देशभर बिहानैदेखि चर्काे घाम, गर्मी बढ्ने सम्भावना

 अनलाइनखबर पाटी     १२ जेष्ठ २०७७, सोमबार

आज (सोमबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर घाम लागेकाले गर्मी बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभरजसो घाम लागेको छ।

‘हिजो (आइतबार) यस वर्षकै उच्च तापक्रम देखिएको थियो,’ मौसमविद् पौडेलले सोमबार बिहान नेपालखबरसँग भने, ‘आज पनि मौसम गर्मी नै हुने देखिएको छ।’

उनका अनुसार हिजो धनगढीमा यस वर्षकै उच्च तापक्रम ४०.१ डिग्री सेल्सियस पुगेको थियो। यस्तै दिपायलमा अधिकतम तापक्रम ४० डिग्री तथा काठमाडौं उपत्यकामा समेत आइतबार यस वर्षकै उच्च अधिकतम तापक्रम ३१.८ डिग्री पुगेको थियो।

दिनभर घामले जमिन तातेपछि बेलुकीपख भने काठमाडौं उपत्यकासहित पहाडी भेगमा मौसम बदली भई हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए।

‘आज अपराह्नपछि वा बेलुकातिर खासगरी पोखरा, बागलुङ आसपास साथै पूर्वका केही स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने देखिएको छ,’ मौसमविद् पौडेलले भने, ‘काठमाडौं उपत्यकामा पनि बेलुकीपख बदली भई क्षणिक वर्षा हुने सम्भावना छ।’

उल्लिखित स्थानबाहेक देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने देखिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट