सिरहामा राहत वितरणका विषयमा दोहोरो झडप, ८ घाइते, २ रिफर

 अनलाइनखबर पाटी     २५ चैत्र २०७६, मंगलवार

सिरहाको  मिर्चैया नगरपालिकामा राहत वितरणको विषयलाई लिएर दुई पक्षबीच दोहोरो झडप भएको छ ।

मिर्चैया नगरपालिका २ मल्हनियाँस्थित सोमबार बेलुकी नगरपालिकाका मेयर श्रवण कुमार यादव र एक अर्को पक्षबीच झडप भएको हो । झडपमा एक वडाध्यसहित आठ जना घाइते भएका छन् ।

घाइते मध्ये गम्भीर रहेका अर्का पक्षका अमोद यादवसहित २ जनालाई बिराटनगर रिफर गरिएको छ भने सोही पक्षका दुईजनाको मिर्चैयामा उपचार भइरहेको छ । यस्तै, वडा २ का वडाध्यक्ष लक्ष्मेश्वर कापरसहित त्यस पक्षका दुईजना सामान्य उपचारपछि घर फर्किएका छन् ।

मेयर पक्षका पनि जम्मा चारजना घाइते भएकामा दुई जनालाई सामान्य चोट लागेको छ । अर्का पक्षका घाइते अमोदको भने हात, खुटट र ढाँडमा बढी चोट लागेको छ । उनी कांग्रेसका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित वडा २ र ३ का दलित परिवारहरुले केहि दिनअघि अमोदसँग राहत दिलाइदिन अग्रह गरेका थिए । लकडाउनमा छाक टार्नसमेत मुस्किल भएपछि उनीहरुले अमोदलाई गुहारेका थिए ।

नगरपालिकाबाट कुनै चाँसो नदेखिएपछि अमोदले निजी खर्चमा उनीहरुलाई खाद्यान्न उपलब्ध गराउने बाचा गरे । खाद्यान्न सामाग्री किनेर आइतबार अमोदसहित नेकपाका प्रदेश सांसद दिलीप साह, तत्कालिन एमालेबाट मेयरका प्रत्यासी प्रदीप महासेठ लगायतका राहत बाँड्न दलित बस्ती पुगे ।

आफूहरु त्यहाँ पुगेको थाहा पाएपछि मेयर र उनका मान्छेहरु राहत वितरण गर्न नदिएको अमोदले बताए । वितरण गर्न लगिएको खाद्यान्न सामाग्री वितरण गर्न नदिएर फाल्न खोजेपछि त्यहाँ हिजो पनि विवाद भयो ।

आफ्नो वडामा अरुलाई राहत बाँड्न नदिने भन्दै वितरण गर्न नदिएको अमोदले सुनाए । उनीहरु गएपछि मात्रै त्यहाँ राहत बाँडिएको तरुण दलका धनेश्वर यादवले जनाए । आज मेयर यादव र वडाध्यक्षसहितको टोली पनि त्यहाँ राहत वितरण गर्न जाँदा दुबै पक्षबीच विवाद भएको हो

आफूहरु राहत वितरणका लागि वडा कार्यालयमा सामान मिलाइरहेका बेला अमोद पक्षले अनापसनाप बोल्न थालेपछि झडप भएको घाइते वडाध्यक्ष लक्ष्मेश्वर कापरले प्रतिक्रिया दिए ।

घटना सम्बन्धमा बुझ्दा ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवारले सामान्य झडप भएको बताए । यता, घटना सम्बन्धमा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट