सङ्ख्यामा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।

‘ठूलो क्षति’

उक्त घटनापछि प्रहरीले गरेको खानतलासी र खोजीको क्रममा काभ्रेबाटै अर्का व्यक्ति पक्राउ परे। लगत्तै काठमाण्डूबाट पनि थप दुई जनालाई समातिएको बताइएको छ।

उक्त कारबाहीले चन्द समूहमाथि ठूलो क्षति पुगेको दाबी प्रहरीले गरेकोछ।

चन्द समूहको मध्यक्षेत्रीय कमान्डर हेमन्तप्रकाश ओलीको मातहतमा काम गर्ने ११ जनाको टोलीमध्ये तीन जनाले साथ छोडिसकेको र बाँकी रहेका चार जना घटनापश्चात् प्रहरी नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ।

पक्राउ परेका चारै जनालाई काठमाण्डू ल्याइसकिएको छ।

प्रहरीले प्राप्त गरेको सूचनाअनुसार चन्द समूहका कार्यकर्ताले आफू लुक्ने स्थान हरेक दिनजसो फेर्ने गरेका थिए। “तर रोशीमा भने विगत १०-११ दिनदेखि एउटै ठाउँमा बस्दै आएको देखिन्छ,” एक प्रहरी अधिकारी बताउँछन्।

“झन्डै ७००-८०० मिटरको दूरीमै गोली चलेकाले ‘हाइड आउट’मा बसेका कार्यकर्ता भाग्न सफल भए,” उनले भने।

“अनकन्टार ठाउँ भएकाले अन्य विवरण पनि बेलैमा प्राप्त गर्न सकिएन जसका कारण कारबाही व्यवस्थित हुन सकेन।”

प्रहरीले बीबीसीसँगको कुराकानीमा गरेको दाबी र दिएको जानकारीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

यसअघि कपिलवस्तुमा प्रहरीले चन्दका कार्यकर्ता लुकेर बसेको आशङ्कमा सुरक्षा कारबाही गरेको थियो।

सो घटनामा एक व्यक्तिलाई गोली लागेको थियो र केही थान हातहतियार भेटिएको प्रहरीको दाबी छ।

Presentational grey line

के हो विप्लव नेतृत्वको नेकपा?

विसं २०६९ को असारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीबाट अलग्गिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा छुट्टै दल बनाएका थिए।

पछि वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी “क्रान्तिकारी हुन नसकेको” भन्दै विसं २०७१ मंसिरमा चन्दले छुट्टै दल घोषणा गरे।

औपचारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखेको भए पनि सो दल विप्लव माओवादीका रूपमा चिनिन्छ।

रूपमा चिनिन्छ।

हेमन्तप्रकाश मल्ल

उसले आफूलाई मूलधारको माओवादी पार्टी मान्ने गरेको छ र कुनै पनि निर्वाचनमा सहभागी भएको छैन।

वैद्य समूहसँग छुट्टिएदेखि नै सो दलले चक्काजाम र नेपाल बन्द गर्ने, सरकारी अधिकारीहरूलाई कालोमोसो दल्ने, विभिन्न स्थानमा विस्फोटन गराउने र चन्दा भन्दै जबर्जस्ती आर्थिक सङ्कलन गर्ने काम गर्दै आएको छ।

‘निर्णायक क्रान्ति’ गर्ने भन्दै उसले सरकारी पक्षसँग वार्ता गर्न मानेको छैन।

  • सरकारसँग वार्ताको औचित्य छैन: चन्द समूह
  • नेत्रविक्रम चन्द नेतृत्वको दलका गतिविधिबारे ‘चिन्ता’

पहिला माओवादीको वर्चस्व भएका पश्चिम नेपालका केही स्थानमा स्थानीय जनप्रतिनिधिहरूले आफूलाई सो दलका कार्यकर्ताले राजीनामा दिन दबाव दिने गरेको गुनासो गरेका छन्। त्यहाँ उनीहरूले ‘जनसरकार’ को घोषणा पनि गरेका छन्।

केही सयमयता सो दलले देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनाहरूको जिम्मेवारी लिँदै आएको छ।

हत्कडी प्रचण्डजीहरूलाई लगाउनुपर्ने हो: खड्गबहादुर विश्वकर्मा

BBC NEWS

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट