प्रदेश २ मा एसईई परीक्षा स्थगित – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
अनलाइनखबर पाटी १५ चैत्र २०७५, शुक्रबारशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश नम्बर २ मा सञ्चालन भइरहेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
शुक्रबार सामाजिक विषयको प्रश्नपत्र धनुषाबाट र बिहीबार विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट परीक्षा हुनुपूर्व नै बाहिरिएपछि दुवै विषयका परीक्षा स्थगित गरिएको थियो। लगातार दुई विषयका प्रश्नपत्र बाहिरिएपछि शुक्रबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ मा एसईई परीक्षा स्थगित गरेको जानकारी दिए।
२२ गतेका लागि तय गरिएको विज्ञान विषयको परीक्षा सोही दिन हुने र अरु विषयको परीक्षा मिति राष्ट्रिय परीक्षा बोर्डसँगको छलफलपछि तय गरिने उनले बताए।
प्रश्नपत्र ‘आउट’ गर्नेलाई कारबाहीको दायरामा ल्याउने उनले बताए। स्थगित भएका विषयको परीक्षाका लागि तयारी गरिराख्न विद्यार्थीलाई आग्रह गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र बाहिरिएर विद्यार्थीमा पर्न गएको असुविधाप्रति गहिरो दु:ख ब्यक्त गरेका छन्। चैत १० गतेदेखि माध्यामिक तह परीक्षा एसईईको परीक्षा सातै प्रदेशमा भइरहेको छ।
प्रश्नपत्र परीक्षा हुनुपूर्व नै बाहिर ल्याउने जो कोहीलाई कानूनी दायराभित्र ल्याउनेसमेत मन्त्री पोखरेलले प्रतिवद्धता जनाए। सुरक्षा घेराभित्र राखिने र परीक्षा हुनुभन्दा एक घण्टा अघि मात्रै प्रश्नपत्र केन्द्रहरुमा पुग्ने भए पनि कसरी प्रश्नपत्र बाहिरियो र कसले प्रश्नपत्र आउट गरेको हो छानविन गर्न पनि समिति गठन गरेको उनले बताए।
प्रश्नपत्र आउट गर्नेको खोजि गर्न गृह मन्त्रालयसँगको समन्वयमा केन्द्रीय अनुसन्धान व्युरो पनि खटाइसकिएको उनले जानकारी दिए। प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्रीको आग्रहअनुसार नै चैत २१ गतेसम्म सञ्चालन हुने भनिएको परीक्षा अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको मन्त्री पोखरेलले बताए।
परीक्षा स्थगित भएपछि प्रदेश २ मा २६२ परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका ७० हजार पाँच सय ६८ विद्यार्थी प्रभावित भएका छन्।
‘विज्ञान विषयको परीक्षा चैत २२ गते हुने र अरु स्थगित विषयको परीक्षा यसै महिनाभित्र हुने गरी राष्ट्रिय परीक्षा बोर्डले तालिका प्रकाशित गर्नेछ,’ मन्त्री पोखरेलले अन्य प्रदेशमा भने परीक्षा निरन्तर हुने बताए।
Leave a Reply