हेल्लो सरकार, वारिको क्वारेन्टाइन रित्तै, पारि नेपाली नागरिक पाखा भित्तै ?

 अनलाइनखबर पाटी     २० चैत्र २०७६, बिहीबार

राजन उप्रेती – चैत्र २०, कञ्चनपुर | कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजारवनबासामा रहेको शारदा माध्यमिक विद्यालयमा आश्रय लिइरहेका छन्। भारतको गाजिँयावादमा सवारी चालकका रुपमा मजदुरी गर्दै आएका उनी गड्डाचौकीको सीमा स्तम्भसम्ममा रोकिनुपर्‍यो। सुरक्षाकर्मीको रोकावटपछि वनबासातर्फ फर्किदै स्कुलमा बास बस्नु परिरहेको बताउँछन्। ‘माथिबाट आदेश आएपछि तपाईलाई घर आउन दिन्छौँ भनेर सीमाबाट फर्काइदिए।’ उनले टेलिफोन कुरा गर्दै भने, ‘यहाँ झन् एउटै कोठामा २८/३० जना बस्नुपरेको छ।’

कोराना भाइरसको जोखिम न्यूनीकरणका लागि सीमामा आवागमन बन्द गर्नु उपयुक्त भए पनि अलपत्र परेका यात्रुलाई सम्बन्धित ठाउँकै क्वारेन्टाइनमा राख्नुपर्नेमा उनको जोड छ। ‘यहाँ भारतीय सुरक्षाकर्मीले खाना र बस्नको प्रबन्ध मिलाएका छन्।’ उनले भने, ‘एउटै कोठामा कोचाकोच भएर बस्दा अरु बिरामी लाग्ला भन्ने पीर छ।’ उक्त विद्यालयमा तीन महिलासहित ११५ जना नेपाली बस्दै आएका छन्। वनबासाको विद्यालयमा रहेका नेपाली मजदूरले आफूलाई उद्धार गरी सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

‘यस्तो महामारीका बेला सचेतना अपनाउन धेरै राम्रो कुरो हो।’ भट्टले भने, ‘हामी पनि सरकारले जारी गरेको आचारसंहिता पालना गरेर क्वारेन्टाइन बस्नलगायत सबै प्रक्रियामा जान तयार छौँ।’ त्यसैगरी सोही विद्यालयमा आश्रय लिइरहेका कैलालीको गोदावरी नगरपालिका–११ का गणेश विकले अलपत्र नेपालीको उद्धार गर्नु सरकारको दायित्व रहेको बताए। ‘दुई दिन हिडेर भारतको हल्द्धवानीबाट हिडेर यहाँसम्म आइपुगे।’ उनले भने, ‘चार दिन भइसक्यो यहाँबाट उद्धार गर्ने कुनै सुरसार प्रशासनबाट भएको छैन।’ लकडाउनको समयमा धेरै नेपाली गड्डाचौकी बाहेकका दोधारा चादँनी, ब्रह्मदेव क्षेत्रबाट पनि रहेका छन्। अधिकांश क्वारेन्टाइन रित्तै विद्यालयमा आश्रय लिइरहेका नेपालीको स्वास्थ्य परीक्षणमा समेत भारतीय चिकित्सकहरुबाट भइरहेको छ। ‘अहिलेसम्म कुनै पनि नेपालीलाई सङ्क्रमणको लक्षण जस्तो देखिएको छैन।’ उनले भने, ‘विद्यालयको सिमेन्टको फर्समा सुत्दा समस्या भने हुँदैछ।’

भारतलगायत तेस्रो मुलुकबाट आउने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइन राख्ने र सम्भावित लक्षण देखिए आइशोलेसनमा राखेर उपचार गर्ने भनेर यहाँका स्थानीय तहले त्यसको प्रबन्ध मिलाएका छन् तर यहाँका अधिकांश क्वारेन्टाइन भने रित्तै छन्। कञ्चनपुरमा मात्रै चार हजारभन्दा बढी भारतलगायत तेस्रो मुलुकबाट नागरिकहरु आएको भए पनि क्वारेन्टाइन बस्नेको सङ्ख्या न्यून छ। नेपाली सेनाको सहयोगमा कञ्चनपुरको भीमदत्तनगरपालिकाले यहाँको सिएमए छात्रावासमा बनाएको १०० शैय्याको क्वारेन्टाइन रित्तै छ। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बुधबारसम्म जिल्लाभरीमा ८३ जना क्वारेन्टाइनमा राखिएको जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्वारेन्टाइन सञ्चालनका लागि कार्यविधि बनाएर जिल्लामा पठाएको छ। जसमा क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ।

‘क्वारेन्टाइन सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट कार्यविधि बनेर आए पनि हाम्रो विभागीय मन्त्रालयबाट कुनै पत्राचार भएको छैन।’ सहायक प्रजिअ उपाथ्यायले भने, ‘गृहबाट पत्र आउने कुरो छ। त्यो आउनुसाथ यहाँ बनेका क्वारेन्टाइनको अनुगमन र मापदण्ड पुर्‍याएर सञ्चालन गर्ने योजना छ।’ उनले क्वारेन्टाइन मापदण्डअनुसार निर्माण भएर सञ्चालनमा आउनुपर्नेमा जोड दिए। ‘अन्यत्रबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्नुपर्छ भन्ने गलत मानसिकता देखियो।’ उनले भने, ‘सङ्क्रमणको शंकाष्पद र राख्नैपर्ने मानिसलाई राख्न हो।’ उनले लकडाउन गर्ने नेपाली तथा भारतीय गरी ७९ जनालाई नियन्त्रणमा लिएर यहाँको बैजनाथ मावि परिसरमा राखिएको जानकारी दिए ‘नियन्त्रणमा लिएकालाई सशस्त्र प्रहरी बलको जिम्मामा बस्ने र खाने व्यवस्था मिलाइएको छ।’ उनले भने, ‘लकडाउन उल्लङ्घन गर्नेको स्वास्थ्यमा समस्या देखिएको छैन।’ उनले सीमावर्ती वनबासामा राखिएका नेपालीका विषयमा पनि भारतीय पक्षसित प्रशासनको समन्वय भइरहेको जानकारी दिए। ‘उहाँहरुको स्वास्थ्य परीक्षण लगायतको अवस्थाका विषयमा यहाँ जानकारी गराइरहनुभएको छ।’ उपाध्यायले भने, ‘लकडाउनको बेवास्ता गरी हिँड्डुल गर्नेलाई नियन्त्रणमा पर्छन नै।’

कञ्चनपुरको गड्डाचौकीलगायत अन्य नाकाबाट गरी ७० हजार नेपाली स्वदेश फर्किएको अनुमान गरिएको छ। यहाँका स्थानीय तहले पनि आ–आफ्नो नगर र गाउँपालिकामा भारत लगायत तेस्रो मुलुकबाट घर फर्किएकाको तथ्याङ्क सङ्कलन गरेका छन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट