नेकपा सचिवालयमा दुई केन्द्रीय सदस्यमाथि कारबाहीको माग

 अनलाइनखबर पाटी     २६ चैत्र २०७६, बुधबार

लामो समयपछि सोमबार साँझ बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीको पट्यारलाग्दो भाषणपछि एक्कासि दुई केन्दीय सदस्यमाथि कारबाहीको कुरा उठेको छ।

सचिवालयका एक सदस्यका अनुसार कोरोना महामारी नियन्त्रणमा सरकारका प्रयास र पार्टीको भूमिकाबारे छलफल गर्न बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले ‘सरकारलाई सहयोग भएन’ भन्ने आसय व्यक्त गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले ‘कसले कहाँ के गरेको छ र’ भन्दै प्रश्न गरेका थिए।

अध्यक्ष दाहालले ‘मूर्त रुपमा भन्नुस्’ भनेपछि प्रधानमन्त्री ओलीको थप भनाइ उधृत गर्दै ती सचिवालय सदस्य भन्छन्, ‘तपाईंकै सल्लाहकारको अनलाइनले मेरो खेदो खनिरहेको छ। केही हुनै पाएको हुन्न, पूरै नकारात्मक वातावरण सिर्जना गर्न खेदो खन्न त्यहीँबाट सुरु हुन्छ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका ओम शर्मा र उनले चलाइरहेको अनलाइनको नाम मात्रै लिएनन्, आफूलाई मन नपरेका केही समाचारका शीर्षक नै पढेर सुनाए।

त्यसपछि ओलीलाई जवाफ दिँदै दाहालले भने, ‘तपाईंकै सल्लाहकारले लगातार मेराविरुद्ध बालुवाटारमै बसेर लेखिरहेका छन्, लेखाइरहेका छन्। यतिसम्म कि चितवनमा कोरोना रोगको परीक्षणका लागि प्रयोगशाला राख्दा पनि फेसबुकमा लेखेर विरोध गरे।’

अध्यक्ष दाहाल त्यतिमै रोकिन लागेका थिए, उपाध्यक्ष वामदेव गौतमले थपे, ‘जति गरे पनि उनीमाथि कारबाही हुँदैन। मलाई चुनावमा हराउन त्यत्रो भूमिका खेलेको प्रमाणसहित मैले कति पटक बैठकमा कुरा उठाइसकें, झन् तपाईंले पुरस्कृत गर्नुभएको छ।’

उपाध्यक्ष गौतमले यसअघिका बैठकमा पनि केन्द्रीय सदस्य सूर्य थापाले आफूलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन्।

पूर्वमाओवादीका शर्मा र पूर्वएमालेका थापा दुबै नेकपाका केन्द्रीय सदस्य हुन्।

दुई केन्द्रीय सदस्यको भूमिकामाथि प्रश्न उठाउँदै छलफल भएपछि अघिल्लो साता एक अनलाइनको समाचार सामग्री अनधिकृत रुपमा हटाउन पनि प्रधानमन्त्रीका सल्लाहकारकै हात रहेको आरोप नेताहरुले लगाएका थिए।

‘दुबै अध्यक्षले एक अर्कासँग जोडेर दुई केन्द्रीय सदस्यमाथि कारबाहीको कुरा उठाएपछि लौ न त छानबिन गरौँ भन्ने भएको छ’, सचिवालयका सदस्य भन्छन्, ‘तर कसरी र कसले छानबिन गर्ने भन्नेबारेमा ठोस कुरा भएन।’

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट