ओली गुटको आक्रमणमा परि ओली इतरका नेकपा पर्साका कार्यकर्ता चौरसियाको मृत्यु

 अनलाइनखबर पाटी     ७ कार्तिक २०७७, शुक्रबार

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा निकट र इतर पक्षबीच झडप हुँदा एकको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको न्यूरो अस्पताल बिरगञ्जमा मृत्यु भएको हो । अर्का गम्भीर घाइते उत्तम तिवारीको उपचार भइरहेको छ ।

नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा निकट तथा इतर पक्षबीच पक्षबीच झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएका थिए । कार्यक्रमस्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद हुँदा उग्ररुप लिएको थियो । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले परसौनीभाठा बस्ने मुकेश चौरिसयाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । २ जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको छ ।

आक्रमणपछि ओली निकट नेता कार्यकर्ताहरु पूर्व सांसद तथा नेकपा जिल्ला सदस्य राजकुमार गुप्ताको निवासमा बसेका थिए । गुप्ता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली निकट मानिन्छन् । उनको निवासमा आक्रमणपछि ओली निकटहरु रणनीतिक छलफलमा जुटेका थिए । यसअघी राजपाबाट मेयरका प्रत्यासी रहेका लक्ष्मण चौरसिया हालै नेकपा प्रवेश गरेका थिए । उनलाई गुप्ताले नै नेकपामा प्रवेश गराउन भूमिका खेलेका थिए । नेकपामा नवप्रवेशी चौरसियाकै नेतृत्वको टोलीले आक्रमणमा गरि मुकेस चौरसियासहित केहि गम्भिर घाइते भएका थिए ।

घटनाको जानकारी गृहमन्त्री राम बहादुर थापालाई पनि बिरगञ्जबाट ओली इतरका नेताहरुले गराएका थिए । थापाले सो जानकारी पाए लगत्तै उनले स्थानिय प्रहरीलाई आदेश दिएका थिए । त्यसलगत्तै डीएसपी मनोजित कुँवरको नेतृत्वमा गएको टोलीले गुप्ताकै घरबाट गुप्ता सहित ९ जनालाई पक्राउ गरेको थियो। तर पछि प्रधानमन्त्रीको सचिवालयबाट फोन गएपछि पक्राउ परेका ९ जनामध्ये ३ जनालाई मात्र राखि अरुलाई छोडिएको थियो। अहिले उनीहरु पनि फरार भएका छन्।

न्युरो अस्पताल बीरगञ्जमा गम्भिर अवस्थामा चौरसियाको बिहिवार उपचार भएपनि उनको व्रेन डेथ भएको बताइएको थियो। पक्राउ परेकाहरुलाई प्रहरीले नछोडेसम्म उनको मृत्यु घोषणा नगरिएको पिडित पक्षले बताएको छ । तर छोडिएकाहरु फरार समेत भइसकेपछि चौरसियाको मृत्युको घोषणा गरिएको भन्दै उनी निकटहरु आक्रोशित भएका छन् । मृतक चौरसिया ओली ईतर गुटका हुन्।

चौरसियाको निधनपछि नेकपाका नेताहरु सुरेन्द्र पाण्डे र मातृका यादव मृतकको घरमा पुगेका थिए । त्यहाँबाट उनीहरुले पिडित पक्षका केहि व्यक्तिहरु सहित जाहेरी दर्ता गर्न गएपनि प्रहरीले जाहेरी दर्ता नलिएको नेकपाकै स्थानिय नेताहरुले बताएका छन्। प्रहरीले केपी ओली निकटका केहि व्यक्तिहरुको नाम हटाएर ल्याए मात्र जाहेरी दर्ता गर्ने बताएर जाहेरी दर्ता गर्न अस्विकार गरेको थियो।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कार्यलय पर्साले जिल्ला कमिटी सदस्य तथा विन्दावासिनी गाउँपालिका कमिटिका सचिव चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेको छ । शुक्रबार जिल्ला कमिटी पर्साले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, मुकेस चौरासियालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट