ओली समूहलाई देउवाको जवाफ – सेकेन्ड भएर सरकारमा जान्नौं –

 अनलाइनखबर पाटी     २१ असार २०७७, आईतवार

असार २१, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा रहेपछि प्रधानमन्त्री तथा नेकपाका एकजना अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँगको आन्तरिक छलफललाई तिव्रता दिएका छन् । प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गतसाता भएको गोप्य छलफल भएको थियो भने आइतबार बिहान पनि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका थिए ।

ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आफू इतर समूहले चाल्न सक्ने सम्भावित कदमको पूर्वानुमान गरेर सभापति देउवासँगको छलफललाई तिव्रता दिएको कांग्रेस स्रोतले जानकारी दियो । पार्टी अध्यक्षसमेत रहेका ओलीले कथमकदाचित पार्टी फुटे कांग्रेससँग सहकार्य गरेर आफूलाई प्रधानमन्त्रीमा कायम राख्न सभापति देउवासँग हिमचिम बढाएको स्रोत बताउँछ ।

प्रधानमन्त्री ओलीले गत बुधबार कांग्रेस सभापति देउवालाई वालुवाटारमा बोलाएर नेकपामा चुलिएको विवाद र आगामी दिनमा हुन सक्ने सत्ता साझेदारीका विषयमा छलफल गरेको बताइएको छ ।  यद्यपि, कांग्रेसले बालुवाटारमा भएको भेटका बारेमा औपचारिक रुपमा केही प्रतिक्रिया जनाएको छैन ।

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा पनि सभापतिले प्रधानमन्त्रीसँग भेट गरेको विषयमा प्रश्न उठेको छ ।

सभापति देउवानिकट नेताहरु प्रधानमन्त्री ओलीसँग बुधबार भएको भेटमा सत्ता साझेदारीका विषयमा कुनै छलफल नभएको दाबी भने गरिरहेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले आइतबार नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङलाई ‘दूत’ का रुपमा देउवा निवास बूढानीलकण्ठ पठाएर सहयोगको याचना गरेका छन् ।

बूढानीलकण्ठ स्रोतले नेकपा संसदीय दलका उपनेता नेम्वाङ र सभापति देउवाबीच भेटवार्ता भएको पुष्टि गरेको छ ।

भेटमा नेम्वाङले प्रधानमन्त्री ओलीको सन्देश कांग्रेस सभापति देउवालाई सुनाएको बूढानिलकण्ठ स्रोतले बताएको छ । “नेकपाका नेता नेम्वाङ र सभापतिबीच भेटवार्ता भएको हो । छलफलका क्रममा उहाँले आफ्नो पार्टीमा देखिएको पछिल्लो समस्यालगायतका बारेमा कुराहरु गर्नुभयो,” बूढानीलकण्ठ स्रोतले भन्यो ।
स्रोतका अनुसार नेता नेम्वाङले सभापति देउवासँग सत्ता साझेदारीका विषयमा खुलेर कुरा नगरे पनि आशय भने प्रकट गरेका थिए ।

“उहाँले सोझै भावी सरकारका बारेमा त कुरा गर्नुभएन । तर, आफूहरु कांग्रेससँग मिलेर अगाडि बढ्न सधैँ तयार रहेको कुराहरु राख्नुभयो,” स्रोतले भन्यो, “जिम्मेवार प्रतिपक्षका नाताले जिम्मेवार भूमिका कांग्रेसले खेलोस् भन्ने नेम्वाङको आशय थियो । त्यो आशय सत्ता साझेदारीका लागि कांग्रेससँगको आग्रह नै हो ।”
तर, कांग्रेस सभापति देउवा भने प्रधानमन्त्री ओलीलाई सघाउनकै लागि सरकारमा जान नहुने मनस्थितिमा देखिएको स्रोतले जानकारी दियो ।

यद्यपि, सत्ताको नेतृत्व पाए कांग्रेस सरकारमा जान सक्ने बूढानीलकण्ठ स्रोतको दाबी छ ।

“ओलीलाई सघाउनकै लागि सेकेन्ड भएर कांग्रेस सरकारमा जानु हुन्न भन्नेमा सभापति पनि हुनुहुन्छ,” के कांग्रेस सरकारमा जान तयार छ ? भन्ने बाह्रखरीको प्रश्नमा स्रोतले भन्यो, “नेतृत्व कांग्रेसले गर्न पायो भने जान सक्छ, जानु पनि पर्छ ।”

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेकपा अहिले नै सरकारमा जानेबारेको निर्णय गर्न नहुने बताएका छन् ।

“पहिला उनीहरुको विवादको हल कुन तरिकाबाट हुने हो होस् त्यसपछि मात्रै हामी हामी निर्णय गर्छौं,” प्रमुख सचेतक खाँणको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट