दोलखाका आठ पसल कारवाहीमा-५० हजार माथि जरिवाना हुने

 अनलाइनखबर पाटी     २९ जेष्ठ २०७७, बिहीबार

कोपिला कार्की  – जेष्ठ २९ दोलखा | दोलखाको सदरमुकाम चरिकोटमा उपभोक्ता संरक्षण ऐन विपरित कार्य गर्ने ८ वटा पसल तथा उद्योग जरिवानामा परेका छन् । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् बजार अनुगमन समितिका संयोजक सुदर्शन श्रेष्ठको नेतृत्वमा आज गरेको अनुगमनका क्रममा दोलखा दुग्ध उद्योग, २ वटा बेकरी सहित ५ वटा खाद्यान्न पसल कारवाहिमा परेका हुन् ।

दोलखा दुग्ध उद्योग लिमिटेडले दैनिक बजारमा विक्री वितरण गर्ने दुधको मुल्य तथा उत्पादन मिति नतोकि विक्री वितरण गरेको थियो । त्यसैगरि दुई वटा बेकरी मध्ये चरिघ्याङ स्थित एउटा बेकरीमा ४५ दिन अघि नै म्याद सकेको ५८ बोरा मैदा जफत गरेको छ । अर्को बेकरीले दुनोट लगाएतको मुल्य, उत्पादन मिति नतोकी बजारमा विक्री गरेको पाइएको छ ।

कारवाहिमा परेका अन्य ५ वटा खाद्यान्न पसलमा मुल्यसुची नराखेको, दर्ता प्रमाण पत्र नराखेको, सामान विक्री गर्दा बिल प्रयोग नगरेको पाइएको छ । विशेषगरि फलफुल सहितका अन्य दैनिक उपभोग्य खाद्यवस्तुमा दोब्बर, तेब्बर सम्म मुल्यवृद्धि गरेर विक्री गरेको अनुगमन समितिले पाएको थियो ।

कारवाहिमा परेका व्यवसायीलाई कम्तिमा १० हजार देखी ५० हजार भन्दा माथि सम्म जरिवाना गरिनेछ । कारवाहिमा परेकाहरुलाई कारण सहित ३ दिन भित्र सम्बन्धित निकायमा आउन भनिएको छ । उनिहरुलाई ऐन बमोजिम जरिवाना गरिने अनुगमन समितिका सदस्य सचिव एवम् घरेलु तथा साना उद्योग कार्यालय दोलखाका प्रमुख सुजित कुमार झाले जानकारी दिनुभयो ।

यस अघिका बजार अनुगमनमा सम्झाई बुझाई गरिदै आएको थियो । त्यसैगरि जिल्ला प्रशासन कार्यालय दोलखा, घरेलु तथा साना उद्योग कार्यालयले सार्वजनिक सुचना जारी गर्दै कोरोना भाइरसको फाइदा लिइ मुल्यवृद्धि नगर्न अनुरोध गरेको थियो । कालोबजारी नरोके पछि आजबाट अनुगमन समिति कडा रुपमा प्रस्तुत भएको हो ।

कोरोना भाइरसको संक्रमणले उत्पन्न भएको असहज परिस्थितिको अनुचित फाइदा लिने कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गरिएको छ । व्यापारिले कालोबजारी गरेमा प्रमाण सहित जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत सम्पुर्ण उपभोक्तालाई अनुरोध गरिएको छ ।

बजार अनुगमनमा संयोजक सुर्दशन श्रेष्ठ सहित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख सुजित कुमार झा, दोलखाका प्रहरी निरीक्षक रेशम बोहरा, उपभोक्ता संरक्षण मञ्च दोलखाका अध्यक्ष शम्भु गौतम लगाएत सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट