नेपाली कांग्रेसद्वारा कोरोनाको ‘स्व–परीक्षण एप’ सार्वजनिक

 अनलाइनखबर पाटी     २४ चैत्र २०७६, सोमबार

काठमाण्डौ | मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा सोमबार एक वेब एप जारी गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट www.nepalicongress.org/covid19/ मार्फत सो एप सोमबार जारी गरेको पार्टी प्रवक्ता एवं विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।

वेब एपमा घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण जो कसैले गर्न सक्ने शर्माले बताए । कसैमा कोरोना सङ्केत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने तथा नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने उक्त वेब एपको विशेषता रहेको छ ।

नागरिकमा कोरोना जोखिमबारे सचेतना थप अभिवृद्धि गराउने, भौतिकरुपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रुपले ठूलो जनसङ्ख्यालाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने तथा संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्‍याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने एपको उद्देश्य रहेको प्रवक्ता शर्माले बताए ।

उक्त एपको चिकित्सकीय परामर्शका लागि नेपाल मेडिकल एसोसिएशनका पूर्वअध्यक्ष डा अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा वासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएशनका उपाध्यक्ष डा अनिलविक्रम कार्की र फोक्सो रोग विशेषज्ञ डा अशेष ढुङ्गानालाई तोकिएको छ ।

एपको निर्माण सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का पूर्वकेन्द्रीय सदस्य ई शशाङ्कश्री न्यौपाने र सिडेनका पूर्वमहासचिव ई दीपेश विष्टको समूहले गरेको पार्टी कार्यालयले जनाएको छ । थप सुझाव ग्रहण गर्दै वेब एपको भर्सन परिमार्जित गरिँदै जाने प्रवक्ता शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट