राष्ट्रपतिसँग प्रचण्डको प्रधानमन्त्री केपी बिरुद्द वार्तालाप
अनलाइनखबर पाटी २९ फाल्गुन २०७६, बिहीबारसत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो वार्तालाप गरेका छन्।
बुधबार दिउँसो दुई बजे राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका प्रचण्डले एक घन्टा लामो कुराकानी गरेका थिए। यो भेटघाटका लागि कसले पहल गरेको हो भन्ने प्रष्ट छैन।
प्रचण्डलाई पछिल्लो केही दिनदेखि सञ्चो थिएन। रूघाखोकीले ग्रस्त उनी केही दिनदेखि घरमै आराम गरिरहेका थिए।
फागुन २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएका प्रचण्ड त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।बुधबार भने उनी राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे।
‘उहाँहरूबीच एक घन्टाजति एक्लाएक्लै भेट भएको हो,’ शितल निवास स्रोतले अनलाइनखबर पाटीसँग भन्यो।
राष्ट्रपति भण्डारी र प्रचण्डबीच के कुराकानी भयो भन्नेबारे औपचारिक रूपमा दुबै पक्षले जानकारी दिएका छैनन्।
राष्ट्रपति र प्रचण्डबीच यस्तो समयमा भेट भएको जतिबेला नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच दूरी बढेको छ। सभामुख चयन, अमेरिकी सहयोग परियोजना एमसिसी र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयलाई लिएर दुई अध्यक्षबीच चर्को मतभेद देखिएको छ।
प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिएको र आफूलाई हटाउने प्रयास भइरहेको भन्दै रोष व्यक्त गर्न थालेका छन्। अर्का अध्यक्ष प्रचण्डले पनि ओली र आफूबीच सरकार र पार्टीको जिम्मेवारी बाँडफाँटको पछिल्लो सहमतिअनुसार काम नभएको भन्दै गुनासो गर्ने गरेका छन्।
यसअघि गत मंसिर ३ गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले राष्ट्रपतिलाई ‘साक्षी’ राखेर नयाँ सम्झौता गरेका थिए।
पार्टीभित्र लामो समयदेखि चलिरहेको सरकारको नेतृत्व आलोपालो गर्ने समझदारीलाई छाडेर ओलीले पूरै कार्यकाल सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी चलाउने सम्झौता उनीहरूबीच भएको थियो।
मंसिर ३ गते राष्ट्रपति कार्यालयबाट फर्किएर बालुवाटारमा सचिवालय बैठकमा दुबै अध्यक्षले सम्झौता सार्वजनिक गरेका थिए। अहिले सम्झौताको पालना नभएको भन्दै दुबै पक्षले एक अर्कालाई आरोप लगाएका छन्।
आफू कार्यकारी अध्यक्ष रहे पनि प्रधानमन्त्री ओलीले पार्टी आफैं चलाउने गरेको प्रचण्डको आरोप छ।
‘आफूले कार्यकारी अध्यक्षका रूपमा काम गर्न नपाएको गुनासो उहाँको छ,’ प्रचण्डनिकट एक नेताले सेतोपाटीसँग भने।
सरकारलाई सहज हुने किसिमले सभामुख छनौट गर्न नमानेको, एमसिसीको विषयमा पार्टीले अनावश्यक बखेडा झिकेको र पछिल्लो समय अर्थमन्त्री युवराज खतिवडालाई हटाएर सरकारको काम प्रभावित पार्न खोजेको प्रधानमन्त्रीको टिमको आरोप छ।
प्रधानमन्त्री ओली र प्रचण्डबीच दूरी बढेपछि अर्का नेता माधवकुमार नेपाललाई आ-आफ्नो पक्षमा तान्न दुबै नेताहरूले प्रयास गरिरहेका छन्। लामो समयसम्म प्रधानमन्त्री ओलीबाट पेलिएका नेपालको अहिले प्रचण्डसँगको सम्बन्ध प्रगाढ बनेको छ।
प्रचण्डसँग सम्बन्ध चिसिएपछि ओली पक्षले पनि नेपाललाई फकाउने प्रयास गरिरहेको छ।
बहुदलीय जनवादका पक्षधर तथा पूर्वएमालेहरू एक ठाँउमा उभिनु पर्ने जिकिर ओली समूहको छ। नेता नेपालले भने त्यसका लागि ठोस प्रस्ताव आउनु पर्ने, ओलीले प्रधानमन्त्री पद आफूसँग राखेर एउटा अध्यक्ष आफूलाई दिनु पर्ने सर्त राखेका छन्।
महाधिवेशनपछि नेपाललाई अध्यक्ष मान्न आफू तयार रहेको तर अहिले नै अध्यक्ष पद दिन नसकिने जवाफ ओली पक्षले दिएको छ।
‘उधारो’मा सम्झौता गर्न आफू तयार नरहेको भन्दै नेपालले अध्यक्ष पद दाबी गरिरहेका छन्।
Leave a Reply