झण्डै पाँच दशकअघि शिक्षक साइनो गासेका सहदेव गुरुलाई दोलखालीले दिए श्रद्धाञ्जली
अनलाइनखबर पाटी २४ जेष्ठ २०७६, शुक्रबार
झण्डै पाँच दशकअघि शिक्षक साइनो गाँसिएका प्रवासी सहदेव सिंहको निधनको शोकमा दोलखाका केही स्कुल एक दिनका लागि छुट्टी गरिए । विश्वयुद्धका योद्धासमेत रहेका उनको नाममा श्रद्धाञ्जलीसभा भयो ।
अन्तिम संस्कारमा दोलखाका चर्चित व्यक्तित्वहरु फूल चढाउन लामबद्ध थिए । वरिष्ठ पत्रकार, इन्जिनियर, डाक्टर र उच्च ओहदाका दोलखाली आर्यघाटमा मलामी गए ।
उनको निधनले दोलखाको शैक्षिक घेरामा पृथक तरंग ल्यायो । झण्डै ४५ वर्षदेखि दोलखाबाट गुमनाम सिंहप्रति त्यत्रो सम्मान हुनुमा केही जायज कारणहरू छन् । उनले युवाकालमा बेलायतबाट विश्वयुद्ध लडेर इटलीमा जागिरे छवि बनाए । गृह सहर भारतको दार्जिलिङमा केही समय बिताएर नेपाल छिरेका उनले दोलखाको सुस्पाक्षेमावती, पवटी र मेलुङका विद्यालयमा एक दशक बिताए । वि.सं २०१९ मा दोलखा छिरेका उनले गुरुकुल शिक्षालाई परिवर्तन गर्दै यूरोपियनस्तरमा पुर्याउन कोसिस गरे । विद्यालयदेखि गाउँबस्तीमा अनुशासन, संस्कार र सरसफाइ सिकाउँदै हिँडे । अंग्रेजी पढाउने शिक्षक पाउन धौधौ हुने बेलामा उनले शिक्षालाई आधुनिक ढाँचामा परिस्कृत गर्दै लगे ।
उनको सम्झनामा आइतबार दोलखाका पुराना स्कुलहरू भीमेश्वर नगरको क्षेमावती मावि र मेलुङस्थित त्रिभुवन माविका विद्यार्थीहरुले मौनधारण गर्दै श्रद्धाञ्जली अर्पिए । उनका बारेमा चर्चा गर्दै पत्रकार गोपाल थपलियाले भने, ‘गुरुकुल शिक्षा पढै गरेका हामीलाई उहाँले अंग्रेजी सिकाउनु भयो ।’
मलामीमा आएका थपलियाका अनुसार सिंहले अंग्रेजी, गणित, विज्ञान र संस्कृतलगायत सबै विषय पढाउँथे । कक्षा ६ देखि १० सम्म उनकै विद्यार्थी भएको सम्झदै थपलिया भन्छन्, ‘उहाँले ६ कक्षादेखि पढाउन सुरु गरेको विद्यार्थीहरु एसएलसीमा सहभागी हुँदा सतप्रतिशत उत्तीर्ण भएका थिए ।’ गाउँका विद्यार्थी, शिक्षक र सर्वसाधारणले जब भोटो र कट्टु र दौरा-सुरुवाल लगाउँथे, सिंह भने क्रिज लगाएको सर्ट, पाइन्ट र टल्किएको छाला जुत्ता लगाउँथे । फौजी शानका कारण उनका सामु सबै नतमस्तक हुन्थे ।
त्यतिखेर दोलखामा गुरुकुल शिक्षामा जोड थियो । अंग्रेजी पढाउने शिक्षक पाउन कठिन थियो । विद्यालयका संस्थापकहरु नन्दप्रसाद शिवाकोटी, नन्दीकेशर शिवाकोटी र कृष्णप्रसाद खकुरेलहरुले उनलाई काभ्रेपलाञ्चोक जिल्लाको चौरीखर्कबाट ल्याएका थिए । ‘त्यहाँ पढाउँदै गरेका सहदेव सरलाई बाहरुले चोरेर ल्याउनु भएछ,’ उनका विद्यार्थी माधव खकुरेल भन्छन् ।
उनको निधनको खबर सुन्नेवित्तिकै मेलुङको त्रिभुन माविले विदा गर्यो । प्रअ सन्तोष श्रेष्ठले उनलाई पढाएको विद्यार्थी र गाउँलेले शोक श्रद्धाञ्जली गर्ने भनेकाले बिदा दिएको बताए । विद्यालयका अध्यक्ष इन्जिनियर महेन्द्रबहादुर कार्कीले भने, ‘उहाँ दोलखाको शिक्षाको ज्योति बनेर योगदान गर्ने व्यक्ति हो । त्यसैले विद्यालयले उहाँप्रति सम्मान गर्नु उपयुक्त छ ।’ स्थानीय राजनीतिकर्मी श्रीबहादुर भण्डारीले राम्रो पढाउने शिक्षक आएको छ रे भन्ने सुनेर सहदेव सरलाई खोज्दै पढ्नका लागि हिँडेको सम्झना गरे । तत्कालिन विद्यालयका अध्यक्ष ललितबहादुर कार्कीले स्कुल सुधार्न उनलाई मेलुङ भित्र्याएको प्रअ श्रेष्ठले विद्यालयको इतिहास केलाउँदै भने ।
उनका शिष्य दोलखाका पूर्वसांसद जीतवीर लामाका अनुसार उनका दुइवटा कुकुर हुन्थे । विद्यालय छुट्टी भएपछि कुकुर लिएर घर गाउँ डुल्थे । छोराछोरी स्कुल नपठाउनेलाई सम्झाउँथे । स्वास्थ र सरसफाईबारे सिकाउँथे । उनी पढाउने बेला कहिले मेचमा बस्दैनथे । बिहान १० बजेदेखि ४ बजेसम्म पढाएको पढायै हुन्थे । क्षेमावती मावि पूर्वशिक्षक विद्यार्थी समाजका अध्यक्ष मिलन तुलाधरले सहदेव सरको योगदानको कदर गर्दै सन् २०१३ देखि २०१७ सम्म काठमाडौंमा भएको सोसाइटीको वार्षिकोत्सवमा प्रमुख अतिथिको भूमिकामा सम्मान प्रकट गरिएको बताए । काठमाडौंका तुलाधर त्यो बेला उक्त विद्यालयमा पढाउन क्षेमावती पुगेका थिए । साभार कान्तिपुर
Leave a Reply