दोलखाको दुग्ध डेरीमा अनुगमन समितिको छापा – बन्द गर्न निर्देशन

 अनलाइनखबर पाटी     २९ जेष्ठ २०७७, बिहीबार

नबराज चौलागाईं – जेठ २९ दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको  दुग्ध विकास संस्थानद्वारा सञ्चालित दोलखा डेरीमा जिल्ला अनुगमन समिति दोलखाले बिहिबार छापा मारेको छ । अनुगमन समितिले छापा मार्ने क्रममा एकमहिनादेखि उत्पादन मिति र मूल्य उल्लेख नगरीकन नै दुग्धजन्य उत्पादन बिक्री गरेको पाईए पछि भीमेश्वर नगरपालिका–२, चोथाङस्थित उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

सदरमुकाम चरिकोटमा बिहिबार दुईओटा उद्योग र पाँचओटा पसल गरी ७ ओटामा अनुगमन तथा छापा मार्दा दोलखा डेरीले उत्पादन मिति, मूल्य र कम परिमाणको प्याकेट भेटिए पछि उद्योग बन्द गरिएको घरेलु तथा साना उद्योग कार्यालय दोलखाका प्रमुख सुजितकुमार झाले जानकारी दिए ।

प्रादेशिक व्यापार तथा व्यवसाय सम्वन्धी ऐन २०७६ अनुसार पुर्जी काटेर उद्योग बन्द गरी कागजात सहित उपस्थित हुन निर्देशन दिईएको प्रमुख झाले जानकारी दिए ।

दोलखा डेरीले एकमहिनादेखि उत्पादन र म्याद नाघ्ने मिति नराखेको, मूल्य उल्लेख नगरेको र आधा लिटर उल्लेख दुध दहिमा १० देखि २५ मिलिलिटर कम परिमाण भेटिएको अनुगमन समितिले जनाएको छ ।

दोलखा डेरीलाई प्रादेशिक व्यापार तथा व्यवसाय सम्वन्धी ऐन २०७६ को दफा ६१ को जरीवाना सम्वन्ध िव्यवस्थाको उपदफा ३ अनुसार ५० हजारदेखि ७५ हजारसम्म जरीवाना गरिने कार्यालय प्रमुख झाले जानकारी दिए । दोलखा डेरीका लेखा प्रमुख प्रदीप शिवाकोटीले मेशिन विग्रिएकोले विवरणहरु उल्लेख नगरी विक्री गरेको बताए ।

अनुगमन समितिले भीमेश्वर नगरपालिका–३, चरिघ्याङस्थित माँ पलाञ्चोक बेकरी उद्योगमा समेत छापा मारेको थियो । छापाको क्रममा सो बेकरी उद्योगबाट ३ महिनादेखि म्याद नाघेको मैदाको पिठोबाट पाउरोटी लगायतका खाद्य सामाग्री बनाएको पाईए पछि गोदाममा रहेको ५८ बोरा मैदाको पीठो जफत गरी सिल गरिएको प्रमुख झाले जानकारी दिए ।

चरिकोटका फलफुल पसलमा अनुगमन गर्दा प्रतिकेस ७ सय रुपैयाँमा किनेर १४ सय रुपैयाँमा विक्री गरेका भेटिए पछि स्पष्टिकरण सहित जरीवानाको लागि कार्यालयमा हाजिर हुन निर्देशन दिईएको झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट