लुक्लामा विमान र हेलिकप्टर ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते

 अनलाइनखबर पाटी     १ बैशाख २०७६, आईतवार

सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेन्जिङ-हिलारी विमानस्थलमा समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।


सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार घटनामा परेर समिट एअरको विमानका एक सहचालक र विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकको मृत्यु भएको हो।

उडान गर्न लाग्दा विमान धावनमार्गबाट चिप्लिएर हेलिप्याडतिर गएको लुक्ला विमानस्थलका प्रबन्धक इमनाथ अधिकारीले  बताए। तर विमान धावनमार्गबाट चिप्लिनुको कारण खुलेको छैन।

  • लुक्ला विमानस्थलमा किन हुन्छ धेरै दुर्घटना

दुर्घटनामा मनाङ एअरको हेलिकप्टर र समिट एअरको विमानका मुख्य चालक घाइते भएका थिए। उनीहरूलाई हेलिकप्टरबाट काठमाण्डू ल्याइएको थियो।

तीमध्ये समिट एअरका चालकलाई उपचारपछि अस्पतालबाट घर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले  बताए।

गत फेब्रुअरीको अन्तिम साता ताप्लेजुङमा हेलकप्टर दुर्घटनामा हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो।

दुर्घटनामा को परे?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार दुर्घटनामा समिट एअरका सहचालक सजित ढुङ्गाना र नेपाल प्रहरीका सहाक निरीक्षकद्वय रामबहादुर खड्का तथा रुद्रबहादुर श्रेष्ठको मृत्यु भयो।

उनका अनुसार ढुङ्गाना र खड्काको लुक्लामै र श्रेष्ठको उपचारका लागि काठमाण्डू ल्याएपछि मृत्यु भएको हो।

दुई घाइतेमध्ये समिट एअर क्याप्टेन आरबी रोकायालाई उपचारपछि घर फिर्ता गरिएको उनले बताए।

मनाङ एअरका क्याप्टेन चेतबहादुर गुरुङ भने अझै अस्पतालमै छन्।

स्तो क्षति भयो?

धावनमार्गसँगै रहेको हेलिप्याडमा ती हेलिकप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका थिए।

विमान आएर मनाङ एअरको हेलिकप्टरमा ठोकिँदा दुवैमा क्षति पुगेको छ भने नजिकै रहेको श्री एअरलाइन्सको अर्को हेलिकप्टरमा पनि केही क्षति पुगेको छ।

लुक्ला

विमान पहिले मनाङ र त्यसपछि श्री एअरलाइन्सको हेलिकप्टरमा ठोक्किएको अधिकारीले बताए।

“तर श्री एयरलाइन्सको हेलिकप्टरमा भने खासै धेरै क्षति पुगेको छैन,” उनले भने।

यसअघि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले तेन्जिङ-हिलारी विमानस्थलमा सो घटनाको पुष्टि गर्दै उद्धार समन्वय केन्द्रलाई परिचालित गर्न निर्देशन दिइएको  बताएका थिए।

आइतवार बिहान ९:२२ बजे लुक्लाबाट रामेछाप उड्न लाग्दा नाइन-एन एमएएच कल साइन भएको उक्त विमानमा दुई चालक र एक परिचारिका रहेको अधिकारीहरूले पुष्टि गरेको  बताए।

के भन्छन् प्रत्यक्षदर्शी?

प्रत्यक्षदर्शीहरूका अनुसार विमानस्थलमा रोकिराखिएको हेलिकप्टरमा सो विमान गएर जोतिएको थियो।

प्रत्यक्षदर्शी विक्रम राजभण्डारीका अनुसार घटना हुँदा “बम पड्किएजस्तो ठूलो आवाज” सुनिएको थियो।

उनी भन्छन्, “त्यो सुनेपछि म दौडिँदै त्यहाँ गएँ। विमान दुईवटा हेलिकप्टरसँग ठोक्किएको रहेछ।”

“म त्यहाँ पुग्दा विमानबाट धुवाँको मुस्लो उडिरहेको थियो,” राजभण्डारीले  कुराकानीमा भने।

उडान सुरु

सोलुखुम्बुस्थित बीबीसी संवाददाता सुजाता तामाङका अनुसार विमानस्थलमा अरू विमानको उडान सुरु भयो।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार लुक्लामा बिहान उडानका लागि मौसम अनुकूल नै थियो।

अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको छ।

सन् २००८ मा लुक्ला विमानस्थलमा भएको दुर्घटनामा १२ जर्मन नागरिकसहित १८ जनाको मृत्यु भएको थियो।

एकछेउमा सात सय मिटर अग्लो भीर भएको लुक्लालाई संसारकै अति डरलाग्दो विमानस्थलमध्ये एक मानिन्छ।

समुद्र सतहभन्दा २८ सय मिटरको उचाइमा रहेको सो विमानस्थल पाँच सय ५० मिटर लामो छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट