मेरो १० बर्षको अनुभवमा बालमैत्री स्थानीय शासन र बाल क्लब बालबालिकाको लागी खुल्ला विश्व बिद्यालय हो

 अनलाइनखबर पाटी     २८ भाद्र २०७७, आईतवार

राजन बस्नेत – भदौ २८  दोलखा । बिपतमा बाल अधिकार सुनिश्चितता : हामी सबैको साझा प्रतिबद्धता ” भन्ने मुल नाराका साथ देशभर राष्ट्रिय बाल दिवस मनाइदै गर्दा बालबालिका अधिकार र कर्तव्य के हो भन्ने कुरा बुझ्नु जरुरी हुन्छ ।
बालमैत्री स्थानीय शासन भनेको के हो ?
बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ,बाल संरक्षण,बाल बिकास, र अर्थपुर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानिय निकायको नीति,संरचना,प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति भने बुझिन्छ।
बालमैत्री शासनको परिभाषा :
गाउँ/नगरपालिकालाई बालमैत्री बनाउनु भनेको अतिरिक्त काम हो भन्ने गलत धारणा अहिले पनि रहेको पाइन्छ । बालमैत्री गैर विभेदीकरण, बालबालिकाको सर्वोत्तम हित, सर्वांगिण विकास र बालसहभागिताको सिद्धान्तमा आधारित भै बाल अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गर्न राज्यको तर्फबाट गरिने समष्टिगत पद्धति र प्रयास नै बालमैत्री शासन हो ।
बालमैत्री शासन बाल बचाऊ, बाल संरक्षण, बाल विकास र सार्थक बाल सहभागिता जस्ता बालअधिकारका सवालहरुलाई स्थानीयस्तरको नीति, योजना, संरचना, प्रणाली र कार्यप्रक्रियामा स्थानीयस्तरमा संस्थागत गर्ने पद्धति नै बाल मैत्री शासन हो ।
बालमैत्री शासनको उद्देश्य :
बालबालिका आजको सझेदार भोलिका कर्णधार र पर्सी का साझेदार हुन । हामीले आज बालबालिकालाई अनुकूल वातावरण दिन सकेमा मात्र उनीहरु भोलिका बलिया आधार स्तम्भ बन्न सक्छन् । त्यसैले हाम्रो घर, समुदाय, विद्यालय तथा विकास निर्माणका सबै संरचनाहरु बालबालिकाको लागि सुहाउँदो हुनुपर्छ ।
हाम्रा नीतिगत निर्णयहरु बालबालिकाको सर्वाेत्तम हितमा हुनुपर्छ, हाम्रा बोली तथा ब्यवहारहरु बालबालिकाको प्रिय हुनुपर्छ र हाम्रा भौतिक निर्माणहरु बालबालिकाको पहुंचमा हुनुपर्छ ।
त्यसैले बालमैत्री शासन भनेको हामीले गर्ने विकासका सबै प्रयासहरुलाई बालबालिकाको आँखाले हेर्ने र सोही अनुसार निर्देशित हुने अभ्यास नै हो । यो समग्र शासकीय प्रक्रियामा बालबालिकाका सवालहरुलाई आवद्ध गर्ने प्रयास हो ।
बालमैत्री शासनका रणनीतिहरु :
कतिपय स्थानीय तहहरुले बालमैत्री स्थानीय शासनलाई सूचक पूरा गर्ने र घोषणा गर्ने विषयमा मात्र बुझेको देखिन्छ । अहिले बालमैत्री स्थानीय शासनले धेरैजसो घोषणाको हल्ला गर्ने र त्यसपछि फेरि पुरानै अवस्थामा फर्कने परिस्थती भोगिरहेको देखिन्छ ।
यो कुनै आयोजना/परियोजना/कार्यक्रम होइन । बालमैत्री शासन त संस्कार हो, संस्कृति हो । यसका निश्चित कार्यविधिहरु छन् । सूचकहरु पूरा भएको सुनिश्चित गर्ने मापदण्डहरु छन् । बालमैत्री घोषणा यसका विभिन्न चरणहरुमध्ये एउटा चरण हो । घोषणा बालमैत्री शासनको एउटा दरिलो प्रतिवद्धता हो र बालमैत्री शासन अवलम्वनको सुनिश्चतताको बलियो आधार मात्र हो । नेपालमा घोषणा पछि फेरि त्यो अभियान सुस्ताएको र पछि फर्केको अवस्था विद्यमान छ । त्यसैले बालमैत्री स्थानीय शासनलाई विकास प्रक्रियामा मूलप्रवाहीकरण गर्न जरुरी छ । बालमैत्री स्थानीय शासनका विषयमा नीतिगत वकालत गर्न र सबै सरोकारवालाहरुमा सचेतना बढाउन पनि उत्तिकै आवश्यक छ

बालमैत्री स्थानीय शासनको लागि स्थानीय तहको संस्थागत विकास, क्षमता विकास, सहकार्य र साझेदारी प्रवद्र्धन, सामुदायिक परिचालन, सामाजिक जवाफदेही र पारदर्शिता, सामाजिक समावेशीकरण, सूचना, शिक्षा र संचारको माध्यमबाट व्यवहार परिवर्तन तथा अनुगमन र मूल्यांकन जस्ता क्षेत्रहरु बालमैत्री स्थानीय शासनका रणनीतिहरु हुन् ।
बालमैत्री स्थानीय अवलम्वन गर्ने सबै स्थानीय तहहरुले यिनै रणनीतिहरु अपनाउन आवश्यक छ । बालमैत्री स्थानीय शासन अवलम्वन गर्ने स्थानीय तहहरुले यसलाई एउटा प्रक्रियाको रुपमा लिनुपर्छ ।
त्यसैले बालमैत्री स्थानीय शासनलाई अबलम्वन गर्ने स्थानीयतहरुले बालबालिका सम्बन्धी स्थानीय विकास योजना बनाउन जरुरी छ ।
पहिले यसलाई अवलम्वन गर्ने संस्थागत निर्णय हुनुपर्यो । कूल पूंजिगत बजेटको १५ प्रतिशत (शिक्षा, स्वास्थ्य, बाल उद्यान, बाल पुस्तकालय, क्षमता विकास आदि) बजेट बालबालिकाको क्षेत्रमा विनियोजित भएको छ भन्ने सुनिश्चित गर्न पर्यो । बालबालिका सम्बन्धी तथ्यांक संकलन गरी कमजोर सूचकहरुलाई प्राथमिकता दिई बालबालिका सम्बन्धी स्थानीय लगानी योजना बनाउनुपर्ने हुन्छ । स्थानीय तहले बालमैत्री आचारसंहिता लागु गर्दै आफ्ना नीति, ऐन तथा नियमावली तथा कार्यवधिहरुमा बालमैत्री स्थानीय शासनका आँखाबाट त्यसको संशोधन नभएमा निर्माण गर्नुपर्दछ । हरेक वर्ष नीति तथा कार्यक्रम आउनु अघि स्थितिपत्र जारी गर्नुपर्ने र बालबालिकाको विषयलाई समेत उच्च प्राथमिकता दिनु अहिलेको आवश्यकता हो ।
बालमैत्री स्थानीय शासनका सूचकहरु :
बालमैत्री स्थानीय शासनका २७ वटा सेवा प्रवाह सम्बन्धी र १२ वटा संस्थागत सूचकहरु छन् । यी सूचकहरु कुनै नयाँ सूचकहरु नभएर हामीले गरिरहेका बाल बचाउ, बाल संरक्षण, बाल विकास तथा बालबालिकाको सहभागिता सम्बद्ध छन् । यी सूचकहरुमा स्थानीय तहले यस अघि नै धेरै काम गरिरहेका छन् । तर कुन सूचकको अवस्था के छ भन्ने विषयमा भने तथ्यांकगत रुपमा जानकारी छैन ।
यसका लागि बालबालिकाको अवस्था सम्बन्धी सर्वेक्षण गर्नु पर्ने हुन्छ । तर कतिपय सूचकहरु पुरा भईसकेका पनि हुन सक्छन् । जुन सूचकहरु कमजोर छन् त्यसलाई आधार बनाएर लगानी योजना बनाउने काम नै स्थानीय तहको थप दायित्व हो ।
बालमैत्री नगर/गाउँ बनाउनु भनेको सबै बालबालिकाको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो । सुरक्षित, जन्म, खोप तथा स्याहार पाउने उनीहरुको अधिकार सुनिश्चित गर्नु नै बाँच्न पाउने अधिकार सुनिश्चित हुनु हो । हाम्रा बालबालिकाहरु हेला, अपमान, दुर्ब्यबहार , श्रमशोषण, बालबिवाह, बेचविखन, लागु औषध, बालसैन्य आदि क्षेत्रबाट मुक्त बनाउने अभियान बालमैत्री अभियान हो ।
सबै बालबालिकाले शिक्षा प्राप्त गरून्, मनोरञ्जन, खेलकूद तथा आफ्नो व्यक्तित्व विकास गर्ने अवसरहरु प्राप्त गरून् । घरपरघरपरिवारदेखि राज्यस्तर सम्म बन्ने भौतिक संरचनाहरु बालबालिकाले प्रयोग गर्न सक्ने खालका बनुन् । बालबालिकाको कुरा सुनियोस् । उनीहरुलाई आफ्ना विचार व्यक्त गर्ने अवसर दिइयोस् । उनीहरुको आफ्नो समूहमा संगठित भएर सिर्जनात्मक काम सिक् काम सिक्ने मौका पाउन् । बालबालिकालाई सजाय होइन, माया दिऊ । आफ्नो गच्छेले सकेको अवसर दिऊ । यही हो बालमैत्री शासन । बालबालिकाको लागि सुहाउँदो वातावरण निर्माण गर्न हामी सबै सरोकारवाला क्रियाशील बनौं ।
नेपालको संविधान २०७२ मा बालबालिकाको हक धारा ११ को उपधारा ४ बमोजिम नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ ।
धारा ३९ बालबालिकाको हक १) प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ताको हक हुनेछ । २) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन, पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तीत्व विकासको हक हुनेछ। ३) प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ । ४) कुनै पनि बालबालिकालाई कलकारखाना, खानी व यस्तै अन्य जोखिमपुर्ण काममा लगाउन पाईने छैन । ५) कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाईने छैन । ६) कुनैपनी बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनी माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारले शोषण गर्न वा अनुचित प्रयोग गर्न पाईने छैन । ७) कुनै पनी बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाईने छैन । ८) प्रत्येक बालबालिकालाई बाल अनुकुल न्यायको हक हुनेछ । ९) असाहाय, अनाथ, अपाङ्गता भएका, द्धन्दपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ । १०) उपधारा (४), (५), (६) र (७) विपरीतका कार्य कानुनबमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ती पाउने हक हुनेछ ।
धारा ५१ राज्यका नितिहरू : झ को उपधारा ३ मा भएको व्यवस्था बालश्रम लगायत श्रम शोषणका सबै रूपको अन्त्य गर्ने ।
राज्यका नितिहरू : ञ को उपधारा ५ मा भएको व्यवस्था बालबालिकाको सर्वोत्तम हितलाई प्राथामिक रूपमा ध्यान दिने ब्यबस्था गरेको देखिन्छ ।
माथीका कुराहरू लाई आत्मसात गर्दै दोलखा जिल्ला को भीमेश्वर नगरपालिका पनि गत बर्ष को भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अबसरमा बाल मैत्री नगरपालिका को रूपमा बागमती प्रदेश कै पहिलो बाल मैत्री स्थानीय शासन घोषणा भइसकेको छ । हाम्रो अग्रिम सुभकामना छ । भीमेश्वर मात्र होइन नेपाल नै बाल मैत्री बन्नु पर्छ तब मात्र नेपाल सरकार ले लिएको सुखी नेपाली समृद्ध नेपाल को नारा ले सार्थकता पाउछ ।
लेखक बस्नेत लामो समय बालबालिकाको क्षेत्रमा कृयाशील बालअधिकार कर्मी हुन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट