विद्यालय तहमा नयाँ पाठ्यक्रम, नेपाली माध्यमलाई प्राथमिकता
अनलाइनखबर पाटी २२ फाल्गुन २०७६, बिहीबारशोभित उप्रेती – फाल्गुन २२ ,काठमाडौँ । सरकारले आगामी शैक्षिक सत्रदेखि लागू हुने विद्यालय तहको पाठ्यक्रममा नेपाली भाषालाई पठनपाठनको माध्यम भाषा बनाउन जोड दिएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा (१–१२) को पाठ्यक्रम कार्यान्वयनका लागि सरोकारवालालाई सार्वजनिक सूचना जारी गरेर अपिल गरेको हो ।
सरकारले गत भदौमा स्वीकृत गरेको पाठ्यक्रमको प्रारूपमा मातृभाषा, स्थानीय पाठ्यक्रम र नेपाली माध्यम भाषामा जोड दिइएको छ । कक्षा ११ र १२ मा नेपाली र अंग्रेजी दुवै माध्यम भाषा हुनेछन् । ‘सामाजिक अध्ययन, मानव मूल्यरचारित्रिक शिक्षा, नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठनपाठनका लागि माध्यम भाषा नेपाली हुनेछ,’ पाठ्यक्रममा भनिएको छ ।
कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार यसले निजी विद्यालय र अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएका सामुदायिक विद्यालयसमेत प्रभावित हुनेछन् । यसअघि कक्षा १ देखि नै शिक्षण भाषा नेपाली वा अंग्रेजी दुवै हुने व्यवस्था थियो । ‘अंग्रेजी सिक्नरजान्नका लागि कक्षा १ देखि १२ सम्म नै अनिवार्य विषयका रूपमा राखिएको छ,’ केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले भने, ‘अंग्रेजी माध्यमले विद्यार्थीले नबुझ्ने समस्या रहेको पाइयो, मातृभाषा वा समाजमा बोलीचालीमा रहेको भाषामा नै विद्यार्थीले राम्रोसँग सिक्न सक्छन् भन्ने निष्कर्षमा पुगेका हौं ।’ कक्षा ४ देखि १० सम्म अंग्रेजी, गणित र विज्ञानबाहेकका विषयको माध्यम भाषा नेपाली बनाउन लागिएको हो । केन्द्रले अन्तर्राष्ट्रिय अभ्यास, विज्ञहरूको सुझाव र विभिन्न अध्ययनका आधारमा नेपाली भाषालाई शिक्षण भाषा बनाउन जोड दिएको दाबी गरेको छ ।
केन्द्रले ४३ वटा विषयका पाठ्यक्रम निर्माण भइसकेको जनाएको छ । अनिवार्य विषयका पाठ्यपुस्तक केन्द्र आफैंले बनाएको हो । ऐच्छिक विषयमा बहुपाठ्यक्रम लागू गर्न खोजिएको छ । केन्द्रले त्यसका लागि लेखक र प्रकाशकलाई पाठ्यपुस्तक विकास गरी मूल्यांकनका लागि पेस गर्न आग्रह गरेको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले स्वीकृति दिएपछि मात्र पुस्तक अध्यापन गराउन अनुमति पाइन्छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
Leave a Reply