प्रधानमन्त्रीले दिएको त्यो रात्रिभोज, जहाँ आधा निम्तालु किन अनुपस्थित भएनन ?

 अनलाइनखबर पाटी     २१ माघ २०७६, मंगलवार
बालुवाटारमा नयाँ निवास निर्माण कार्य भइरहेकाले प्रधानमन्त्री अहिले मुख्य सचिवका लागि बनाइएको निवासमा बस्दै आएका छन् (फाइल फोटो)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकको समापन सत्रमा बोल्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद र केन्द्रीय सदस्यहरुलाई रात्रिभोजको निम्तो दिए।


बैठक पाँच दिनसम्म चलेर आइतबार सम्पन्न भएको थियो। आइतबारै साँझ ६ बजे प्रधानमन्त्री ओलीले बालुवाटारमा रात्रिभोजको आयोजना गरे। प्रधानमन्त्रीले राष्ट्रिय सभागृहमा केन्द्रीय सदस्यहरुलाई निम्ता गर्नुभन्दा पहिल्यै सचेतकमार्फत राष्ट्रियसभा र प्रतिनिधि सभाका पार्टीका सांसदहरुको मोबाइलमा निमन्त्रणाको घण्टी बजिसकेको थियो।

साँझ ६ बजेदेखि ९ सम्म चलेको रात्रिभोजमा पार्टी केन्द्रीय सदस्य चार सय ४१ जना र केन्द्रीय सदस्य नरहेका सांसदहरुलाई पनि बोलाइएको थियो। तर, भोजमा पार्टीका शीर्ष नेताहरु सबै उपस्थित भए पनि झण्डै दुई सयको हाराहारीमा केन्द्रीय सदस्यहरु भने उपस्थित नभएको स्रोतले नेपालखबरलाई बतायो। भोजमा उपस्थित नहुने केही नेताहरुले भने एमसीसी पारित गराउनका लागि सांसदलाई फकाउनका लागि रात्रिभोज दिएको आरोप लगाएका छन्।

प्रधानमन्त्रीको सचिवालयको भनाइ उदृत गर्दै भोजमा सहभागी एक नेताले भने, ‘भोजमा झण्डै दुई सय ५० को हाराहारीमा केन्द्रीय नेता आएका थिए। आएकामध्ये पनि केही त भोज नै नखाइ फर्के।’

ती नेताको भनाइ अनुसार प्रधानमन्त्रीको निम्तोलाई अस्वीकार गर्दै झण्डै दुई सय केन्द्रीय नेताहरु भोजमा सहभागी नभएको देखिन्छ। उनीहरुमध्ये केहीले भोज केका लागि र किन भन्ने स्पष्ट नभएका कारण भोजमा सहभागी नभएको बताए।

‘केका लागि, किन भोज आयोजना गरिएको हो भन्ने स्पष्ट नै पारिएको छैन’, बैठक समापनपछि राष्ट्रिय सभागृहको गेट भेटिएका केही नेताहरुले एकै स्वरमा नेपालखबरसँग भने, ‘त्यस्तो भोजमा किन जानु?’

यता प्रधानमन्त्री निकट एक केन्द्रीय सदस्यले भने भोजमा धेरैजसो नेताहरु उपस्थित भएको दावी गरे।

‘संख्या त ठ्याक्कै एकीन भएन, आउने जाने क्रम चलिरहेको हुँदा भोज स्थलमा कम देखिएको भने हुनसक्छ’, नेपालखबरसँग कुरा गर्दै ती नेताले भने।

कतिपय नेताहरु पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले नै बोलाएको भोजमा नगए बहिष्कारवादी हुने डरले गएको बताउँछन्।

भोजमा सहभागी एक नेताका अनुसार दुई स्थानमा गरेर झण्डै हजार जना जतिका लागि टेन्ट निर्माण गरिएको थियो। तर, भोजमा नेकपाका केही प्रभावशाली केन्द्रीय सदस्यहरु नै उपस्थित भएनन्। ती नेताहरुले आफूहरुले भोज बहिस्कार गरेको त खुलेर भनेका छैनन् तर मन नलागेर बालुवाटार नगएको प्रतिक्रिया दिए।

लेखनाथ न्यौपाने, ठाकुर गैरे, भाष्कर काफ्ले, जगन्नाथ खतिवडा लगायतका युवा नेताहरु रात्री भोजमा सहभागी भएनन्।

भोज आयोजना भएकै समय आइतबार साँझ ६ बजेर ३५ मिनेटमा युवा नेता लेखनाथ न्यौपानेले एउटा फेसबुक स्टाटस लेखे ‘घरकै भुटेको मकै–कालो चिया मिठो!’

उनको स्टाटस प्रधानमन्त्री निवासमा आयोजना गरिएको रात्रिभोज लक्षित रहेको देखिन्छ। उही समय उही विषयलाई लक्षित गरेर उनले स्टाटस लेखेका थिए। न्यौपानेको उक्त स्टाटसमा कमेन्ट गर्नेहरुले प्रधानमन्त्री निवासमा भएको भोजमा नगएर ठीक गरेको प्रतिक्रिया दिएका छन्।

स्थायी समिति सदस्य लीलामणि पोखरेलले आफू भोजमा दश मिनेट सहभागी भएर फर्किएको बताए। ‘धेरै बेर बसिनँ, मलाई पनि केही नेताहरुले आफू भोजमा नगएको बताएका थिए’, पोखरेलले नेपालखबरसँग भने, ‘संख्या यकिन नभए पनि धेरैजसो साथीहरु बालुवाटारमा देखिएनन्।’

केन्द्रीय समिति बैठकको स्प्रिटभन्दा विपरीत भएका कारण आफू भोजमा सहभागी नभएका अर्का एक केन्द्रीय सदस्यले प्रतिक्रिया दिए। आफूलाई पूर्वमाओवादी निकट भएको बताउँदै ती नेताले भने, ‘प्रधानमन्त्रीले रात्रि भोज दिनुको अर्थ के हो? केन्द्रीय समिति बैठकमा भड्किलो व्यवहार नगर्ने भनेपछि फेरि भोज दिएर के सन्देश दिन खोजिँदैछ?’

सांसदहरुलाई मात्रै फोकस गरिएको भोज भएकाले आफू बालुवाटार नगएको अर्का केन्द्रीय सदस्यले प्रतिक्रिया दिए।

‘सांसदहरुलाई मात्रै लक्षित गरेर राखिएको भोज थियो, हामीलाई व्यक्तिगत मेसेज पनि थिएन’, माधव नेपाल निकट ती नेताले नेपालखबरसँग भने, ‘हलमा प्रधानमन्त्रीले समापन भाषण गर्दा सबै आउनुस् भनेर भन्नुभयो, यदि भोज नै खुवाउने कार्यक्रम थियो भने ४ दिन आगाडि किन जानकारी दिइएन त?’

केन्द्रीय सदस्य तथा सांसद सुरेशकुमार राईले प्रधानन्त्रीले आयोजना गरेको भोजमा सहभागी हुने÷नहुनेमा चार कारण रहेको औँल्याए।

‘जसरी पनि जानुपर्छ भन्ने सोचेर जाने एउटा संख्या, निम्तोलाई स्वीकाररे ‘मन’ राखिदिन जाने संख्या, सवारी साधन अभाव, चिसो र पारिवारिक कारण जान नसक्ने संख्या र के जानु, गएर के नै पो हुन्छ र? भनेर नजाने संख्या थियो’, उनले नेपालखबरसँग भने।

केन्द्रीय समिति बैठकमा अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी) बारे व्यापक कुरा उठेको थियो।

प्रधानमन्त्री ओलीले बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै एमसीसी राष्ट्रहितमा रहेको बताउँदै जसरी पनि पास गर्नुपर्ने बताएका थिए। तर, केन्द्रीय समितिमा एमसीसीको चर्को विरोध भएपछि त्यसबारे अध्ययन गरी सुझाब पेस गर्न नेकपाले सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको तीन सदस्यीय अध्ययन समिति बनाएको थियो। सरकार आउँदो हिउँदे अधिवेशनबाट सो सम्झौता पारित गर्ने तयारीमा छ। प्रधानमन्त्री ओलीको रात्रिभोज पनि एमसीसीमा सहमति जुटाउनका लागि भएको एक स्थायी समितिले दावी गरे। प्रधानमन्त्रीले यसबारे भोजमा केही नबोले पनि आसय त्यही रहेको बुझ्न सकिने उनको भनाइ थियो।

‘एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन सांसदहरुको सहयोग चाहिन्छ, केन्द्रीय समितिमा रहेका धेरैजसो नेताहरु सांसद पनि हुनुहुन्छ, सोही कुरा बुझेर प्रधानमन्त्रीले भोजको आयोजना गर्नुभएको हुनसक्छ’, ती स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्रीले मुख खोलेर केही नभने पनि भोजमा उपस्थित नेताहरुले भने यो एमसीसी अनुमोदनको रणनीति रहेको संकेतका रुपमा लिएका छन्।’

ती स्थायी समिति सदस्यका अनुसार पहिले सांसदहरुलाई मात्रै भोज दिँदा गलत अर्थ लाग्ने र सांसद नरहेका केन्द्रीय सदस्यहरु असन्तुष्ट हुने खतरा देखेपछि प्रधानमन्त्रीले बाध्य भएर सबैलाई बोलाएको उनको भनाइ थियो। उनले केन्द्रीय समिति बैठकलाई त्यसको अवसरका रुपमा प्रधानमन्त्रीले उपयोग गरेको बताए।

भोजमा सहभागी भएका केन्द्रीय सदस्य श्रीप्रसाद साहले रातिको भोज भएकाले नीजि साधन नभएका केही नेताहरु भोजमा सहभागी हुन नसकेको बताए।

‘हाजिरी नगराएका कारण कति संख्या अनुपस्थित भयो भन्न गाह्रो छ तर टाढा बसाई हुने र आफ्नै साधन नहुने केही नेताहरु भने बालुवाटारको भोजमा देखिनुभएन’, आफू बालुवाटारमा ४५ मिनेट बसेका बताउँदै उनले भने।

प्रधानमन्त्रीनिकट एक नेताले भने रात्रिभोजमा उपत्यकाका भन्दा बाहिरका नेताहरु उत्साहित भएर सहभागी भएका थिए ।

‘भ्यालीका बढीजसो साथीहरु आउनुभएन’, ती नेताले भने, ‘बाहिरका साथीहरुमा प्रधानमन्त्रीले बोलाएको ठाउँमा जानुपर्छ भन्ने देखियो।’

ती नेताले कुनै पनि नेताले भोज बहिष्कार नगरेको दाबी गर्दै भने, ‘बहिष्कार गरेको मलाई लाग्दैन, विभिन्न कारणले उपस्थित हुन नसकेको हुनसक्छ।’

आइतबार केन्द्रीय सदस्य र सांसदहरूका लागि रात्रीभोज आयोजना गरेका प्रधानमन्त्री ओलीले मंगलबार साँझ फेरि पार्टीका सचिवालय सदस्य र मन्त्रीहरूका लागि ‘सारङ्गी साँझ’ सहितको भोज आयोजना गरेका छन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट