सेनामार्फत् स्वास्थ्य सामग्री ल्याउने सरकारले निर्णय

 अनलाइनखबर पाटी     २० चैत्र २०७६, बिहीबार

सरकारले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न नेपाली सेनालाई जिम्मेवारी दिएको छ।

यसअघि ओम्नी ग्रुपलाई सो जिम्मेवारी दिएकोमा सरकारले सम्झौताबमोजिम सामग्री ल्याउन नसकेको भनी सो कम्पनीसँग सम्झौता रद्द गरेको भोलिपल्ट नेपाली सेनामार्फत् ती सामग्री ल्याउन लागेको हो।

बिहीबार रक्ष मन्त्रालयलाई पठाइएको पत्रमा चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नेपाली सेनामार्फत् सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट सामान ल्याउन भनिएको छ।

‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत् सरकार–सरकार (जीटूजी) बिधिबाट खरिद गर्ने,’ मन्त्रीपरिषदको निर्णय  छ।

यसअघि निजी कम्पनीमार्फत् स्वास्थ्य सामग्री ल्याउँदा ठूलो अनियमितता भएको भनी सार्वजनिक रुपमा निकै आलोचना भएको थियो।

बिभिन्न माध्यममा सरकारले किनेको खरिद मूल्य र बजार मूल्यबीच ठूलो अन्तर भएको तुलनात्मक मूल्य सूचीहरु सार्वजनिक भएपछि सरकार निकै आलोचित भएको थियो।

स्वास्थ्य मन्त्रालयले भने सो कम्पनीले सम्झौताबमोजिम सामान आपूर्ति गर्न नसकेका कारण उसँग सम्झौता रद्द गरी उसको धरौटी वापत् राखिएको पाँच करोड रुपियाँ जफत गर्नुका साथै कम्पनीलाई कालोसूचिमा राख्ने समेत बताइएको थियो।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट