मध्यराति जंगलमा घेरेर किशोरीको सामूहिक बलात्कार, चार युवक पक्राउ

 अनलाइनखबर पाटी     २ बैशाख २०७७, मंगलवार

कैलाली | कैलालीको गौरीगंगा नगरपालिका-१, खुरखुरियामा १७ वर्षीया किशोरीलाई चार युवक मिलेर बलात्कार गरेका छन्।

धनगढी उपमहानगरपालिकाकी ती किशोरीले दिएको माैखिक उजुरीका आधारमा प्रहरीले मंगलबार चार जनालाई पक्राउ गरेको छ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार गौरीगंगा नगरपालिकाकै वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन साउद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्टलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार घटना सोमबार राति साढे १२ बजेतिरको हो। ती किशोरी आफन्तकोमा पुगेर तीन आफन्तसहित मोटरसाइकलमा आफ्नो घर फर्किंदै थिइन्।

त्यस क्रममा दुई मोटरसाइकलमा आएका चार युवकले ओभरटेक गरेर बाटो छेके र धारिलाे हतियार देखाए।

‘त्यसपछि किशोरीलाई छाडेर अन्य तीन आफन्त भागे,’ डीएसपी बस्नेतले घटना विवरण बताउँदै नेपालखबरसँग भने, ‘ती किशोरी मात्रै छुटेपछि ती चार युवकले सामूहिक बलात्कार गरे।’

उनका अनुसार पीडित युवतीले प्रहरीसमक्ष यस्तै माैखिक उजुरी गरेकी छन् भने लिखित उजुरी आउन बाँकी छ।

किशोरी बलात्कार परेको ठाउँ अलि एकान्त र जंगल छ। उनको साथमा उनकै आफन्त दुई महिला र एक पुरुष थिए। तर हतियार देखाउनेबित्तिकै उनीहरू मोटरसाइकलमा भागेको तर यी किशोरी मात्र छुट्दा बलात्कारमा परेको घटनाले देखाएको डीएसपी बस्नेतले बताए।

‘हामीले ती चार युवकलाई मंगलबार बिहान ६/७ बजेतिर पक्राउ गरेका हौं,’ उनले भने, ‘अहिले उनीहरू जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

ती पीडित किशाेरीकाे सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएकाे र रिपाेर्ट आउन  बाँकी रहेकाे उनले जानकारी दिए। किशाेरीकाे अवस्था सामान्य छ।

ती आरोपितले प्रयोग गरेको एउटा मोटरसाइलक पनि प्रहरीले बरामद गरेको छ। उनीहरूबाट से २ प ११२३ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको हो।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट