नेपालमा कोरोना परीक्षण तीव्र, नमुना संकलनका लागि बिहानै सुदूरपश्चिम उड्यो हेलिकोप्टर

 अनलाइनखबर पाटी     २९ चैत्र २०७६, शनिबार

संजय कोइराला – चैत्र २९, काठमाडौं |  कोरोना भाइरस (कोभिड-१९) संक्रमण पहिचान गर्न सरकारले नमुना (नाक/मुखको र्‍याल) संकलन तथा परीक्षणलाई तीव्र बनाएको छ।

सबैभन्दा बढी ४ जना संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेशका जिल्लामा सरकारले कोरोना परीक्षण अभियानलाई केन्द्रित गरेको छ।

यसै क्रममा दार्चुला, बझाङलगायत तीन जिल्लामा नमुना संकलनका लागि आज (शनिबार) बिहानै धनगढीबाट हेलिकोप्टर गइसकेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।

‘अहिले हामीले नमुना संकलन र परीक्षणलाई तीव्रता दिएका छौं,’ शनिबार बिहान निर्देशक पाण्डले नेपालखबरसँग भने, ‘नमुना संकलनका लागि धनगढीबाट बिहानै ६ बजे हेलिकोप्टर दार्चुला, बझाङलगायत तीन जिल्लाका लागि उडिसेकेको छ।’

आज नमुना संकलनका लागि विशेषगरी दार्चुला जिल्लालाई केन्द्रित गरिएको निर्देशक पाण्डेले जानकारी दिए। ‘नमुना लिएर हेलिकोप्टर काठमाडौं आउनेछ,’ उनले भने।

सरकारले अहिले देशका सातै प्रदेशमा कोरोना परीक्षणको व्यवस्था मिलाएको छ भने काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलेदेखि नै यसको परीक्षण भइरहेको छ।

तर विशेष तथा धेरैवटा नमुना परीक्षण गर्नुपरेमा भने अहिले पनि टेकुमै गर्ने गरिएको निर्देशक पाण्डेले बताए।

नेपालमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको कोरोनासम्बन्धी परीक्षण भइसकेको छ। तीमध्ये अहिलेसम्म ९ जनामा मात्रै कोरोना संक्रमित देखिएका छन्। त्यसमा पनि एक जना त पहिले नै निको भइसकेका छन्।

अहिले ८ जनाको उपचार देशका विभिन्न अस्पतालमा जारी छन्। उनीहरूको अवस्था पनि सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट